
२७ कात्तिक, काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढ्न लागेको छ ।
मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो । २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड ८३ लाखमा झरेको थियो ।
तर, चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भने यस्तो कर्जा ६.२ प्रतिशतले बढेर असोज मसान्तमा आउँदा ८१ अर्ब १ करोड ७६ लाख पुगेको छ । बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा कर्जा पनि बढ्दै गएको हो ।
यस्तो कर्जा आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब भन्दा माथि पुगेको थियो । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत पुर्याएको थियो ।
यस्तै गत आर्थिक वर्षको २०७८/७९ को मौद्रिक नीतिबाट राष्ट्र बैंकले सेयर धितो कर्जामा व्यक्तिगत सीमा अधिकतम १२ करोड र एउटा बैंकबाट ४ करोड तोक्यो ।
‘बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा भनिएको छ ।
राष्ट्र बैंकको उक्त नीतिको चर्को आलाचोन भएपछि आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाइ एउटै बैंकबाट १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको छ ।
यस्तै सेयर ब्रोकरमार्फत मार्जिन ट्रेडिङ नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने घोषणा गरएको छ ।
साना लगानीकर्ताको संरक्षणका लागि भन्दै २५ लाख रुपैयाँसम्मको कर्जामा १५० प्रतिशत रहेको जोखिम भार पनि १०० प्रतिशत कायम भयो । तर, सेयर बजामा भने त्यसले नकारात्मक प्रभाव नै बढ्दै गयो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले २५ लाखलाई बढाएर ५० लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा ल्याएको छ । यस्तै असोजमा एक परिपत्र मार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडमा सीमा पनि पुनरावलोकन गरेको छ ।
प्राकृतिक व्यक्तिलाई १२ करोडको सीमा १५ करोड बनाउँदा सेयर बजारमा लगानी गर्ने उदेश्य भएका कम्पनीको हकमा २० करोड पुर्याइएको छ ।
राष्ट्र बैंकले ५० लाखसममबको कर्जामा जोखिम भार घटाएसँगै उक्त सीमाभित्र पर्ने कर्जा पनि उल्लेख्य बढेको छ । असार मसान्तमा २५ लाखदेखि ५० लाखसम्मको कर्जा १२ अर्ब ७८ करोड १८ लाख रहेकोमा असोजमा आउँदा ११ प्रतिशतले बढेर १४ अर्ब १८ करोड ७८ लाख पुगेको छ ।
२५ लाखसम्मको कर्जा असारमा ७ अर्ब ३ करोड ५९ लाख रहेकोमा असोजमा ५.२ प्रतिशतले बढेर ७ अर्ब ४० करोड २२ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
५० लाखदेखि १ करोडसम्मको कर्जा भने घटेको छ । असारमा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ रहेको यस्तो कर्जा असोजमा २.६ प्रतिशतले घटेर ११ अर्ब ४७ करोड २६ लाखमा झरेको छ ।
१२ करोडका सीमा बढाएसँगै १ करोड भन्दा बढीको कर्जा पनि असारमा ४४ अर्ब ७१ करोड ६१ लाख रहेकोमा असोजमा आउँदा ७.२ प्रतिशतले बढेर ४७ अर्ब ९५ करोड ५० लाख पुगेको छ ।
प्रतिक्रिया 4