+

दक्षिण एसियाली कराते मंसिर तेस्रो सातादेखि काठमाडौंमा हुने

२०८० मंसिर  १ गते १८:३८ २०८० मंसिर १ गते १८:३८
दक्षिण एसियाली कराते मंसिर तेस्रो सातादेखि काठमाडौंमा हुने

१ मंसिर, काठमाडौं । नेपाल कराते महासंघको आयोजनामा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य-सचिव युवराज लामाले जानकारी गराए ।

नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । प्रतिबन्धमा रहेकाले श्रीलंकाको एनओसी टिम सहभागी हुने छ ।

क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासंघका महासचिव दावा गुरुङले जानकारी दिए । क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगितामा ३५३ खेलाडीको सहभागिता रहने छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र २ व्यवस्थापकको व्यवस्था गरिएको छ । कुमुते टोली गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन् ।

अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउँदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

लामाले प्राविधिक रुपमा यो प्रतियोगिता बंगलादेशले आयोजना गर्नु पर्नेमा बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासंघ एकेएफले पनि स्वीकृति दिएको जानकारी गराए ।

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ डब्लूकेएफ र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ ।

प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । खेल खेलाउन ३ टाटामी म्याट प्रयोग गरिने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपैयाँ खर्च हुनेछ ।

कराते प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय