
२५ कात्तिक, पोखरा । भूपि शेरचन राजमार्ग, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग हुँदै पोखरा आइपुग्ने एउटै द्वार हो चाइना पुल ।
तीनवटा मुख्य राजमार्गबाट पोखरा प्रवेश गर्ने एउटै विन्दु र पछिल्ला वर्षहरुमा बढेको सवारी चापका कारण चाइना पुल साँघुरो बन्दै गएको छ । त्यसैले पूर्वतिर बुद्धचोकसम्म र पश्चिमतिर पृथ्वीचोकसम्म ट्राफिक जामले यात्रुदेखि बटुवासम्म हैरान हुन्छन् ।
चीन सरकारले पोखरा–काठमाडौं जोड्न पृथ्वीराजमार्ग बनाइसकेपछि सेती नदीमा निर्माण गरिदिएको यो पुलले थेग्नै नसक्ने गरी जाममात्र बढेको थिएन, दुर्घटनासमेत निम्त्याइरहेको थियो ।
२०३१ सालमा पृथ्वी राजमार्ग निर्माण गरेपछि यो पुल पनि चीनले नै बनाइदिएका कारण नाम पनि चाइना पुल रह्यो । ०५३ सालमा पुलको छेउमा धाँजा फाटेर जमिन भासिएपछि मर्मत गरेर ०५५ सालमा पुनः सञ्चालनमा ल्याइएको थियो ।
निर्माणको करिब ५० वर्षपछि चाइना पुलको रुप र परिचय फेरिने भएको छ । नेपालकै नमूना, सिग्नेचर पुलका रुपमा यसको दाँया/बाँया अरु २/२ लेनका पुल बन्ने भएको छ ।
१९० मिटर लम्बाइ भएको दुईवटा पुल नेपालमै नौलो र आकर्षक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । यो पुल निर्माण सम्पन्न गर्न १ अर्ब ७ करोड २४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर राजेशप्रसाद पौडेलका अनुसार बीचमा पिलर र स्ल्याब हाल्न नमिल्ने भएकाले पुलमा १४/१४ मिटर अग्ला ४ वटा टावर राखिनेछ । टावरबाट केवुल बाँधेर पुल झुड्याएजस्तो देखिनेछ ।
पोखरा महानगरपालिका–९ र १० जोड्ने गरी सेती नदीमा बन्न लागेको पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन् । त्यस क्रममा मन्त्री ज्वालाले पोखरा प्रवेश गर्ने सुन्दर गेटको रुपमा यो पुललाई विकास गरिने बताए ।
‘पोखराको कोर सिटीमा प्रवेश गर्ने एउटा सुन्दर गेटको रुपमा मान्छेहरुले यो पुल पार गर्नेछन्’, मन्त्री ज्वालाले भने, ‘पोखरा–काठमाडौं जोड्ने यो पुलले आर्थिक विकासका निम्ति पनि ब्याक बोनका रुपमा काम गर्ने छ ।’
पुल शिलान्यासका बेला गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जालीले मुग्लिन–पोखरा सडक विस्तारको काम निकै सुस्त भएको भन्दै मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मन्त्री ज्वालाले मन्त्री ज्वालाले पश्चिम खण्ड निर्माण निकै सुस्त रहेकाले छलफल गरेर समाधान खोजिने बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुल निर्माणमा अवरोध हुन नदिने निर्माण कम्पनीलाई आश्वासन दिए । ठेक्का सम्झौता अनुसार रसुवा कन्स्ट्रक्सनले यो पुल २०८२ भदौ २१ गतेभित्र निर्माण सक्नुपर्नेछ ।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुल निर्माणसँगै सेती नदी संरक्षणमा पनि ध्यान दिनुपर्ने बताइन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले चाइना पुलमा भविष्यमा ‘सेल्फी पुल’ बन्न सक्ने बताए ।
मन्त्री ज्वालाले चाइना पुलको विकल्पका रुपमा हेरिएको मितेरी पुल पनि निर्माण गरिने बताएका छन् । पोखराको पुरानो र नयाँ विमानस्थल जोड्ने यो पुलले स्थानीय, प्रदेश र संघीय सरकारलाई मितेरी साइनो जोड्ने काम पनि गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4