
काठमाडौं । मण्डला थिएटरले सन् २०२४-२५ मा १४ वटा नाटक निर्माण गर्ने भएको छ । जसमध्ये शुक्रबार पहिलो चरणमा ती सात नाटकका निर्देशकको नाम घोषणा गरिएको छ ।
घोषित पहिलो चरणको निर्देशकमा अनुप बराल, पशुपति राई, केदार श्रेष्ठ, नाजिर हुसेन, प्रवीण खतिवडा, अनिल सुब्बा र किरण चाम्लिङ राई छन् । बाँकी सात निर्देशकको नाम चाँडै घोषणा हुने मण्डलाले जनाएको छ ।
थिएटरका सचिव तथा अभिनेता विजय बरालका अनुसार निर्देशकको नाम तय भएको र चाँडै ती निर्देशकले निर्देशन गर्ने नाटकबारे पनि सार्वजनिक गरिनेछ । ‘१४ मध्ये सात निर्देशक घोषणा भएको छ । बाँकी सात चाँडै बाहिर ल्याउनेछौं । कुन नाटक भन्ने कुरा आउन बाँकी छ,’ बरालले अनलाइनखबरसँग भने ।
‘नाटकले निरन्तरता पाओस् । सिर्जना निरन्तर होस् भन्ने उद्देश्यले मण्डलाले दुई वर्षमा यी १४ नाटक निर्माण गर्न लागेको हो,’ बरालले भने । घोषणा हुन बाँकी सात निर्देशकको नाम नखुलाइए पनि यसमा चर्चित निर्देशक समावेश हुने अनुमान छ ।
घोषित नाटकको चरणअनुसार आगामी माघमा पहिलो नाटक मञ्चन हुनेछ । सम्भवतः प्रवीण खतिवडा निर्देशित नाटक सुरुमा मञ्चन हुनेछ । नाटकको अवधारणा र सिर्जनात्मक पक्ष निर्देशककै हुने भए पनि मण्डलाले निर्माणमा सघाउनेछ । जसअनुसार निर्देशक र कलाकारले पारिश्रमिक पाउनेछन् भने निर्माण प्रप्स र सेटिङमा समेत मण्डलाले लगानी गर्नेछ ।
अनुप बरालको पछिल्लो नाटक ‘एउटा सपनाको अवसान’को लगानी १५ लाखभन्दा उच्च रहेको अनुमान छ । जसअनुसार कम्तीमा १५ लाख हाराहारीमा एउटा नाटकको लागत पर्ने देखिन्छ । निर्देशक र कलाकारको पारिश्रमिक भने आपसी सहमतिमा तय हुने सचिव बरालले जनाए ।
प्रतिक्रिया 4