
२४ कात्तिक, काठमाडौं । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले यसको यस्तो निर्णयले त्यहाँ रहेका २० हजार नेपालीले राहत पाउने जनाएको छ ।
सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाका लागि संघले सरकारसँग माग गर्दै आएको र अहिले दूतावास स्थापनाको निर्णय हुनु स्वागत योग्य भएको संघले जनाएको छ ।
संघले सबै युरोपेली क्षेत्रीय बैठकमा संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।
डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँ रहेका २० हजारभन्दा बढी नेपालीहरुले राहत महसुस गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।
पोर्चुगलमा दूतावास नहुँदा त्यहाँ रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास संघले लिएको छ ।
प्रतिक्रिया 4