+
+

राइड सर्भिसकी स्कुटरवाली

डा. मिरा लामिछाने डा. मिरा लामिछाने
२०८० कात्तिक २७ गते १९:४८

समयको व्यस्तताले अचेल सार्वजनिक सवारी साधनभन्दा व्यक्तिगत साधन नै उपयुक्त लाग्छ । घरमै बसी–बसी साधन टुप्लुक्क आउने अनि भनेकै ठाउँमा ठ्याक्क पुर्‍याइदिने, कति सजिलो ! सधैंजसो कामबाट निस्कँदा इन-ड्राइभरबाट बाइक बोलाएँ ।

सधैं भन्दा आज परिस्थिति अलि फरक थियो, किनकि मेरो चालक महिला थिइन् । महिला चालक हुनु केवल संयोग मात्र थियो । सधैं बाटोमा चुप लागेर फर्कने म, आज महिला चालक देखेर एकदम बोलेको बोल्यै भएँ ।

महिला चालक पनि अनलाइनमा काम गर्छन् भन्ने सुनेकी थिएँ तर भेट्ने मौका आज मिल्यो । एकातिर महिला आत्मनिर्भर भएकोमा खुसी लाग्यो अनि अर्कोतिर यहाँसम्म पुग्नु पछाडिको रहस्य जान्न मन लाग्यो ।

मैले स्कुटी गुड्ने बित्तिकै प्रश्न सोध्न थाले । सधैं स्कुटी चलाउनुहुन्छ हो दिदी ? उनले भनिन्, ‘फुर्सद मिलेको बेलामा ।’ एउटा कुरा सोध्छु मन लागे जवाफ दिनु ल ! दिदी हाँस्दै भन्नुभयो, ‘भइहाल्छ नि जानेको कुरा भए भनुँला ।’ हजुरलाई यसरी काम गर्ने इच्छा कसरी जाग्यो, आफ्नो बारेमा भन्दिनुस् न !

अनि दिदीको जीवनको कथा सुरु भयो । मेरो नाम सपना हो । पुख्र्यौली घर मेलम्ची । सानैदेखि धेरै पढेर आफ्नै खुट्टामा उभिने रहर थियो । तर गाउँमा दुःख हुने, १५–१६ वर्षमै हुर्केकी छोरी भनेर चाँडै बिहे भइहाल्यो । नाम जस्तै पढ्ने सपना पनि सपनामै सीमित रह्यो ।

८ कक्षा पढ्दा पढ्दै बिहे भए पनि जेनतेन त्यो कक्षा उत्तीर्ण गरें । अब छोरी हुँदा पढ्न नपाएकी बुहारी भएर के पाउँथे ! श्रीमान्सँग अझै पढ्न मन भएको कुरा सुनाएँ । उहाँले राम्रो हो, अलिक समय पछि म पनि पढ्न काठमाडौं जान्छु, तिमीलाई पनि मिलाएर लैजाउँला, अहिले आमा–बुबा र घरको ख्याल राख भन्नुभयो ।

मनमा खुसीको किरण छायो । एकातिर आफूलाई बुझ्ने जीवनसाथी पाएकोमा र अर्कोतिर पढ्ने सपना जीवित नै रहेकोमा । घरको आर्थिक स्थिति राम्रो थिएन । श्रीमान् कलेज पढ्दै काम गर्ने अनि म उहाँलाई मद्दत गर्ने भनेर दुवै काठमाडौं आयौं । तर हामीले सोचे जस्तो सजिलो कहाँ थियो र काठमाडौंको बसाइ !

घरबाट ल्याएको पैसा र अन्न केही महिनामै सकियो । श्रीमान् बिहान कलेज पढ्नुहुन्थ्यो अनि दिउँसो एउटा फाइनान्समा काम गर्नुहुन्थ्यो । खानपान, पढाइ र घरभाडा, आर्थिक भार थाम्न गाह्रो भयो । मैले पनि घर नजिकै एउटा कार्यालयमा सहायकको काम पाएँ । जेनतेन दिन कट्दै गए ।

तर काठमाडौं आएर पनि पढ्न नपाउँदा मन साह्रै दुखेको थियो । मेरो मलिन अनुहार देखेर बुढाले मनको कुरा बुझ्नुभयो । अनि प्राइभेटमा ९ र १० कक्षाको पढाइ सुरु भयो । बुढा १२ को पढाइ सकेर अन्य जागिरको खोजीमा लाग्नुभयो ।

कति धेरै पढेका मान्छे त यहाँ बेरोजगार रहेछन् । हामीले त राम्रो जागिर पाउने सम्भावना नै थिएन । केही समय काम खोजियो । विस्तारै १० कक्षा पनि सकियो । त्यही बेलामा मेरो पेटमा बच्चा आयो । कमजोर आर्थिक अवस्थामा बच्चा हुर्काउन गाह्रो देखेर उहाँ विदेश हिंड्नुभयो, म फेरि गाउँ फर्किएँ ।

समय बित्दै गयो । विदेशमा कमाइ ठिकै थियो, साहुको पैसा तिरियो । बाबु पनि ३ वर्षको भयो । आफू गाउँमा पढे पनि बच्चालाई शहरमा पढाउने धोकोले म फेरि बच्चा लिएर काठमाडौं पसें । पहिले जस्तै अफिसमा काम गर्न थालें तर बच्चा भएपछि गाह्रो हुनेरहेछ ।

कहिले बच्चा बिरामी हुने त कहिले विद्यालय छुट्टी; एक्लै दुवै धान्न गाह्रो भयो । बुढा एउटाको कमाइले काठमाडौंको खर्च अनि बच्चाको पढाइ धान्न मुस्किल भयो । जाबो १० कक्षा पढेर अनि बच्चा हुर्काउँदै के नै गतिलो जागिर मिल्थ्यो र मलाई ?

समस्या नै सृजनाको जननी हो भन्थे, यो समस्याको समाधान गर्न वैकल्पिक रोजगारीको जुक्ति लगाएँ । बाटोमा एक जनाले पठाओ पठाओ भनेर बोलाएको सुनें अनि अचानक मनमा विचार आयो, यो काम त मैले पनि गर्न भइहाल्छ भनेर । बेलुका बुढासँग फोनमा कुरा गरें, सुरुमा त अन्कनाउनुभयो । केटी मान्छे, कस्ता मान्छे चढ्ने हुन् ? केटा पनि होलान् सक्छ्यौ त भन्नुभयो । मैले हजुरको साथ अनि मेरो आँट भए जे पनि गर्न सक्छु भनें ।

किस्ताबन्दीमा स्कुटर किनें, लाइसेन्स निकालें अनि म पनि पठाओ ड्राइभर बनें । मलाई उत्सुकता भइहाल्यो अनि सोधें, कसरी समय मिलाउनुहुन्छ ? दिदीले भन्नुभयो, ‘बिहान-बेलुका घरमा काम गर्छु, बच्चा हेर्छु, अनि बच्चा विद्यालय गएको समयमा काम गर्छु ।’

यो काम मलाई एकदम मनपर्छ । चट्ट लुगा फेरेर स्कुटर चलायो हिंड्यो, आफूलाई घुम्न गएको अनुभव हुने, अरूले देख्दा जागिरमा गए जस्तो पनि ।

दिउँसो मात्र गर्ने हुनाले धेरै आम्दानी त छैन तर पनि बाबुको विद्यालयको पैसा बाहेक सब खर्च पुर्‍याएकी छु । गाउँमा बुबा-आमालाई पनि गाई-भैंसी पाल्न गाह्रो भयो भनेर बाख्रा किनेकी छु । उहाँहरूलाई खर्च त्यसैले पुग्छ । खेती लगाउने बेलामा जान्छु, सघाउँछु, अनि फर्केपछि फेरि आफ्नै काम ।

बुढाले दुःख गरेर पठाएको पैसा बैंकमा राखेकी छु । कत्ति बुढालाई मात्र विदेशमा जोताउनु ? चाँडै नेपाल फर्काएर दुवै मिलेर यतै केही व्यवसाय गर्ने सोच छ ।

आफ्नै काम, विना कसैको पावन्दी आनन्द हुनेरहेछ । चाडबाड, बच्चा बिरामी हुँदा कसैसँग छुट्टी माग्नु नपर्ने, फुर्सदमा मात्र काम गरेर आफ्नो खर्च आफैं पुर्‍याउन सकिने, बुढाको आर्थिक भार कम हुने, खेतीको बेलामा गाउँ जान पाइने ।

केटी मात्र स्कुटरमा चढाउँछु भन्न पनि पाइने । मैले फेरि प्रश्न सोधें, समाजले के भन्ला जस्तो लागेन ? उहाँले हाँस्दै भन्नुभयो, ‘समाजको काम नै भन्ने त हो ! मैले दुःख पाउँदा सघाउन को आउँछ ? अनैतिक काम गरेको भए पो डराउनु ! हामी जस्तो गृहिणीलाई त यो वरदान नै भएको छ ।’

कहिलेकाहीं केटा चढे केही भन्दैनन् दिदी ? किन के भन्ने हो र ? उनीहरूले भनेको ठाउँमा पुर्‍याइदिएपछि सकिइहाल्यो । फेरि बच्चा भएको मान्छे, त्यस्तो जिस्क्याउने भन्ने पनि हुँदैन, फोन छँदैछ, कसैले केही भने पुलिस र महिला सहायता नम्बरमा भने भइहाल्यो । बुढा नेपाल आएर केही भरपर्दो आर्थिक व्यवस्था नहुन्जेल यो पेशा छोड्दिनँ होला ।

हजुरको कुरा सुनेर खुसी लाग्यो दिदी । अनि पढाइ नि ? त्यो पनि पूरा गर्ने सपना छ । भाग्यले साथ दिए बच्चा हुर्केपछि फेरि उच्च शिक्षा लिन्छु । केटीलाई असल जीवनसाथी पर्नु नै सबैभन्दा ठूलो भाग्य रहेछ । मेरो गन्तव्य पनि आइपुग्यो । दिदीलाई उनको कमाइ र धन्यवाद दिंदै म हिंडें ।

घरमा आएर बिछ्यौनामा पल्टिएँ, सपना दिदीको कुरा मनमा घुमिरह्यो । यस्तै समस्या भएका दिदीबहिनी धेरै छन् हाम्रो समाजमा । उहाँको जस्तो हिम्मत र असल परिवार भए विवाहपश्चात् पनि नारी आफ्नो अपुरो सपना पूरा गर्न सक्छन् भन्ने उदाहरण भेटें । विवाह र बच्चा भएपछि घर गृहस्थीमै रुमल्लिनु भन्दा सपना दिदी जस्तै पारिवारिक जिम्मेवारीसँगै आफ्ना अपूरा सपना पनि पूरा गरी आत्मनिर्भर बन्ने हैन त हामी पनि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?