
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
भूकम्प प्रभावितलाई सहयोग गर्ने घोषणा अनुसार उक्त रकम कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ ।
१७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति पुगेको थियो ।
भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सहज होस् भन्ने उदेश्यले एनसेलले भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा रहेका ग्राहकलाई ४० लाख रुपैयाँ ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको थियो ।
एनसेलले बिहीवार आफ्नो प्रतिबद्धता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो ।
चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री कृष्णबहादुर बीसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए ।
यस सहयोगसँगै भूकम्प पीडितको सहयोगमा एनसेलको सहयोग झन्डै १ करोड रुपैयाँ पुगेको एनसेलले जनाएको छ ।
प्रतिक्रिया 4