
काठमाडौं । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘बलिदान’को शीर्षमध्येको भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । थापाले यो फिल्ममा विदेशीको इशारामा चल्ने कुटिल नेताको भूमिकामा अभिनय गर्नेछन् ।
निर्देशक सन्तोष सेनले अहिलेसम्म अभिनेता थापालाई मात्र कास्ट गरिएको बताए । ‘अन्य प्रमुख कलाकार तिहारलगत्तै टुंगो लाग्नेछन्,’ सेनले अनलाइनखबरसँग भने, ‘अर्पणजीको रोचक क्यारेक्टर छ, जसले हाम्रा नेताहरुको प्रवृत्तिलाई चित्रण गर्नेछ ।’
चरित्र चित्रणअनुसार अर्पणको रोल यसमा भिलेनकै रोल हुने देखिन्छ । हलमा चलिरहेको फिल्म ‘दिमाग खराब’मा पनि अर्पण नकारात्मक चरित्रमा अभिनय गरेका छन् । स्रोतका अनुसार ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्लसँग पनि कुरा भइरहेको छ ।
पुस पहिलो सातादेखि छायांकन सुरु हुने बताइएको ‘बलिदान’लाई सामाजिक-राजनीतिक ड्रामा भनिएको छ । निर्माताले लक्ष्मीपूजाको दिनमा टिजर सार्वजनिक गर्दै कथावस्तुबारे संकेत दिएका छन् । जसअनुसार यो मधेश प्रदेशको राजनीतिक घटनाक्रममा आधारित हुनेछ ।
‘प्रेमगीत’ फेम्ड निर्देशक सन्तोष सेनले यो फिल्मको निर्माणमा पवन विष्टसँग सहकार्य गर्दैछन् । मधेश प्रदेशमा छायांकन हुने बताइएको यो फिल्मको पटकथाबारे ‘स्क्रिप्ट डाक्टर’ मनोज पण्डितसँग बसेर छलफल हुने सेनले बताए ।
प्रतिक्रिया 4