+
+
विचार :

‘गाजाको घेराबन्दी मानवता विरुद्धको अपराध हो’

दुवै पक्षले गरेको क्रूरताको जतिसुकै विवरण दिए पनि, उनीहरूको ज्यादतीको जति नै निन्दा गरिए पनि, जतिसुकै झुटो बोलिए पनि, उनीहरुको अत्याचारमा समानता छ भन्ने कुराले हामीलाई कुनै समाधानसम्म पुर्‍याउँदैन।

अरुन्धती रोय अरुन्धती रोय
२०८० मंसिर १ गते १८:५६

संसारभरका लाखौं मानिस- यहुदी, मुस्लिम, इसाई, हिन्दु, कम्युनिस्ट, आस्तिक र अज्ञेयवादीहरू सडकमा जुलुस गर्दैछन् र गाजामा भएको आक्रमण रोक्दै तत्काल युद्धविरामको माग गर्दैछन्। म यी अनगिन्ती मानिससँग मेरो आवाजमा नथपी कुनै पनि सार्वजनिक फोरममा आउन सक्दिनँ- अहँ, जर्मनीमा पनि सक्दिनँ, जहाँ मलाई थाहा छ कि मेरा जस्ता विचारहरू भर्चुअल्ली प्रतिबन्धित छन्।

हाम्रो निजी जीवनको अन्तरंग कुना-कुनामा यस्तो निर्लज्ज हत्याको प्रत्यक्ष प्रसारण भइरहेको छ, यस्तोमा पनि यो नरसंहारलाई निरन्तरता हुन दिनु भनेको हामी पनि यसमा सहभागी हुनु हो। यसबाट हाम्रो नैतिक अस्तित्व सदाको लागि समाप्त हुनेछ।

जब अस्पतालहरू बमबारी भइरहेका, लाखौं मानिस आफ्नो घरबाट विस्थापित भएका र भग्नावशेष मुनिबाट हजारौं बालबालिकाका शवहरू निस्किरहेका बेला हामी केवल उभिएर यी सबै हेरिरहनेछौं ?

सबै मान्छेको इज्जत र मानवीय हैसियत यति कमजोर बनाइएको छ कि उनीहरूलाई सदाको लागि विनाश गरियो भने पनि केही फरक पर्दैन। के हामी फेरि यी सबै चुपचाप हेर्नेछौं ?

वेस्टबैंकको इजरायली कब्जा र गाजाको घेराबन्दी मानवता विरुद्धको अपराध हो। संयुक्त राज्य अमेरिका र अन्य देशहरू यस अपराधमा बराबर साझेदार हुन्, जो यस्तो कब्जाका लागि पैसा र हतियार उपलब्ध गराइरहेका छन्। अहिले हामी हमास र इजरायलले गरेको नागरिकको निर्लज्ज कत्लेआम जस्तो जुन आतंकको साक्षी बनिरहेका छौं, यो घेराबन्दी र कब्जाको परिणाम हो।

दुवै पक्षले गरेको क्रूरताको जतिसुकै विवरण दिए पनि, उनीहरूको ज्यादतीको जति नै निन्दा गरिए पनि, जतिसुकै झुटो बोलिए पनि, उनीहरुको अत्याचारमा समानता छ भन्ने कुराले हामीलाई कुनै समाधानसम्म पुर्‍याउँदैन।

यस्तो दानवीय त्रासदीलाई कब्जाले नै बढावा दिएको हो। यसले पीडक र पीडित दुवैलाई हिंसा गरिरहेको हुन्छ। यसका पीडितहरू मरिसकेका छन्। र, यसका पीडकहरू अब आफूले गरेको अपराध सहित बाँच्नुपर्छ। र, तिनीहरूका सन्तान र भावी पुस्ताहरू पनि।

यो कुनै पनि सैन्य कारबाहीबाट समाधान हुनसक्दैन। यसको केवल एक राजनीतिक समाधान हुनसक्छ, जसमा सम्मान र समान अधिकारका साथ इजरायली र प्यालेस्टाइन दुवै सँगै वा एकअर्काको साथमा बस्नुपर्छ।

यसमा विश्वले हस्तक्षेप गर्न जरुरी छ। यस्तो कब्जा अन्त्य गर्न जरुरी छ। प्यालेस्टाइनीले आफ्नो देश पाउनुपर्छ। नभए पश्चिमी सभ्यताको नैतिक धरोहरको अस्तित्व समाप्त हुनेछ। हामीलाई थाहा थियो कि यो सधैं ढोंगी कुरा हो, तर पनि त्यसले केही मात्रामा भने पनि बास दिएको थियो। त्यही शरण (बास) पनि हाम्रो आँखा अगाडि हराउँदैछ।

तसर्थ, प्यालेस्टाइन र इजरायलको खातिर, बाँचेकाहरूका लागि र मारिएकाहरूको नाममा, हमासद्वारा बन्धक बनाइएकाहरूका लागि र इजरायली जेलहरूमा थुनिएका प्यालेस्टिनीहरूको खातिर, सम्पूर्ण मानवताको खातिर, गाजामा भएको आक्रमण तुरुन्तै बन्द हुनुपर्छ। तत्काल युद्धविराम गर।

(नोभेम्बर १६ मा म्यूनिख लिटरेचर फेस्टिभलमा लेखकले गरेको टिप्पणी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?