+
+

फोहोरबाट मल र ग्याँस उत्पादन गरिंदै

रासस रासस
२०८० मंसिर ४ गते १६:०३

४ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा  सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्याँस’ उत्पादन गर्न थालिएको छ ।

उपमहानगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको देव तालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहोरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरेको हो ।

प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्याँस उत्पादन सुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए । उनले भने, ‘उत्पादित ग्याँस र मल हाल मौज्दात राखिरहेका छौं, व्यावसायिक उत्पादनपछि बजारमा पठाउँछौं।’

प्रशोधन केन्द्रबाट नगरपालिका क्षेत्रमा दैनिक जम्मा हुने कुहिने फोहोरका साथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहोरमैला जस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्याँस उत्पादन गर्न थालिएको हो ।

प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक एक सय सिलिण्डर ग्याँस, तीन हजार पाँचसय किलो जैविक मल र एक हजार पाँच सय किलो झोल मल उत्पादन हुने बताइएको छ ।

पर्यावरणीय प्रदूषण लगभग शून्य हुने यो ग्याँसले बढ्दै गएको कार्बन उत्सर्जनको समस्यालाई घटाउन भूमिका खेल्ने बताइएको छ ।

पाइपलाइनको प्रयोग गरेर दैनिक सात/आठ सय घरपरिवारमा यो ग्याँसबाट खाना पकाउन सकिने र सिलिण्डरमा ग्याँस भरेर औद्योगिक प्रयोगमा ल्याउन पनि सकिने बताइएको छ । खाना पकाउन प्रयोग भइरहेको एलपी ग्याँसको मूल्यको तुलनामा यो ग्याँसको मूल्य सुपथ रहने बताइएको छ ।

बायो सिएनजीको प्रतिसिलिण्डरको रु१२५० मात्रै मूल्य पर्ने बताइएको छ । प्रतिसिलिण्डर एलपी ग्यासको मूल्य योभन्दा बढी छ ।

फोहोरमैला प्रशोधन केन्द्रमा सञ्चालनमा ल्याइएको बायोग्याँस प्लान्टलाई उपमहानगरपालिका कार्यालयले फोहोर उपलब्ध गराउने गरेको छ ।

प्रशोधन केन्द्रले यो ग्यासलाई पेट्रोलबाट चल्ने टेम्पुलगायतका गाडीमा प्रयोग गर्न मिल्ने कम्प्रेसन नेचुरल ग्याँस (सीएमजी) बनाउनका लागि आवश्यक तयारी पनि गरिरहेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको संयुक्त पहलमा फोहोरको व्यवस्थापन भइरहेको हो । उपमहानगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गा समेत उपलब्ध गराएको छ ।

देव तालिम केन्द्रले २० वर्षका लागि फोहोरको व्यवस्थापन गर्न ठेक्का पाएको छ । ‘बायोग्याँस प्लान्टलाई दैनिक १२ देखि १५ टन फोहोर उपलब्ध गराउने गरिएको छ’, उपमहानगरपालिका वातावरण शाखाका प्रमुख अशोक अवस्थीले भने, ‘नकुहिने फोहोरको हकमा त्यसको प्रकृतिअनुसार छुट्याइसकेपछि सूक्ष्म वर्गीकरण केन्द्रमा मेसिनमा पेलेर डल्लो बनाएर राखिन्छ ।’ यो काममा स्थानीय १० महिला र दुई पुरुषले रोजगारी पाएका छन् ।

तालिम केन्द्रका पन्तले भने, ‘प्रदेश सरकारले वैकल्पिक ऊर्जाबाट सवारी साधन सञ्चालनका लागि नियमावली समेत बनाइसकेकाले यो ग्याँसको व्यावसायिक उत्पादनमा सहजता आउनेछ ।’ उपमहानगर क्षेत्रमा दैनिक १२ देखि १५ टन फोहोर जम्मा हुने गरेको जनाइएको छ ।

उपमहानगरपालिकाका फोहोरमैला परामर्शदाता कृष्ण भण्डारीले फोहोरमैलाका वस्तुलाई तिनको प्रकृति अनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने गरिएको बताए ।

धनगढी उपमहानगरपालिका-७ पटेला गाउँमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र र दिसाजन्य लेदो व्यवस्थापन प्रणाली निर्माण सम्बन्धी अर्को ठूलो योजना पनि कार्यान्वयनको चरणमा छ ।

सरकारको प्राथमिकता प्राप्त यो आयोजना निर्माणका लागि १० महिनाअघि नै ठेक्का लागिसकेको छ । एशियाली विकास बैंक एडीबीको सहुलियत ऋण सहयोगमा यो आयोजना निर्माण हुन लागेको हो । यसका लागि वन क्षेत्रको २२ हेक्टर जग्गा छुट्याइएको छ ।

उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले आयोजना निर्माणका लागि ठेक्का लागेर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले काम छिट्टै सुरु गर्न लागिएको बताए । उनले भने, ‘दाताबाट आउने सहयोगलाई गुम्न नदिन तोकिएको समयमै आयोजनाको ठेक्का लगाउनु परेको हो, आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी आदेश लगायतका कामको प्रक्रिया पूरा गर्न लागेको समयका कारण केही ढिला भए पनि अब छिट्टै काम सुरु हुन लागेको छ ।’

यो योजनाको रु१ अर्ब २४ करोड लागत अनुमान रहेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?