+
+

बिते २०१७ सालको क्रान्तिका योद्धा कृष्णविक्रम नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते २०:५६

३ मंसिर, काठमाडौं । २०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको सरकार अपदस्थ गर्ने बित्तिकै पूर्वको पाँचथरबाट सशस्त्र क्रान्तिको घोषणा गर्ने मध्येका एक कृष्णविक्रम नेम्वाङको निधन भएको छ । लामो समय कांग्रेसको राजनीतिमा बिताएका उनी इतिहासकार, अनुसन्धानकर्मी समेत थिए ।

नेम्वाङका छोरा तथा लेखक धर्मेन्द्रविक्रम नेम्वाङका अनुसार कृष्णविक्रम नेम्वाङको आज आइतबार अपराह्न निधन भएको हो । क्यान्सरका बिरामी उनी ८२ वर्षको उमेरमा ललितपुरस्थित हरिसिद्धि क्यान्सर हस्पिटलमा बितेको छोरा धर्मेन्द्रले अनलाइनखबरलाई बताए ।

२०१७ मा राजा महेन्द्रले बीपीलाई जेलमा हालेलगत्तै दार्जिलिंगमा पढिरहेका नेम्वाङले आफ्ना दाजु दिव्यविक्रमसँग मिलेर आफ्नो सेन्ट रोबर्टस स्कुल र चौरस्तामै विरोधसभा गरेका थिए । त्यसपछि उनी स्वदेश फर्के ।

पाँचथरको पौवासारतापस्थित आफ्नो गाउँमा फर्केर उनले सैन्य कुलाई हतियारले मात्रे परास्त गर्न सकिने निर्णयसहित पुलिसका बन्दुक खोस्न थालेका थिए । त्यसका नेता उनकै दाजु भूविक्रम नेम्वाङ थिए ।

२००७ सालमा जस्तै २०१७ मा पनि उनीहरुकै आह्वानमा मुक्ति सेना गठन भएको थियो । त्यही सेनाले १६ फागुन २०१७ मा पाँचथरको सुकिया पोखरीमा पहिलो पटक फौजी कारबाही गरेको थियो ।

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति सुवर्णशमशेरले सत्याग्रह थाल्ने धम्कीपूर्ण पर्चा मात्र छरिरहेका बेला सुकियापोखरी एक्सन नै लोकतन्त्रवादीका तर्फबाट गरिएको पहिलो सशस्त्र विद्रोह भएको नेम्वाङले बताएका थिए ।

स्मरणीय छ, कांग्रेसले सुवर्णशमशेर राणाको नेतृत्वमा सशस्त्र क्रान्तिको घोषणा गर्नुभन्दा ६ महिना पहिले नै कृष्णविक्रम नेम्वाङ लगायतले हतियारबन्द विद्रोह घोषणा गरेका थिए, कांग्रेसको नाममा । पछि उनी जेल पनि परे ।

गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासँग निकट रहेर काम गरेका नेम्वाङले राजनीति छाडेपछि राजनीतिक इतिहासबारे किताबहरु लेखे ।

उनकी पत्नी तुलसा पनि पाँच वर्षअघि क्यान्सरले बितेकी थिइन् । नेम्वाङले लिम्बु इतिहास लगायत थुप्रै किताब लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?