
२६ कात्तिक, काठमाडौं । काठमाडौंलाई एक फन्को मार्दै मञ्जुश्री ट्रेल रेस सकिएको छ । रेसमा पुरुषतर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा काठमाडौंको फन्को मार्दै पहिलो स्थान हासिल गरे । महिलातर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर रेस पार गर्दै प्रथम स्थान हासिल गरिन् ।
लिम्बू यस किसिमको रेसमा पहिलोपटक सहभागी भएको आयोजक मञ्जुश्री ट्रेल रेसले जनाएको छ । विजेता लिम्बू र राईले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्वीट्जरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रेस’मा सहभागी हुने अवसर पाउने छन् । यस अवसरमा उनीहरुको आर्थिक लगायत यात्रा व्यवस्थापनको काम मञ्जुश्री ट्रेल रेसले गर्नेछ ।
शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट १७० किलोमिटर दौड सुरू भएको थियो । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाइ छ ।
ट्रेल रेसमा दौडने क्रममा प्रतियोगीहरूले फलचोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भस्मासुर र चन्द्रागिरी लगायत पहाडहरु चढ्ने, झर्ने गरेका थिए ।
मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकुल नहुने सहभागीको लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता पनि समावेश थिए । सबै दौडहरू दहचोकस्थित कालु पाँडे डाँडामै पुगेर सकिएका थिए ।
९२ किलोमिटर रेस २० घण्टा १३ मिनेट ३ सेकेन्डमा पार गर्दै पुरुषतर्फ बिक्रम थामी विजेता बने । महिला सहभागी कसैले पनि ९२ किलोमिटर रेस पूरा नगरेकाले सो विधामा महिलातर्फ विजेता बनेनन् ।
५४ किलोमिटर रेस ८ घण्टा ३३ मिनेट १९ सेकेन्डमा पार गर्दै पुरुष तर्फ विकल्प पोख्रेल र महिला तर्फ ८ घण्टा ३६ मिनेट ३ सेकेन्डमा पार गर्दै मञ्जु रावत प्रथम भएका छन् ।
यस्तै २४ किलोमिटर रेस ३ घण्टा ५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ श्याम मग्राती र महिलातर्फ ३ घण्टा ३९ मिनेट ९ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम हुन सफल भएका छन् । विजेताले प्रमाणपत्र र ‘एड्भेन्चर गियर’ लगायतका पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताका चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए । जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।
रेसको गत संस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए ।
विश्व चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् २०१६ मा यो रुटमा दौड पूरा गरेका थिए । जिमि ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटसहित नक्साङ्कन गरेका थिए । विभिन चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।
मन्जुश्री ट्रेल रेसको रुट काठमाडौँ उपत्यकालाई घेरेका पहाडहरूको डाँडैडाँडा भएर अगाडि बढ्छ । चोभारको डाँडा काटेर मञ्जुश्रीले काठमाडौँ उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिँडेको बाटो (मञ्जुश्रीको पदचाप पछ्याउँदै) ट्रेल रेसको रुट बनाइएको छ । आयोजकका अनुसार दौडको रुटमा १९ चेक प्वाइन्ट छन् ।
कालु पाँडे डाँडाबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भञ्ज्याङ, शिवपुरी पिक, चिसापानी, जहरसिंह पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भञ्ज्याङ, फुलचोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाँडे डाँडामा नै पुगेर फरेस्ट क्याम्पमा सांगीतिक प्रस्तुति सहित समापन गरिएको थियो ।
प्रतिक्रिया 4