काठमाडौं । ह्यारी केनले गोल गर्ने लय कायम राख्दै दुई गोल गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा एफसी हेइडेमहेइमलाई ४-२ ले पराजित गरेको छ । यो जितपछि बायर्न अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ ।
घरेलु मैदान एलिएन्ज एरेनाका भएको खेलमा केनले १४औं र ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा हेइडेमहेइमले दुई गोल फर्कायो ।
हेइडेमहेइमका टमि क्लेनडेन्स्टले ६७औं र जान निकलस बेस्टेले ७०औं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
तर राफे गुरेइरोले ७२औं मिनेटमा गोल गर्दै बायर्नलाई फेरी अग्रता दिलाए । त्यसपछि ८५औं मिनेटमा एरिक म्याक्सिम चोपो मोटिङले गोल गरेपछि बायर्नले ४-२ को जित निकालेको हो ।
खेलमा दुई गोल गरेका केनले यस सिजन लिगमा १७ गोल गरिसकेका छन् । उनले लिगको अघिल्ला दुई खेलमा ह्याट्रिक गरेका थिए । यस्तै केन सुरुको ११ खेलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले २०१९ मा ११ खेलमा १६ गोल गरेका रोवर्ट लेवान्डोस्कीलाई पछि पारे ।
जितपछि बायर्न ११ खेलबाट २९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको बायर लेभरकुजन २८ अंकसहित दोस्रोमा छ ।
प्रतिक्रिया 4