+
+

शहरै बनिसकेको लिजीबाट खुल्यो कोरला नाका, नेपालतर्फ अस्थायी संरचना समेत छैन

अमृत सुवेदी अमृत सुवेदी
२०८० कात्तिक २७ गते १८:५२

२७ कात्तिक, पोखरा । नेपालको बिना तयारी र संरचना नै नबनेको स्थितिमा कोरला नाका सञ्चालनमा आएको छ ।

चीनतर्फ तिब्बतको लिजीमा बन्दरगाहसहित शहरै बने पनि कोरलानाकाको नेपालतर्फ कुनै संरचना छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा कोरला (नेचुङ—लिजी) नाका खोल्ने सहमतिअनुसार सोमबार एक समारोहबीच यो नाका सञ्चालनमा ल्याइएको हो ।

नाका खोल्ने भएपछि चीनतर्फबाट ठूला ठूला ट्रकमा नाकामा सामान ल्याइएको छ भने नेपालतर्फ सुनसान रहे पनि चीनतर्फ भव्य शहरै बनिसकेको छ ।

ठूला ठूला व्यापारिक मल पनि बनिसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चीनतर्फ बन्दरगाहका लागि आवश्यक सबै संरचना बनिसकेका छन् । ५ सयभन्दा धेरै घरहरु निर्माण भएका छन् ।

कार्यक्रमका लागि पनि नेपालतर्फबाट अध्यागमनको सबै प्रक्रिया पूरा गरेर उनीहरुले बनाएको संरचनामा रिबन काटेर नाका सञ्चालन गरिएको अधिकारीले जानकारी दिए ।

नाका खुल्ने भएपछि करिब १ हजार जना मुस्ताङ्गीले सीमा पार गर्न पास लिएका थिए । सोमबार मात्र करिब ५ सयको हाराहारीमा मुस्ताङी व्यापारीहरुसमेत गाडी लिएर नाका पुगेका थिए ।

सहज रुपमा सबैलाई आवत–जावत र आयात–निर्यात गर्न नेपालको तयारी नै नभए पनि तत्काललाई उपल्लो मुस्ताङका नागरिकलाई व्यापारिक कारोबारका लागि नाका खुला गरिएको हो ।

चीन र नेपालका राजनीतिक तथा सरकारी निकायका प्रतिनिधिले संयुक्त रुपमा रिबन काटेर नाका खोलिएको हो ।

चीन पक्षबाट काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय जनसुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा नाका सञ्चालनमा ल्याइएको हो ।

नेपालका तर्फबाट संघीय सांसद योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावराणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा रिबन काटेका थिए ।

सुरुमा मुस्ताङकै प्रमुख जिल्ला अधिकारीमात्र नाका खोल्ने कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । पछि नेपालका तर्फबाट मुस्ताङका संघीय तथा प्रदेश सांसद, गण्डकी प्रदेशका पर्यटन मन्त्री र नाका खुलेर आयात–निर्यात हुँदा प्रत्येक्ष फाइदा लिन सक्ने पोखरा महानगरका मेयर पनि कार्यक्रममा पुगेका थिए ।

४ वर्षदेखि व्यापारिक मेला रोकिँदा उपल्लो मुस्ताङका नागरिकले दुख खेपेका थिए । अहिले त्यहीँ नागरिकबीच व्यापारिक किनमेलका लागि नाका खुला गरिएको हो । नाका खुलेपछि लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र नागरिकले पनि खुसी मनाएका छन् ।

नाका खोल्ने विषयमा तिब्बतको ढोङ्वासेनमा नेपाल पक्ष र चीन पक्षबीच छलफल गरी मिति तय भएको थियो । २०७६ सालअघि वर्षमा २ पटक व्यापारिक किनमेलका लागि नाका खुल्ने गरेको थियो । अब भने मुस्ताङीका लागि सधैंका लागि नाका खुला भएको सीडीओ पन्तले जानकारी दिए ।

पोखराका मेयर धनराज आचार्यका अनुसार नाकामा चीनले ब्यापारका लागि संरचना पसलहरु सुरु गरिसकेको छ । चीनतर्फ भन्सार लगायतका भव्य संरचना बनिसकेका छन् । नाका खुलेसँगै चीनले कोरला नाकाबाट नेपालका सीमावर्ती पालिकालाई राहत पठाएको छ । नाका खुलेसँगै सोमबार चीनले मुस्ताङको लोमन्थाङ, लो घेकर दामोदर कुण्ड र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई एक–एक ट्रक सामान उपहारसमेत पठाएको छ ।

कोरोला नाका खुलेकै अवसरमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडालगायत राहत दिएको मुस्ताङका सिडिओ पन्तले जानकारी दिए । नेपालतर्फ संरचना नै नबने पनि नाका खुलेपछि मुस्ताङीलाई सहज हुने भएकाले खुसीको सञ्चार गराएको लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले बनाए ।

५/५ वर्षमा नवीकरण गर्ने गरी सन् २००३ देखि नै नाका खोल्ने र वर्षमा एक पटक चीनतर्फ र अर्को वर्ष नेपालतर्फ मेला गर्ने सुरु भएको मुस्ताङका पूर्व सांसद तथा मन्त्री रोमी गौचनले बताए ।

वीपीले चीनसँग सन् १९६० गरेको सीमा तथा व्यापार सम्बन्धी सम्झौताकै जगमा कोरला नाका खोलिएको गौचनको भनाइ छ ।

चीनविरोधी खम्पा बिद्रोहका बेला २०१७ सालमा नेपाल–चीन सीमामा चिनियाँ सेनाको गोली लागेर सुबेदार बमबहादुर बास्कोटा मारिएपछि कोरला नाकाको विषय विश्वव्यापी बनेको थियो । वीपीले पत्र लेखेर क्षतिपूर्ति मागेपछि चीनले ५० हजार रुपैयाँ तिरेको र सीमा विवादसमेत हुँदा पछि चीनले माफी नै मागेको गौचन बताउँछन् ।

‘चीन–नेपाल आउ–जाउ किनमेल ऊबेलै पनि हुन्थ्यो । तर, कहिल्यै नियमित भएन । दीर्घकालीन रुपमा खोल्न नेपालले अझै पनि तयारी पूरा गरिसकेको छैन,’ गौचनले भने, ‘कोरला नाका व्यापारिकमात्रै होइन, सांस्कृतिक नाका पनि हो ।’

२०२७ तिरै सालमा भन्सार खुलेको भए पनि पछि विभिन्न कारणले बन्द भएर पछि नाकादेखि १२ किलोमिटर वर नेचुङमा भन्सार कार्यालय खोलिएको थियो । अहिले त्यही ठाउँमा बोर्डर आउटरिच पोष्ट (बीओपी), नेपाल प्रहरी, क्वारेनटाइन राखिएको छ ।

‘पहिले वर्षमा २ पटक व्यापारकै निम्ति नाका खुल्थ्यो । तिब्बततर्फ व्यापार मेलाबाट वर्षकै लागि पुग्ने किनमेल गथ्र्यो उपल्लो मुस्ताङले । उनीहरुले पनि नेपालतर्फ हुने मेलामा पनि सामानहरु किनमेल गर्थे,’ मुस्ताङका पूर्व सांसद तथा मन्त्री रोमी गौचनले भने, ‘सन् १९६० मा वीपीले चीनसँग सीमा सम्झौता गरेको केही समय पछिदेखि नै लिजी र मुस्ताङीको आउजाउ थियो ।’

२०५० सालसम्म मुस्ताङ र तिब्बत सीमामा तारबारसमेत गरिएको थिए । तिब्बती बौद्ध धर्म कर्माका प्रमुख गुरु कर्माया जसको नाम ‘उगेन ट्रिनले दोर्जे’ तिब्बतबाट भागेर भारतको धर्मशाला पुगेपछि बल्ल चीनले सीमा काँडेतार लगाएको जानकार बताउँछन् ।

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा चीनको निगरानी राख्न भारतलाई १८ वटा चेकपोस्ट राख्न दिने निर्णयअनुसार एउटा मुस्ताङमा पनि थियो र पछि चेकपोस्ट हटेपछि चीनले पनि मित्रवत् व्यवहार गर्न थालेको पाका मुस्ताङी बताउँछन् । उपल्लो मुस्ताङमा चीनतर्फ गएर किनमेलमात्रै हुँदैन, अहिलेसम्म पनि चीनतर्फकै मोटरसाइकल प्रशस्त देखिन्छ ।

अहिले चीनले मानसरोवर जाने छोटे बाटो पनि त्यहीँबाट पर्ने भएकाले दीर्घकालीन रुपमै नाका खोलेको छ । ‘उनीहरुले मानसरोवरसम्म जाने योजनासहित नै भव्य संरचना नाकामा बनाइसकेका छन् । करिब ५ सय भवनहरु बनिसकेका छैन । भन्सार, अध्यागमनलगायत सबै आवश्यक संरचना तयार भएर व्यापारका निम्ति तयार भइसकेका छन्,’ कोरला नाकाबाट पोखराका मेयर आचार्यले भने, ‘नेपाल सरकारले तत्काल चीनको अग्रसरता बुझेर हाम्रोतिर संरचना बनाउन थालेन भने नाका खुल्यो भनेर रमाउने काममात्रै हुन सक्छ ।’

चीनले सबै तयारी पूरा गरेर नाका खोल्दा नेपालतर्फ अस्थायीसम्म पनि कुनै संरचना बनाइएको थिएन । कन्टेनर राखेर अस्थायी कार्यालयहरु तयार पार्ने भनिए पनि कुनै पनि तयार भएको छैन । भन्सार, अध्यागमलगायतका संरचना बनाउने गरी १ हजार रोपनी जग्गाको व्यवस्था गरिएको भए पनि डीपीआरमै अड्किएको छ ।

नाका खुल्नु आफैंमा खुसीको खबर भए पनि नेपालले त्यसबाट फाइदा लिन सकेन भने कुनै अर्थ नहुने केही दिनअघि तिब्बतका विभिन्न सहर हुँदै त्यही नाकासम्म पुगेर फर्किएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

‘नेचुङ–लिजी नाका (कोरला) अत्यन्तै फराकिलो, प्रशस्त ठाउँ उपलब्ध हुने अनि दुवै देशको बाटो सहज भएको नाका हो । यो नाकाबाट तेस्रो मुलुक भारतको सीमाना पनि तुलनातमक रुपमा छोटो हुने कारणले त्यस क्षेत्रका बासिन्दाहरु र अधिकारीहरुले ठूलो चासो दिइरहेका छन्,’ मूल्मीले भने ।

चीनको तर्फबाट लिजी नाकामा ४ सय मिलियन चिनिया मुद्रा खर्च गरेर आवश्यक भवनहरु, आधुनिक प्रविधिसहितको अध्यागमन, भन्सार क्वारेन्टाइन, ढुवानी साधनको जाँच प्रविधि, स्वास्थ्य क्वारेन्टाइन, कार्गो टर्मिनल, विद्युतीय भुक्तानी प्रणाली, भिसा दिन सकिने व्यवस्थालगायत निषेधित वस्तुहरूबारे पर्याप्त जानकारी, रेडियोधर्मी विकिरण भए÷नभएको जाँचका लागि जनशक्ति र प्रविधियुक्त भवनहरु तम्तयार अवस्थामा राखिएको छ ।

१२५ जना सरकारी कर्मचारीले लिजी नाकामा काम थालिसकेको केही दिनअघि त्यहाँ पुग्दा सरकारी अधिकारीले बताएको मुल्मीले जानकारी दिए ।

‘लिजी नाकाबाट सहर पुग्न ६० किलोमिटर बाटो पार गर्नुपर्ने भएकोले लिजी नाकामा खान–बस्न, वस्तुहरु किनमेल गर्न, आउजाउ हुने सवारी साधनहरुलाई सूचनाहरु दिन थप नयाँ निर्माण भइरहेका छन्,’ मुल्मीले भने, ‘यसले के दोखाउछ भने केही वर्षपछि लिजीले सानो सहरकै रूप लिनेछ ।’

नाका सधैंका लागि खुला भएको भए पनि कसरी अब व्यवस्थापन गर्ने र नेपालभर नियमित आयात–निर्यात गर्ने भन्ने नेपाल सरकारकै कुटनीतिमा भर पर्ने मुस्ताङका सीडीओ जनकराज पन्तको बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?