+
+

आँबुखैरेनीको सयपत्री कतार निर्यात

रासस रासस
२०८० कात्तिक २८ गते १२:५६

२८ कात्तिक, तनहुँ (दमौली) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् ।

आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्‍याइएको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने, ‘यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ ।’ पहिलो चरणमा एउटा माला एक सय ५० रुपैयाँका दरले कतार पठाइएको छ ।

अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ । अध्यक्ष चुमानले भने, ‘पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।’

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको छ ।

सोही बमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए ।

गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री भइरहेको छ । स्थानीय स्तरमा किलोको दुई सयसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला ८० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?