
२४ कात्तिक, काठमाडौं । युनिलिभर नेपालको नाफा ६२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अपरिस्कृत पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ३ महिनामा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत वर्षको यसै अवधिमा कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको नाफामा मुख्यतः कुल खर्च घट्नुले योगदान पुगेको छ । कच्चा पदार्थ उपयोगिता लागत, वित्तीय लागत, मूल्यह्रास खर्च घट्दा कम्पनीको कुल खर्च नै घट्न गएको छ । गत आर्थिक वर्षको वर्षको पहिलो तीन महिनामा कम्पनीको कुल खर्च १ अर्ब ८६ करोड रुपैयाँ रहेकोमा यो वर्षको सो अवधिमा १ अर्ब ६७ करोडमा खुम्चिएको छ ।
कुल खर्च घट्नुका अलवा बिक्री आम्दानी समेत बढ्दा नाफामा थप योगदान पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा उत्पादन बिक्रीबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेकोमा यो वर्षको सो अवधिमा २ अर्ब ३२ करोड आम्दानी गरेको छ ।
कम्पनीको खुद नाफा बढ्दा प्रतिसेयर आम्दानी बढेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ हजार २२२ रुपैयाँ छ । गत वर्षको यो अवधिमा यस्तो आम्दानी १ हजार ७२४ रुपैयाँ थियो ।
नेपालको सेयर बजारमा युनिलिभर सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता ३७ हजार ९४४ रुपैयाँ छ । युनिलिभरले नेपालमा साबुन, स्याम्पु तथा श्रृङ्गारका सामग्री उत्पादन तथा बिक्री वितरण गर्दछ ।
प्रतिक्रिया 4