
२५ कात्तिक, बुटवल । रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत भएका छन् ।
तिलोत्तमाका पत्रकार मोहन चापागाईंले स्थापना गरेको अक्षयकोषबाट तिलोत्तमा मिडिया क्लबले उक्त पुरस्कार शनिबार एक कार्यक्रमबीच शर्मालाई प्रदान गरेको हो ।
तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले पत्रकार शर्मालाई २५ हजार रुपैयाँ राशीको चेक र सम्मानपत्र प्रदान गरे । नगरप्रमुख रामकृष्ण खाणले पत्रकारिता समाजको ऐना भएको भन्दै पत्रकारिताका माध्यमबाट उजागर गरिने विषयले समाजलाई सही दिशा निर्देश गर्न सक्नुपर्ने बताए ।
पुरस्कारका संस्थापक मोहन चापागाईंले आफूले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष हुँदा पाएको बैठक भत्ता बापतको रकमबाट अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको बताए ।
पुरस्कृत पत्रकार शर्माले आफूले प्राप्त गरेको पुरस्कार रकममा २५ हजार ५ सय ५५ रुपैयाँ थप गरी आफ्ना बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना गरी तिलोत्तमाको सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरे ।
प्रतिक्रिया 4