+
+

हाम्रा नानीबाबुले प्रकृतिबाट सिकून्

सधैं कति स्कुल–स्कुल मात्र भन्नुहुन्छ ? कुनै दिन आफ्ना नानीबाबुलाई आफ्नो मर्जीले प्रकृतिसँगै रमाउन दिनुहोस्। प्रकृतिमै विज्ञान छ, गणित छ, साहित्य छ, समाज छ, इतिहास छ। प्रकृतिमै सबै छ।

रविन खड्का रविन खड्का
२०८० मंसिर २ गते १६:३७

प्रकृतिको सुन्दरता भन्नु नै बीउ अंकुरण हुनु, बढ्नु, झांगिनु, फुल्नु र फैलनु हो। प्रकृति, व्यापक अर्थमा भन्नु पर्दा प्राकृतिक विश्व वा भौतिक विश्वसँग समतुल्य हुन्छ।

प्रकृतिले भौतिक विश्वका घटना तथा सामान्य रूपमा जीवनलाई सान्दर्भिक बनाउँछ। तर आजभोलिको आधुनिक जीवनशैलीले हामीलाई प्रकृतिबाट दिनानुदिन झन्–झन् टाढा लैजाँदैछ।

प्रकृतिसँग विमुख भएर बाँच्न खोज्नु सिङ्गो मानव जगतलाई नै घातक हुनसक्छ, त्यसैले हामीले समयमै प्रकृतिको महत्व बुझ्न र यसको आत्मसात् गर्दै जीवनयापन गरौं र आफ्ना नानीबाबुलाई पनि गर्न प्रेरित गरौं। हाम्रा नानीबाबुहरूले प्रकृतिबाट सिकून्।

ताल वा पोखरी हेरेर तिनले शान्त रहन सिकून्। हिमाल र पहाड हेरेर आफ्ना विचारमा आत्मविश्वासी र अटल रहन सिकून्। निरन्तर झरेको झरनाको पानीले त्यति कडा पत्थरलाई समेत काटेको देखेर निरन्तरताको सामु असम्भव भन्ने केही रहेनछ भन्ने कुरा सिकून्। डाँडाका वृक्षलाई हेरेर सिकून्, जीवनमा जति आँधी हुरी आउँछन्, त्यसले झन् बलियो र निडर बनाउँदो रहेछ।

ढुङ्गाको कापबाट उम्रेको पीपललाई देखेर तिनलाई लागोस्, प्रतिभा र दृढ इच्छाशक्ति भएको मान्छे जस्तोसुकै परिस्थितिमा फल्न र फुल्न सक्छ। जतिसुकै भारी वर्षा, झरी र घाममा पनि ओत नलागी हुर्कने जङ्गलका वृक्ष देखेर तिनले चुनौतीको सामना गर्न सिकून्।

कमिलाको ताँती हेरेर तिनले समूहमा मिलेर काम गर्न सिकून्। त्यति सानो चुच्चाले एक एक सिन्का ल्याएर गुँड बनाएको देखेर तिनलाई महसुस होस् कि परिश्रम गरे ढिलोचाँडो सफल अवश्य भइन्छ।

किताबका पानामा होइन, आकाशमा हेरेर जून, तारा र घाम छुट्याउन सिकून्। आकाशमा असङ्ख्य ताराहरू हुँदा रहेछन् भनेर जान्न तिनलाई विज्ञान किताबको कुनै पाठ कुर्नु नपरोस्। घर अगाडि दुबैदुबोको सानो चौर होस्, जहाँ साँझपख प्रकृतिको शीतलतासँगै पुर्लुक्क पल्टेर आकाशतर्फ हेर्दै सिकून्।

मानिस परिस्थिति अनुसार चल्न सिक्नुपर्छ। दिनमा हाँसेको घामलाई हेरेर र रातमा पनि हाँसेको जूनलाई हेरेर भनुन्, जीवनमा जस्तो परिस्थिति छ, त्यसै अनुसार खुसी रहन सक्नुपर्छ। तिनले नदी ठूलो र खोला सानो हुन्छ भनेर जान्न सामाजिक वा भूगोल किताबको कुनै एकाइ पर्खिनु नपरोस्। प्रकृतिमै गएर देखुन् र सिकून्।

नदी र खोला हेरेर लक्ष्य ठूलो लिन सिकून्। साना कुराहरू त ठूलो अस्तित्त्वमा लीन हुँदा रहेछन् भन्ने सिकून्। चिललाई हेरेर उड्न सिकून्। उड्न नसके चितुवालाई हेरेर दगुर्न सिकून्। दगुर्न नसके, हरिण, मृगलाई हेरेर हिंड्न सिकून्। हिंड्न नसके सर्प वा गोहीलाई हेरेर घस्रन सिकून्। घस्रन पनि नसके नदीलाई हेरेर अविरल बगिरहन सिकून् तर कहिल्यै पनि चुपचाप नबसुन्।

प्रकृति जति स्वाभाविक छ हाम्रा नानीबाबुहरूले पनि शिक्षा त्यति स्वाभाविक रूपमा सिक्दै जाउन्। पिंजडामा थुनिएका पन्छीहरूको अध्ययन प्रकृतिको अध्ययन होइन भन्ने बुझुन्। किताबमा छापिएको आकाशको तस्बिर प्रकृतिको परिचय होइन भन्ने बुझून्। ठूला ढुङ्गा र सिमेन्ट थुपारेर त्यसमा गाग्रीको पानी ल्याएर बनाएको नाली प्रकृति होइन भन्ने बुझून्।

प्रगतिशील भनिने स्कुलको प्रोजेक्टरमा देखाइने वन–जङ्गलको भिडियो प्रकृति होइन भन्ने बुझून्। प्राकृतिक सौन्दर्यले दिने खुसी कार्टुन, एनेमी र भिडियो गेमले दिन सक्दैन भन्ने बुझून्। कलकल झरिरहेको सलल बगिरहेको पानीमा पौडिंदा मिल्ने खुसी त सयौं स्वीमिङ पुलले पनि दिन सक्दैन भन्ने बुझून्।

हरियाली वातावरणमा बसेर हाम्रा नानीबाबुहरू बसन्तको कलिलो घाम तापुन् र प्रकृतिसँग
आत्मसात् गरुन्। बोटबिरुवाको महत्व बुझ्न तिनलाई अस्पतालमा अक्सिजन नपाएर जीवन–मृत्युको दोसाँधमा छट्पटिरहेको कुनै गम्भीर बिरामीको कथा पढ्नु नपरोस्।

मोबाइल, प्रोजेक्टर र टेलिभिजनको पर्दामा होइन, कुनै वृक्षको फेदमा बसेर अनमोल हावाको स्पर्शसँगै यो जुरेलीको आवाज हो, यो मैनाको, यो मयूरको, यो कोइलीको गीत हो भनेर एउटा एउटा हाँगामा कोमल नयन डुलाउँदै ती चराहरू हेर्न र खोज्न सिकून्।

नदीका किनारमा आउने छछल्कालाई हाम्रा नानीबाबुहरूले नाङ्गा गोडाहरूले स्पर्श गरेर फर्किऊन्। खोला, नदीका किनारमा बसेर हातखुट्टाका सहाराले थरीथरीका चित्रहरू कोरून्, अनि निमेषभरमै प्रत्यक्ष असङ्ख्य किताबी ज्ञान सिकून्।

सधैं कति स्कुल स्कुल मात्र भन्नुहुन्छ ? कुनै दिन प्रकृतिमा लगेर आफ्ना नानीबाबुलाई आफ्नो मर्जीले प्रकृतिसँगै रमाउन दिनुहोस्। प्रकृतिमै विज्ञान छ, गणित छ, साहित्य छ, समाज छ, इतिहास छ। प्रकृतिमा सबै छ।

वृक्षमा वल्लो डाली पल्लो डाली चराचुरुङ्गी नाच्दा जमिनतिर खस्ने सिन्का देखेर तिनीहरू गुरुत्वाकर्षणको नियममा थप स्पष्ट हुन सिकून्।

हाम्रा नानीबाबुहरू कुनै एउटा बाटामा पानी राखेर छोडिदिंदा त औधी खुसी भएर खेलिरहेका हुन्छन्। झन् कुनै खोला वा नदीका किनारमा रहेका स-साना डोबिल्काहरूमा लगेर छोडिदिंदा कसो गर्लान्! प्रकृतिमा संगीत सुन्न न गितार चाहिन्छ, न मादल मुर्चुङ्गा र ख्याली नै! त्यहाँ त सबैखाले संगीत छ। जुरेलीको आफ्नै भाका, कोइलीको आफ्नै सुर, हावा चल्दा सुसाउने सालघारी र सल्लाघारीको आवाज त फरक छ।

झरना, खोला र छहराको आफ्नै संगीत छ। त्यसैले प्रकृतिमा सबै खुसी छन्। अनि हामी सधैं हाम्रो नानीबाबुको खुसीको कुरा गर्छौं त प्रकृतिसम्म हाम्रा नानीबाबुलाई किन नलैजाने ?

हाम्रा नानीबाबुले यो पनि बुझून् कि प्रकृतिले बाँच्ने कला सिकाउँछ। जीवन पद्धति सिकाउँछ। सबै जगत बुझ्न सिकाउँछ। हरेक प्राकृतिक जीव तथा वनस्पतिको भूमिका कति महत्वपूर्ण छ भन्ने सिकाउँछ। हाम्रा नानीबाबुहरूमा प्रेम, आत्मीयता र सौहार्दता सिकाउँछ।

हाम्रा नानीबाबुलाई प्रकृतिमा रमाउन प्रेरित गरौं। हप्ताको एक पटक भए पनि नजिकैको वन–जङ्गलमा लैजाऔं। बोटबिरुवा रोप्न र तिनको संरक्षण गर्न सिकाऊँ। साथै तिनलाई बोटबिरुवा विना मानव अस्तित्व छैन भन्ने बुझाऊँ। यसका लागि आफ्ना नानीबाबुलाई प्रकृतिमा रमाउन दिऊँ। प्रकृतिसँग नजिक हुँदा हाम्रा नानीबाबुहरूको शारीरिक, मानसिक, आत्मिक र सामाजिक विकास हुन्छ भन्ने कुरा सिकाऔं र सिकून्।

हाम्रा नानीबाबुले प्रकृतिबाट जीवन सिकून्, देश बुझून्, सुख र दु:ख– दिन र रात जस्तै हुन् भन्ने सिकून्। चुनौतीको सामना गर्न सिकून्, निडर हुन सिकून्, समानता सिकून्। तिनले प्रकृतिबाट सबै कुरा सिकून्।

लेखक शिक्षक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?