+
+
ब्लग :

छठ मनाउन यसपालि ज्वाइँ लिएर घर जाँदैछु

कुमालको माटोको भाडो, डोमको बासको नाङ्गला, टोकरी, हलुवाइको हातको मिठाई र यस्ता अन्य थुप्रै जात जातिको योगदान बिना कसैको घरको छठ पूरा हुन्न ।

श्रीणू कुमारी झा श्रीणू कुमारी झा
२०८० कात्तिक २४ गते १५:३४

१२ घण्टादेखि लागातार गुडेको काठमाडौं-जनकपुर औभिट्ठामोड रात्रीबस बनौली सिमानमा रोकेपछि खुल्ने ढोका हाम्रो लागि खुशीको ढोका हुन्थ्यो, जसका लागि हामी वर्ष भरि कुरेर बसेका हुन्थ्यौँ । दशैँको बिदामा ढोका खोलेर पुरै घर डुल्न नपाउँदै मन भारी पारी फर्केका हाम्रालागी रमाइलो र खुशी जिउन फेरी त्यो ढोका खुल्थ्यो ।

बौधी महरानीलाई ढोग्दै र मनमनै धन्यवाद दिदै धानका बालाहरुको बास्ना, आगोको बास्ना, माटोको बास्ना, बोट बिरुवामा जमेको शीत, गाईवस्तु, आफन्त सबैको आनन्द लिदै हामी घरको बाटो लाग्थ्यौँ ।

काठमाडौँ आएको सुरुको बर्ष हामी दिपावली-छठमा घर आउन नपाउँदा बहिनी रिसाएर रोएकी र बहिनीलाई फकाउन हामी दिदीभाईले गरेको मेहेनेत सम्झिदै हाँसेर बाटो छुट्टयाउने काम हुन्थ्यो हाम्रो ।

यसरी जाँदै गर्दा बाटोमा कोसैले घर सफा गर्दै गरेको, कोसैले माला सजाएको, कोसैले बत्ती लगाउदै गरेको दृश्यले मलाई असाध्यै लोभ्याउँथ्यो ।

घर पुगेर बाबा-दाईलाई गोर लागेर छठको घाट कस्तो हुदैछ भनेर दौडिन थाली हाल्थ्यौ हामी । गाँउ आएदेखि दलानमा रंगोली बनाउने, माला सजाउने, बत्ती ठिक पार्ने, दियो मिलाउने र नयाँ लुगा लगाएर लक्ष्मीको आगमनमा तमतयार भएर बस्दाको आनन्द, ओहो ! सम्झँदा पनि रमाइलो लाग्छ ।

भाईहरुसँग पट्का, फुलझरी, झिरझिरी, हुक्का लोलीको लागि हुने झगडा र त्यो झगडाको कारण खाने गालीले पनि हाम्रो दिपावली सम्झनायोग्यो हुन्थ्यो । दिपावालीको तीन दिनको रमाइलो पछि हुने भातृद्वतिया अर्को रमाइलो थप्थ्यो ।

गोबर्धन पुजाको बजरी र गाइको गोबरलाई टोलछिमेक धाएर पुजाको तयारी हुँदासम्म भाईहरुसंग गरेको झगडा र माँ को ‘आइयो के दिनमे कैला मिलका रहबे’ व्यंगले दिनलाई हरेक वर्ष जस्तो रमाइलो बनाउँथ्यो ।

पानको पात, सुपारी, कुभिण्डोको फुल, सिक्का पैसा, तम्मा (काठले बनाएको एक किसिमको सानो भाडो, अछिन्जल (जल), सिन्दुर र पिठार (सिलौटोमा पिसेको चामलको पिठो) ले भाईहरुको निधार र हात पुजा गरी दक्षीणाको लागि हुने हानाथाप अर्को रमिता हुन्थ्यो ।

पप्पाहरुको दिदीघर जाने यात्रा र मामाले ल्याउनु भएको कोशेली र दक्षीणाको पैसाले के के किन्ने सरसल्लाहले हाम्रो बिहानदेखिको झगडा साम्य बनाउथ्यो ।

सबै घरबाट काकाहरु फुफुहरुको बाट आएपछि हुने छठ को छलफल र त्यसको तयारीमा उहाँहरुसँग घाट जान पाइन्छ की भनेर अनेक गर्दा पनि पालो नपाएर उदास भएको मन दाईको आफ्नो पुजा तयारीमा व्यस्त हुन पाउँदा हर्षित हुन्थ्यो ।

छठ भनेको हाम्रो सामाजिक सहिष्णुताको पर्व मात्रै नभएर ठूलो सामाजिक पाठ पनि हुने गर्छ । एक जना भिनाजुले श्रीणु मलाई मधेश बुझ्न मन छ । लामो समय त्यँहा बसेर सामाजिक सम्बन्ध बुझ्नलाई कुन समय ठिक हुन्छ भनेर सोध्दा मैले छठमा हिडौँ भिनाजु भनेर सल्लाह दिएकी थिएँ ।

कुमालको माटोको भाडो, डोमको बासको नाङ्गला, टोकरी, हलुवाइको हातको मिठाई र यस्ता अन्य थुप्रै जात जातिको योगदानबिना कसैको घरको छठ पूरा हुन्न । सबैको एउटै पोखरी, एउटै नदी, अझै एउटै घाट र एउटै छठ परमेश्वरी, योभन्दा ठूलो सहिष्णुताको प्रतिकको पर्व अरु केही हुन्न जस्तो लाग्छ मलाई ।

यसरी मिलदेखि माटोका भाडाहरु, फलदेखि मिठाइसम्म जम्मा गर्दा गर्दै वर्षभरिको सबैभन्दा सुन्दर दिन, छठ आइपुग्छ ।

एक दिन सरकारी बिदा हुने हाम्रो छठ ५ दिन लामो हुन्छ । पहिलो दिनमा माछामासु बार्ने, दोस्रो दिन नहाय खाय, पुजाको लागि नुहाइ-धुवाई गरी र चोखो स्वास्थ बर्धिलो खाना खाएर पर्वको सुरुवात गर्ने हुन्छ ।

तेस्रो दिन खर्ना, दिनभरि ब्रत बसी राती पूजा गरी सख्खर खीर खाने गरिन्छ । यसै दिन मिथिलाको अर्को रमाइलो पर्व सुरु हुन्छ, सामा चकेवा । चौथो दिन साँझ अस्ताउने सूर्यलाई अर्घ दिने र पाँचौँ दिन उदाउँदो सूर्यलाई अर्घ दिई छठ घाटबाट बिदा लिइन्छ ।

छठ पूजाको गीत, रमझम, पटकाको गन्ध र धुपबत्तीको अत्यन्त मिठो बासना, हाम्रो छठ पूजाको भोज, रात भरको जाग्राम, राति बजिरहने बाजा/भजन, घाटको चिया, पोखरीको चिसो हावा आकाशको चिसो शित र तातो घुरको राप ! मेरा वर्षभरको सबैभन्दा महत्वपूर्ण पलहरु हुन् ।

त्यो रात कहिले नकटोस् र छिट्टै सूर्य देख्न पाइयोस् भन्ने कामना गर्दा गर्दै बिहान हुन्छ । बिहानाको पूजापश्चात दियो बिसर्जन गर्दै छठी मातालाई अर्को वर्ष फेरि आउनु भनेर डाकेँ सँगै पर्वहरुको अन्त्य हुन्छ । महापर्व सकेपछि नमजा त पक्कै लाग्ने नै हुन्छ तर त्यो भन्दा बढी नमजा जब हप्ताभरको बिदा केही पलमा सकियो जस्तो हुन्छ र फेरि झोला बोकेर कर्मभूमि दौडिन पर्छ ।

स्कुले जिवनदेखि जागिरे जिवनसम्म मेरो हरेक वर्षको छठ फरक हुँदै आएको छ । कहिले परीक्षाको तयारी भनेर गाँउ नगई काठमाडौ या कलेजमा एक्लै बसेको त कहिले तामझामका साथ पर्वमा सामेल भएको र जागिरे भएपछि लामो बिदा लिएर घर पूजाको तयारी गरेको सम्झना हुन्छ ।

तर जहाँ भए पनि छठ छठ नै हुन्छ । कहिले प्रसादको भारीमा त कहिले मोबाइलको फोटोमा तर छठ र छठी मैया जहिले मनमा बस्नुहुन्छ । यस पटकको छठ मेरो अरु वर्षभन्दा फरक हुदै छ, अरु बेला छोरी भएर जाने घरमा यसपालि ज्वाइँ लिएर जाँदैछु एउटा नयाँ छठ मनाउन ।

(लेखक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकमा कार्यरत छन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?