+
+

अभया सुब्बा भन्छिन्- अहिले एल्बम गर्नु भनेको रचनात्मक बर्बादी मात्रै हो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १७:५४

काठमाडौं । रकस्टार अभया सुब्बाका पछिल्ला केही फेसबुक स्टाटस हेर्दा लाग्छ, उनी सामाजिक सञ्जालले बदलेको सांगीतिक ट्रेण्डलाई लिएर केही गम्भीर छिन् । अक्टोबर २८ मा उनको फेसबुक पोस्ट छोटो तर अर्थपूर्ण थियो । यो स्टाटसमा उनले कसरी टिकटकजस्ता नयाँ मिडियासँग लडाइँ लड्दैछिन् भन्ने कुराको आत्मबोध उल्लेख छ ।

उनले लेखेकी थिइन्, ‘विश्वका अनुसार विशेषगरी नेपालमा । टिकटक ट्रेन्डिङमा रहेका गीत मात्र सांगीतिक कर्मजस्तो देखिन्छ । यो सन्दर्भमा मलाई लाग्दैछ कि म संगीत क्षेत्रको लडाइँ हार्दैछु ।’

शुक्रबार मात्रै अभयाको नयाँ फेसबुक पोस्ट आएको छ, जहाँ कसरी टिकटक, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालले सांगीतिक प्रवृत्तिलाई पुनः परिभाषित गरिरहेका छन् भन्ने कुराको व्याख्या गरेकी छन् ।

दर्शक र श्रोताले पछिल्लो समय आफूलाई तपाईं किन रक गीत गरिरहनुभएको छैन भनेर सोधिरहेको अभयाले बताएकी छिन् । यसमा उनको जवाफ छ, ‘मेरो नयाँ सङ्गीतमा रक सङ्गीतको प्रभाव पक्कै पनि छ भनी बुझ्‍न एउटा विवेकी कान चाहिन्छ । एउटा कलाकार धेरै प्रयास र परीक्षणबाट विकसित हुनुपर्छ ।’

उनले हिजोआज एल्बम बनाउनुलाई रचनात्मक बर्बादीको रुपमा टिप्पणी गरेकी छन् । ‘आजकल एल्बम गर्नु भनेको रचनात्मकताको बर्बादी जस्तो देखिन्छ, किनकि धेरै श्रोताले तपाईंले गरेको कामको सबै प्रक्रिया सुन्न रुचि राख्दैनन्,’ अभयाको टिप्पणी छ, ‘त्यसैले एक पटकमा एउटा गीत रिलिज राम्रो विकल्प हो ।’

यो प्रक्रियामा संगीतकर्मीले गीत बनाउने क्रममा निर्माण भएको समग्र व्यक्तित्व गुमाइरहेको अभयाको विश्लेषण छ । ‘संगीत सर्जकको रुपमा हामीले गीतका केही टुक्रा बनाउन त्यसको सम्पूर्ण आत्मालाई भत्काएका छौं । सिम्फोनीदेखि कन्सर्टसम्म र त्यहाँदेखि एल्बमसम्म ।’

उनले एउटै दर्शकको पनि सामाजिक सञ्जालपिच्छे भिन्न रुचि हुने बताएकी छन् । ‘इन्स्टाग्राममा गीतको सौन्दर्य राख्नुस् । फेसबुकमा विद्यालय पढ्दाखेरिको पुरानो भाइब्स राख्नुस् । टिकटकमा रअनेस राख्नुस्, युट्युबमा औपचारिकता राख्नुस् । म यी सबै नियमहरू तोड्न चाहन्छु तर एल्गोरिदमले त्यसलाई अनुमति दिंदैन,’ अभयाको विश्लेषण छ ।

अभयाले आफ्नो पछिल्लो गीत ‘झ्यालैमा’ अंग्रेजी रक ब्याण्ड पिंक फ्लोइडप्रति समर्पित रहेको समेत उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?