
काठमाडौं । नेपाली लोक-रक ब्याण्ड १९७४ एडीले ‘मिनी टूर’को घोषणा गरेको छ । जसअनुसार पहिलो कन्सर्ट आइतबार भारतको दार्जिलिङस्थित खर्साङमा हुने उल्लेख छ ।
मंसिर १६ गते युएईको दुबई, मंसिर १७ गते युएईको अबुधाबी, मंसिर २३ गते पोखरा, मंसिर २५ गते बिर्तामोड र मंसिर २९ गते काठमाडौंमा कन्सर्ट गर्ने ब्याण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दार्जिलिङमा हुन लागेको पाइन ट्रि फेस्टिभलमा ब्याण्डले हेडलाइनरको रुपमा सांगीतिक प्रस्तुति दिन लागेको हो । मिनी टूरकै लागि भनेर ब्यान्ड सदस्य भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रिन प्रधान र फ्लुटिस्ट मनोज सिंह अमेरिकादेखि आइसकेका छन् ।
नेपालमा रहेका अन्य सदस्यहरु निराकार याकथुङ्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित उनीहरु अभ्यासमा जुटेका थिए ।
‘यसपालिको पहिलो टुर नै फिरोज र एड्रिन दाइको गाउँको छिमेक खर्साङबाट सुरु हुन लागेकाले विगतमा यात्रा गर्दाका धेरै सम्झना ताजा भएको छ’ ब्यान्डको व्यवस्थापन पनि हेरिरहेका सञ्जय श्रेष्ठले जानकारी दिए । फिरोज र एड्रिनको जन्मस्थल क्रमशः तकभर दार्जिलिङ र कालिम्पोङ हो ।
‘दार्जिलिङप्रति मेरो प्रेम अथाह छ । मलाई यहाँ बजाउन आउँदा दोस्रो घर आएको जस्तो लाग्छ’ फ्लुटिस्ट मनोज सिंहले बताए । यस्तै पछिल्लो पल्ट सन् २००८ मा अन्तिमपल्ट मेची पारि कन्सर्ट गर्न आएको सम्झिँदै लिड गिटारिस्ट मनोज केसीले भने ।
सन् १९९४ मा झम्सिखेलबाट सुरुवात भएको ब्याण्डले ९ एल्बम निकालेको छ जसमा ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ लगायत एल्बम छन् ।
खर्साङको रोहिनी लेक गार्डेनमा हुन लागेको ‘पाइन ट्रि फेस्टिभल’ को यो पाँचौँ संस्करण हो । सङ्गीतसँगै यसले सांस्कृतिक पाटोलाई पनि सँगै लैजाने उद्देश्य लिएको छ । त्यसको लागि स्टेजनजिकै स्थानीय सामान बिक्रीमा राख्ने गरी ३० वटा स्टल राखिएको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया 4