
१ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा तेस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु भएको छ ।
शुक्रबार मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गरेका छन् ।
स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धनका लागि मेला आयोजना गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिए ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायत विभिन्न प्रकृतिका तीन सय स्टलहरू रहेक उनले बताए ।
१२ मंसिरसम्म सञ्चालन हुने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल र पर्यटन क्षेत्रको लगानी डुब्ने खतरा : भण्डारी
सांसद भण्डारीले कमिसनका लागि महँगो ब्याजदरमा विदेशबाट ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाइए पनि होटल र पर्यटन क्षेत्रको लगानी डुब्ने जोखिम रहेको बताए ।
लोकतन्त्रको नाममा लुटतन्त्र हुँदा उद्योगी व्यवसायी र आम नागरिक निराश बनेको उनले बताए ।
युवा शक्ति विदेश पलायन भएको प्रति चिन्ता व्यक्त गर्दै सांसद भण्डारीले युवा पलायन रोक्न तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
खुल्ला सीमाबाट हुने तस्करी र भन्सारछलीले नेपाली व्यवसायी मारमा परेको औंल्याउँदै उनले तस्करी र खुला सीमा नियन्त्रणमा निर्मम भएर लाग्न उनले सरकारको ध्यानाकर्षण गराए ।
विदेशबाट आयात हुने तरकारी, फलफूल र पशुपन्छीको क्वारेन्टाइन गर्न पनि नसक्ने सरकारले मुलुक बनाउन नसक्ने उनले तर्क गरे ।
विश्वका विकसित देशहरुमा जनता धेरै र कार्यकर्ता एकदमै थोरै हुने गरेको तर नेपालमा जनता ज्यादै कम र दलका कार्यकर्ता धेरै भएकाले पनि मुलुकको विकास हुन नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4