+
+

विपिनको परिवार भन्छ : अब पुरानो भिडियोको अर्थ छैन, ताजा अवस्था चाहियो

जनक विष्ट जनक विष्ट
२०८० मंसिर ४ गते १९:४४

४ मंसिर, धनगढी । इजरायलले हमासले बन्धक बनाएका नेपालीसहित दुई जनाको भिडियो सार्वजनिक गरेपछि त्यसबारे आम रुपमा चासो बढेको छ ।

सार्वजनिक भएको भिडियोमा देखिएका दुई मध्ये एक जना व्यक्ति सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतको कृषि विज्ञान संकायका विद्यार्थी विपिन जोशी भएको इजरायली डिफेन्स फोर्सले दाबी गरेको छ ।

त्यो भिडियो पुरानो भएका कारण जोशीको पछिल्लो अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।

‘त्यो भिडियो अहिलेको होइन ७ अक्टोबरकै रहेछ । भाइ हमासको नियन्त्रणमा छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको छ तर अहिले भाइको अवस्था कस्तो छ ? त्यो बारे जान्न पाए हुने थियो,’ विपिनका दाजु किशोरले अनलाइनखबरसँग भने ।

इजरायलस्थित नेपाली राजदूतावासमा कार्यरत कर्मचारीमार्फत उक्त भिडियो सोमबार बिहान आफूले पनि प्राप्त गरेको बताउदै जोशीले त्यसको अहिलेको अवस्थामा कुनै अर्थ नरहेको बताएका छन् ।

दूतावासले दिएको जानकारी र विपिनका साथीहरुले उनी अपहरणमा परेको दिन लगाएको कपडाका बारेमा दिएको जानकारीका आधारमा भिडियोमा देखिएका हमास लडाकुको लछारपछारमा पर्ने विपिन हुन सक्ने परिवारले बताएको छ ।

परराष्ट्र मन्त्री एनपी साउदले आइतबार राति विपिनका परिवारलाई टेलिफोन सम्पर्क गर्दै उनी इजरायलमा सुरक्षित रहेको खबर प्राप्त भएको बताएका थिए, तर इजरायलस्थित नेपाली दूतावासले भने सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै विपिनको अवस्था प्रष्ट हुन नसकेको उल्लेख गरेपछि उनको परिवार अलमलमा परेको छ ।

‘हिजो राति मन्त्री ज्यूले अंकल (विपिन बुवा) लाई फोन गरेर उनी सुरक्षित छन् भन्ने कुरा आइरहेको छ आशा गरौं, ठीकै होलान हामी प्रयास गरिरहेका छौं, भन्नुभएको थियो,’ जोशीले अनलाइनखबरसँग भने, ‘तर दूतावाससँग कुरा गर्दा पछिल्लो अवस्थाबारे केही खबर छैन भन्छ । उहाँहरु भाइ कहाँ छन् भनेर भन्न सकिने अवस्था छैन भन्नुहुन्छ ।’

मन्त्रालय र दूतावाससँग नियमित सम्पर्कमा रहेका जोशी हमासको नियन्त्रणबाट छुटेर विपिन घर फर्किने विश्वास नटुटेको बताउँछन् ।

इजरायली डिफेन्स आर्मीले सार्वजनिक गरेको जोशीलाई बन्धक बनाएको भिडियोबारे विपिनका आमाबुवालाई कुनै जानकारी नदिइएको जोशीले बताए । उनीहरु विपिन सकुशल घर फर्किने आशमा बाटो कुरेर बसिरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी इजरायलमा हमासले ७ अक्टुबरमा गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । जोशीलाई सोही दिन हमासले नियन्त्रणमा लिएको खुले पनि पछिल्लो अवस्थाबारे भने कुनै जानकारी आएको छैन । उनीसँगै अध्ययन र कामका लागि इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको भने मृत्यु भएको थियो ।

जोशीलाई हमासको नियन्त्रणमा छुटाएर सकुशल घर फिर्ताका लागि नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावासलाई विपिनको परिवारले आग्रह गर्दै आएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?