
२७ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।
जाडोले कठ्यांग्रिएर भूकम्प पीडितहरु मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्माननित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरुको सेवामा सरकार युद्धस्तरमा लाग्नुपर्ने बताएका हुन् ।
सोमबार काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसीभैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
उनले भने, ‘अहिलेसम्म पनि, यत्रो दिन पार हुँदा पनि सरकारले त्यहाँका पीडितहरुलाई आवश्यक सुविधाहरु दिन सक्दैन । र, कम्मल मात्र पनि दिन सक्दैन मान्छे जाडोले कठयांग्रिएर मर्नुपर्ने स्थिति बन्यो भने यहाँ भन्दा ठूलो दुर्भाग्य अरु के हुनसक्छ ? त्यसो हुनाले सरकारलाई अविलम्व यस्ता कुराहरुमा युद्धस्तरमा हामीले भन्दै आएका छौं । त्यो भन्दा पनि उन्नतस्तरबाट जनताको सेवा गर्ने काममा सरकार लाग्न सक्नुपर्यो । हामी यो कुरा माग गर्न चाहन्छौं ।’
यद्यपि देशका विभिन्न संघ, संस्थाहरुले, पार्टीहरुले त्यो ठाउँमा सहयोग पुर्याउनका लागि उद्धारका कार्यहरु गरेका छन् । सहयोग उपलब्ध गराउनु भएको छ । तर ती सबै कुराहरुलाई सरकारले एकद्वार नीति अन्तर्गत सेवा पुर्याउने भनेर सरकारले एक ढंगले गरिरहेको छ । तर, सेवा पुगिरहेको छ कि छैन त ? अहिले पनि ।
र, म आजै मात्र पनि सञ्चार माध्यमहरुबाट सुनिरहेको छु–त्यहाँका कतिपय जनताले अहिले पनि आवश्यक राहत, उद्धार पाउन सकिरहेका छैनन् । र, जाडोले कतिपय मानिसहरुको मृत्यु भएको कुरा पनि आएको छ । के यो साँचो हो ? यदि साँचो हो भने यो बडो दुर्भाग्यपूर्ण समाचार हो । र, अत्यन्तै गम्भिर समाचार पनि हो । यो कुरालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिन जरुरी छ ।
सम्मानित नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाईबीचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रुपमा पनि चित्रण गरे ।
प्रतिक्रिया 4