
३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका जगन्नाथ पौडेललाई पार्टीमा फर्कन चितवन कांग्रेसका नेताहरुले आग्रह गरेका छन् ।
आइतबार विहान पौडेललाई भेट्न गएका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, चितवन जिल्ला सभापति राजेश्वर खनाल, महासमिति सदस्य देवेन्द्र गुरुङले कांग्रेसमा फर्कन आग्रह गरेका हुन् ।
पौडेल बाहेकका बागी उम्मेदवारहरु कांग्रेस फर्किसकेको जानकारी गराउँदै चितवन सभापति खनालले भने,‘पार्टीले गरेको कारबाही फिर्ता गरेर अरू सबै कांग्रेसमा फर्किसक्नुभएको छ । उहाँलाई पनि कांग्रेसमा फर्कन भेटेर आव्हान गरेका छौं ।’
आफूलाई भेट्न आएका नेताहरुलाई पौडेलले कांग्रेसको मूल नेतृत्वले पक्षपात गरेकाले तत्काल कांग्रेसमा फर्कने अवस्था नरहेको बताएका थिए । ‘मूल नेतृत्वले पक्षपात गरेर सूर्यलाई भोट हाल्न आव्हान गर्नेलाई माफी दियो । मलाई चाहिं कांग्रेसमा आउनुस् भनेर दोहोरो चरित्र देखायो’ पौडेलले अनलाइनखबरसँग भने ।
पार्टीले अंगालिरहेको बाटोमा कुनै परिवर्तन नआएकाले कांग्रेसमा फर्कने सम्भावना तत्काल नरहेको उनले बताए । पौडेलले भने, ‘पार्टीमा के कुरामा परिवर्तन भयो त ? अवस्था बदलियो भने हेर्दै जाउला भनेर भेट्न आएका साथीहरुलाई भनें ।
कांग्रेसमा लामो समय आवद्ध रहेका पौडेल गत स्थानीय निर्वाचनमा कांग्रेसको विद्रोह गरेर भरतपुर महानगरमा मेयरमा उम्मेदवारी दिएका थिए । गठबन्धन गरेर माओवादीलाई मेयरको उम्मेदवार बनाउन नहुने पक्षमा उनी थिए ।
चितवन–२ को उप निर्वाचनमा पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन चुनावी प्रचारमा खटिएका थिए । गठबन्धनको विपक्षमा चितवन–३ मा उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालालाई कांग्रेसले कारबाही फिर्ता गरिसकेको छ ।
उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य समेत बनेका थिए ।
प्रतिक्रिया 4