+
+
विचार :

देशको समस्या एकातिर, एमालेको चिन्ता अर्कोतिर

हामी विदेशी सहयोग र विप्रेषण प्रधान अर्थचरित्र भएको देशमा परिणत भएका छौं । हामी पैसाले पैसा कमाउने दलाल पूँजीवाद अथवा वित्तीय पूँजीवादको दुष्चक्रमा फसेका छौं । यसबाट कसरी उम्कने ? एमाले पार्टीको चिन्ता त यी विषयमा हुनुपर्ला नि, हैन र ?

डा. अतीन्द्र दाहाल डा. अतीन्द्र दाहाल
२०८० मंसिर ४ गते १३:५९

आजकाल सामाजिक सञ्जालमा दुर्गा प्रसाईं छाएको छाएकै छन् । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य रहेका प्रसाईं आजकाल विशेषतः एमाले पार्टीप्रति अनुदार, आक्रामक र अशोभनीय प्रस्तुति दिइरहेका छन् ।

पछिल्ला परिस्थितिले यो पंक्तिकार लगायत थुप्रै अध्येतालाई अनेकन् प्रश्न निर्माण गरेको छ । प्रसाईंका अतिरिक्त अन्य केही अवाञ्छित र अनुचित आश्चर्यहरूले पनि कहिलेकाहीं यो पंक्तिकारलाई द्विविधा हुने प्रश्नहरू जन्माएका थिए ।

द्विविधाजन्य प्रश्नहरू

समाचारमा पढेको थिएँ, केही वर्ष पहिले सुनकोशी नदीमाथि बनेको एउटा पुल हावाले भत्कायो । प्रश्न उब्जियो, हावा बलियो कि पुल कमजोर ?

भारतमा नरेन्द्र मोदी प्रथम पटक सुविधाजनक बहुमतसाथ प्रधानमन्त्री निर्वाचित भएपछि यो पंक्तिकार स्वयंले एक अन्तर्राष्ट्रिय सम्मेलनमा चर्चा गरेको थियो, ‘मोदीले जितेको कि राहुल गान्धीले हारेको ?’

अहिले यस्तै एउटा प्रश्न उब्जिएको छ, दुर्गा प्रसाईं बलियो भएका हुन् कि एमाले चाहिं कमजोर बन्दै गएको हो ? एउटा सामान्य र हावादारी व्यक्तिको हुँकारमा किन यसरी एउटा स्थापित पार्टी डराउनुपर्छ ? टिकटक बन्द गर्नु वा गराउनुमा पनि कतै यही काण्डको हात त छैन !

एमाले अध्यक्ष स्वयंले प्रसाईंका कारण टिकटकबाट आफू आजित भएको भनेर सरकारलाई सिकायत गरेको समाचार बाहिरिएका थिए । टिकटक प्रतिबन्ध गलत वा सही भन्नेचाहिं अरूले केवल तर्क दिने मात्र हो, अब अन्तिम न्याय निरुपण भने सम्मानित अदालतबाट नै हुनेछ । तर सामाजिक सञ्जाल अबको राजनीतिमा महत्वपूर्ण हतियार चाहिं हो ।

बाराक ओबामाले प्रथम पटक राष्ट्रपति निर्वाचित भएपछि स्मार्ट फोन निर्माण गर्ने व्यक्तिलाई फोन मार्पmत नै धन्यवाद दिएका थिए । किनकि त्यो फोन अथवा त्यसमा चल्ने सामाजिक सञ्जालले उनको विजयी यात्रा सुनिश्चित गर्न ठूलो योगदान गरेको थियो । आजको समयलाई ‘गभर्मेन्ट इन पकेट’ भनिन्छ । सबैको खल्तीमा यस्तो उपकरण छ जसले सरकारका बारेमा थाहा पाउने र सरकार बनाउने वा भत्काउने हैसियत राख्छ ।

‘लाइक वार : वेपनाइजेशन अफ सोसल मिडिया’ नामक पुस्तकले सामाजिक सञ्जाल अबको राजनीतिक हतियार भएको तर्क गर्छ । अपार सफलतासाथ अहिले चलिरहेको चलचित्र ‘दिमाग खराब’ले पनि यस तथ्यलाई समेत झल्काएको छ ।

अल्झिएका तथ्य

एमाले पार्टी केही कमजोर भएको अवश्य हो । गएको निर्वाचनमा उसले पाएको जम्मा सिट घट्यो । मिसन ग्रासरूटमा भएको सदस्यता नवीकरणको संख्या पनि निराशाजनक देखियो । उपनिर्वाचनमा एक जना पनि सदस्य विजयी नभएको अवस्था छ । तर के एउटा व्यक्तिसँग नै यसरी थुरथुर हुनुपर्ने गरी खण्डहर भएको छ र ?

हिजो व्यवस्थाका विरुद्घ, आम सत्ता र सामन्तवादका विरुद्घ लडेकोे एमाले व्यक्तिका विरुद्घमा किन छ ? अनि अहिलेको सत्ताकै विरुद्ध लड्ने दुहाई दिने व्यक्तिका विरुद्ध लड्दा सत्ताको समर्थन गरेको ठहरिंदैन र ? अवाञ्छित र बाह्य यौनजन्य गतिविधिका सामग्रीको सहारा र त्यसलाई सार्वजनिक गरी एकअर्कालाई खुइल्याउन वा राजनीतिक तथा सामाजिक प्रतिष्ठा ध्वंस गर्ने प्रचलन अहिलेको राजनीतिको सबैभन्दा बलियो हतियार भएको छ । हुँदाहुँदा एमाले र दुर्गा प्रसाईं एकअर्कालाई यही गर्ने भन्दै वाक्युद्घमा तल्लीन छन् ।

हालसालै लेखक हेलेन थोम्पसनले ‘डिसअर्डर : हार्ड टाइम्स फर ट्वान्टीफस्ट सेन्चुरी’ पुस्तक लेखे । उनका अनुसार भूराजनीतिक असहजता, आर्थिक अधोगति र लोकतान्त्रिक निष्प्रभाविता अहिले कुनै पनि देश असफलता उन्मुख हुने प्रधान आधार हुन् । हाम्रो अवस्थालाई नियाल्दा यी तीनवटै कुरामा हामी अग्र श्रेणीमा नै छौं जस्तो देखिन्छ ।

सिंगापुर र स्विट्जरल्याण्ड बनाउने भन्ने नेताहरूले नेपाललाई दक्षिणएशियाकै गरिब देश बनाइसकेछन् । एउटा राजनीतिक दलको चिन्ता त यतातिर हुनुपर्ने होला । तर अहंकार र आधारहीन एउटा गर्जन किन उसको प्रधान शत्रु देखिंदैछ ? दुर्गा प्रसाईं बलियो भएर एमाले बराबर अथवा एउटा राष्ट्रिय पार्टी, देशको प्रमुख प्रतिपक्ष, ‘गभर्मेन्ट इन वेटिङ’ बराबर भएको हो कि एमाले चाहिं खस्किएर दुर्गा प्रसाईं अथवा एउटा व्यक्ति र उसको सानोतिनो कम्पनी लिमिटेड बराबरमा झरेको हो ? निर्मम समीक्षाको घडी आएको छ ।

यदि एमालेले साँच्चै केही गल्ती–कमजोरी गरेको छैन, दुर्गा प्रसाईंले भनेका कतिपय आरोपहरूमा एमाले सम्मिलित छैन भने देशका मुख्य विषयमा चाहिं उसको ध्यान जाओस् । देशको विकास भएको छ कि छैन ? देश बस्न लायक छ कि छैन ? विदेश जानेहरूको लर्को किन बढेको छ ? निकट भविष्यमा देशको अवस्था सहजता अथवा असहजता उन्मुख के हुन्छ ? भ्रष्टाचार गरेको छैन भनेर कोही कुनै ओहोदामा बसेको मानिसले भन्दा उसप्रति किन विश्वास जाग्दैन ?

देशमै बसेर केही गर्नुपर्छ भन्ने विश्वास र संकल्प बोकेको मानिसलाई कुनै काम दिएर सरकारी अफिसमा पठाइदिएपछि बेलुका फर्कंदा ऊ यो देशमा बसेर काम छैन भन्ने सोच निर्माण गरेर किन आउँछ ?

सेवाप्रवाह र सेवाग्राही माथिको सरोकारवाला निकाय अनि नियामक व्यक्तिको आचरण तथा सोच नोकरशाही पद्घतिको किन छ ? उत्पादन, आत्मनिर्भरता अनि निर्यातमा हामी अति धेरै जीर्ण भइसक्यौं, कसरी यसलाई सबल बनाउने ? एमाले जत्तिको पार्टीको ध्यान यी कमजोरी ठेगान लगाउन हुनुपर्छ कि दुर्गा प्रसाईंसँग टकराव र कुस्ताकुस्ती गर्न ?

प्राचीन इतिहास पल्टाएर हेर्दा भोटसम्म हाम्रो व्यापार नियन्त्रण थियो । भोटमा नेपालमा मुद्रण गरिएका सिक्का चल्थ्यो । रेशमीमार्ग मार्फत नेपालले विश्वलाई जोडेको थियो ।

प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्धमा नेपालले बेलायतलाई आर्थिक सहायता समेत प्रदान गरेको थियो । केही दशक अगाडि हामी लगभग अधिकांश कुरामा आत्मनिर्भर थियौं । आज उच्च व्यापार घाटा भएको अनि विदेशी सहयोग र विप्रेषण प्रधान अर्थचरित्र भएको देशमा परिणत भएका छौं । हामी पैसाले पैसा कमाउने दलाल पूँजीवाद अथवा वित्तीय पूँजीवादको दुष्चक्रमा फसेका छौं । यसबाट कसरी उम्कने ? एमाले पार्टीको चिन्ता त यी विषयमा हुनुपर्ला नि, हैन र ?

दुर्गा प्रसाईं नामको एक व्यक्तिले गर्दा सिंगो पार्टी हल्लिनुपर्र्ने ठाउँमा आइपुगेपछि अब एमालेले कहिले देशका यी जल्दाबल्दा समस्याको बारेमा दिमाग खियाउने ? शत्रुलाई कमजोर नसम्झनु भन्ने कुरा त राजनीतिक प्रशिक्षणको बेला आम नेता तथा कार्यकर्तालाई भनिएको होला । तर झिंगाको शिकार गर्नु परेमा पनि मेसिनगन र आधुनिक आणविक हातहतियार नै बोकेर जानुपर्ने त होइन होला !

हुन त विदेश भ्रमणमा जानुपर्ने कार्यक्रम भएका विश्वविद्यालयका एक जना उपकुलपतिलाई तत्काल भ्रमण नगर्नु भन्न नसकेर स्वयं कुलपतिले आफ्नो कार्यालयमा बोलाएर बन्धक बनाई समय गुजारिदिएको नजिर भएको पार्टी पनि हो एमाले । तर बाघले स्यालसँग मैदानमा उत्रिएर बाघको बहादुरी झल्कन्छ कि झल्कँदैन, यो बहसको अर्को पाटो बन्नुपर्छ ।

यो पंक्तिकार दुर्गा प्रसाईंको पक्षपोषणमा कदापि छैन, उनी बलियो बनून् भन्ने चाहँदैन । उनको अहंकार र अभिमानले देशमा अर्को द्वन्द्व सिर्जना गर्न सक्छ भन्नेमा सजग छ । यद्यपि एमाले यति कमजोर भएकोमा अथाह दुःखित छ । लोकतान्त्रिक व्यवस्थामा दलहरू कमजोर हुनु समग्र प्रणालीमाथिको खतराको घण्टी हो । एमाले एक सशक्त दल बनोस् । दुर्गा प्रसाईंको विरोधलाई उपलब्धि मान्ने हैन, करोडौं जनताको पक्षमा काम गर्ने लोकतान्त्रिक शक्ति बनोस् । कमजोर नदेखियोस् र नबनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?