३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन समारोहमा गायक सुशान्त केसीको प्रस्तुति रहने भएको छ ।
एनएसएलको दोस्रो संस्करण आगामी शुक्रबार काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने उद्घाटन खेलअघि गायक सुशान्त केसी, ट्वीनी गर्ल्स (प्रिन्सी र प्रिज्मा खतिवडा) र वाङ्देन शेर्पाको प्रस्तुति रहने आयोजकले जनाएको छ । सुशान्त केसीले सारंगी, रिसाउने भए, बेहोस, अटेरी, गाजलु, साथी लगायत चर्चित गीत गाएका छन् ।
शुक्रबार हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले नवप्रवेशी स्पोर्टिङ इलाम डे मेची एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
उद्घाटन समारोह दिउँसो ४ बजे सुरु हुनेछ । उद्घाटन खेल भने साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना हुने एनएसएलमा ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०२१ मा भएको पहिलो संस्करणमा कोभिड १९ को प्रभावका कारण दर्शकको उपस्थित थिएन । यस पटक भने एनएसएल भव्य रुपमा आयोजना हुने आयोजकले जनाएको छ । यस्तै विश्वकप खेलिसकेका देखि युरोपियन लिगहरुमा खेलका खेलाडीहरु पनि आउँदैछन् ।
यस्तै चेल्सीका लिजेण्ड डिडियर ड्रोग्बा पनि एनएसएलको उद्घाटनमा आउँदैछन् । ड्रोग्बाको डिडियर ड्रोग्बा फाउन्डेसनले एनएसएलको आयोजकसँग मिलेर जाजरकोटको भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा नगद २० लाख समेत सहयोग गरेको छ ।
प्रतिक्रिया 4