
२४ कात्तिक, काठमाडौं । विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकता नत्यागेको स्वघोषणा गर्नुपर्ने प्रावधानसहित कार्यविधि तयार भएको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि २०८० तयार पारेको छ । जसमा नेपाल बाहेक अन्य कुनै देशको स्थायी बसोबास अनुमति पत्र नलिएको समेत स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।
कार्यविधिको दफा ११ र १२ मा विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गराउने व्यक्तिले स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । कार्यविधिमा स्वघोषणाको ढाँचा समेत उल्लेख गरिएको छ । जहाँ सात वटा विषयमा स्वघोषणा गर्नुपर्ने भनिएको छ ।
स्वघोषणाको ढाँचा अनुसार पहिलो नम्बरमा आफू नेपाली नागरिक भएको र नेपालको नागरिकता त्याग गरेको तथा रद्द नभएको भन्नुपर्छ । नेपाल बाहेक अन्य कुनै देशको स्थायी बसोबास अनुमति पत्र वा नागरिकता नलिएको घोषणा दोस्रो नम्बरमा गर्नुपर्छ ।
नेपालमा कुनै गाउँपालिका वा नगरपालिकाको कुनै पनि वडाको मतदाता नामावलीमा नाम दर्ता नभएको घोषणा तेस्रो नम्बरमा गर्नुपर्छ भने चौथो नम्बरमा आफू नेपाली मूलको विदेशी नागरिक नभएको स्वघोषणा गर्नुपर्छ ।
आफूसँग अवधि कायम रहेको नेपाली राहदानीको सक्कल प्रति रहेको र बसोबास गरिरहेको देशको लागि प्राप्त गरेको प्रवेशाज्ञा र श्रम स्वीकृतिको अवधि कायम रहेको पनि घोषणा गर्नुपर्छ । यसको नक्कलप्रति नै मतदाता नामावलीमा नाम दर्ता गर्दा बुझाउनुपर्ने हुन्छ ।
स्वघोषणामा नागरिकता नम्बर, जारी भएको जिल्ला, स्थायी ठेगाना र नागरिकताको जारी मिति लेख्नुपर्छ । साथै, आफू बस्दै आएको देशको ठेगाना पनि उल्लेख गर्नुपर्छ ।
सातौं नम्बरमा आफूले पेश गरेका विवरण कागजात सबै साँचो भएको र झुठा ठहर भएमा प्रचलित कानून बमोजिम सहन तयार रहेको भन्नुपर्छ ।
निर्वाचन आयोगले पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतारसहित मलेसियामा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । त्यस अनुसार कार्यविधि तयार भएको हो ।
सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । आयोगका अधिकारीहरुका अनुसार कुटनीतिक नियोगकै कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने गरी कार्यविधि तय गर्न खोजिएको छ ।
विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने लगायतका विषय पनि कार्यविधिमा समावेश छ ।
प्रतिक्रिया 4