
काठमाडौं । भारतले नेपालको सीमा अतिक्रमण गर्ने विषयवस्तुमा फिल्म बनाउँदै आएका निर्माता नवल खड्काले आगामी फिल्म ‘दोधारा चाँदनी’ निर्माणको घोषणा गरेका छन् । तिहारको लक्ष्मीपूजाको अवसर पारेर उनले आगामी फिल्मको घोषणा गरे ।
यो फिल्ममा पनि दोधारा चाँदनीमा भारतले नेपाली सीमा अतिक्रमण गरेको विषयवस्तु प्रस्तुत गरिने भएको छ । खड्काले यसअघि यस्तै कथावस्तुमा दशगजा र काँडेतार पनि निर्माण गरेका छन् । ‘काँडेतार’ फागुन २५ गते प्रदर्शनको तयारीमा छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई खड्काले नै निर्माण गर्नेछन् । निर्देशक र कलाकारबारे प्रकाश पारिएको छैन । ‘अहिलेलाई फिल्म मात्र घोषणा गरेका हौं । निर्देशक र कास्टबारे पछि टुंगो लाग्नेछ,’ खड्काले भने ।
तर यो फिल्मको निर्देशन आफूले नगर्ने उनले स्पष्ट पारे । अघिल्ला फिल्मको निर्माण, निर्देशन र शीर्ष भूमिकामा पनि खड्काले नै अभिनय गर्ने गरेका थिए ।
दोधारा चादँनी नगरपालिका सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्छ । यो नगरपालिका महाकाली नदीभन्दा पारि रहेका साविकका चाँदनी र दोधारा गाविस समावेश गरी स्थापना भएको हो । नगरपालिकामा १० वटा वडा छन् । यस क्षेत्रमा बेलाबेलामा भारतले सीमा अतिक्रमण गरेको खबर आउने गरेका छन् ।
प्रतिक्रिया 4