+

यमनलाई हराउने नेपालको लक्ष्य

२०८० मंसिर  ४ गते १९:५७ २०८० मंसिर ४ गते १९:५७
यमनलाई हराउने नेपालको लक्ष्य

४ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ ।

समूह एच अन्तर्गतको यो खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछ । मंगलबार बेलुकी ७ बजे सुरु हुने यो खेल नेपालको लागि अंकको खाता खोल्ने अवसर पनि हुनेछ ।

एसियाको वरीयतामा पछि रहेको नेपाल एसिया क्षेत्रमा दुई लेगको प्रारम्भिक चरणको छनोट  पार गरेर समूह चरणामा पुगेको हो । लाओस विरुद्ध दुई लेगको खेलमा २-१ को जित निकाल्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।

तर दोस्रो चरणको पहिलो खेलमै समूहकै सबैभन्दा बलियो टोली युएई विरुद्ध उसैको मैदानमा खेलेको नेपाल ४-० ले पराजित भयो ।

दुबईमा भएको उक्त खेलमा नेपालले चारै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफमा भने नेपालले यूएईलाई गोल गर्न दिएन र हार अन्तर ठूलो बन्न पाएन । दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गर्दै फाइटिङ स्पिरिट देखाएको थियो ।

जसले गर्दा यमनसँग खेल्दा नेपालको मनोबल बढ्ने राष्ट्रिय महिला टिमका पूर्व प्रशिक्षक अनन्त थापाले बताएका थिए ।

यमन पहिलो खेलमा अर्को बलियो टोली बहराइनसँग २-० ले पराजित भएको छ । यमन पनि नेपालसँग खेल्दा अंकको खाता खोल्ने प्रयास हुनेछ ।

जितको लक्ष्य

फिफा वरीयतामा नेपाल भन्दा यमन १७ स्थान अघि छ । तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ ।

सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्धको खेलका लागि तयार रहेको र जितकै लागि खेल्ने बताए ।

‘यूएई विरुद्धको खेलपछि हामीले राम्रो तयारी गरेका छौं, हामी यमन विरुद्धको खेलका लागि तयार छौं, यसअघि २०१७ मा एउटा खेल मात्र बराबरी भएको थियो । बाँकी खेलमा नेपाल पराजित भएको थियो,’ एनेसले भने, ‘हामी यो खेल जित्न चाहन्छौं । समर्थक र खेलाडीलाई आशा दिलाउन पनि यो खेल जित्नुपर्छ । हामी अंक जोड्न चाहन्छौं ।’

कप्तान किरणकुमार लिम्बुले पनि प्रशिक्षकको भनाइमा सहमति जनाउँदै यमनसँग जित्नकै लागि खेल्ने बताए । उनले युएई विरुद्धको हारलाई बिर्सेर अघि बढ्नुपर्ने र आगामी खेलहरुका अझ राम्रो प्रदर्शन गर्न पनि यमन विरुद्धको खेल महत्वपूर्ण हुने बताए ।

‘भोलिको खेलका लागि उत्सहित छौं र जित्नका लागि चुनौती पनि छ । यहाँबाट अघि बढ्नका लागि यो खेल महत्वपूर्ण रहेकाले हामीले जित्नुपर्छ,’ कप्तान किरणले प्रि म्याच कन्फ्रेन्समा भने ।

यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले पहिलो खेलमा बहराइनसँग पराजित भएकोले आफूहरुका लागि नेपालसँगको खेल महत्वपूर्ण रहेको बताए ।

‘हामी पहिलो खेलमा घरेलु मैदानमै बहराइनसँग पराजित भयौं । दुई गल्तीले गोल खायौं । हाम्रो समूहमा युएई र बहराइन जस्ता टोली छन् । नेपाल पनि छ । त्यसैले नेपाल सँगको खेल महत्वपूर्ण छ,’ उनले भने ।

साउकोपले नेपाल विरुद्धको खेलका लागि आफ्नो टिम तयार रहेको तर नेपालसँगको खेल सहज भने नहुने बताए । ‘नेपालसँग खेल्न सजिलो हुँदैन । नेपाल पहिलो खेलमा यूएईसँग ४-० ले हारे पनि राम्रो खेलेको थियो । यूएईमा गएर गोलको अवसर बनाउनु राम्रो हो । यमनको टिम पनि खेल्न तयार छ ।’

साउकोपले पनि नेपालसँगको खेलबाट अंकको खाता खोल्ने लक्ष्य रहेको बताए ।

उनले पछिल्लो समय यमनी खेलाडीहरु बहराइन लगायत विदेशी लिगमा खेल्न थालेकोले अहिले राम्रो हुँदै गएको बताए ।

प्लेइङ ११ महत्वपूर्ण हुनेछ

नेपालका सेन्टरब्याक अनन्त तामाङले चोटका कारण यूएई भ्रमण गुमाएका थिए । मिडफिल्डर लकेन लिम्बुले युएई विरुद्धको खेलमा चोटका कारण पहिलो हाफमा मैदान छाडेका थिए ।

त्यसैले अब यमन विरुद्ध खेल्दा नेपालको सुरुवाती ११ खेलाडीमा को को पर्छन् भन्ने महत्वपूर्ण हुनेछ ।

पछिल्लो समय नयाँ नयाँ खेलाडीहरु राष्ट्रिय टिममा आइरहेकोले अनुभवको कमी छ । प्रशिक्षक एनेसले पनि पहिलो रोजाईँ छान्नु महत्वपूर्ण हुने बताए । उनले चोटका कारण लकेनले यमन विरुद्धको खेल गुमाउने पनि जानकारी दिए ।

‘भोलिको खेलमा प्लेइङ ११ सेलेक्ट गर्नु धेरै महत्वपूर्ण छ’, एनेसले भने, ‘चोटका कारण लकेन यमन सँगको खेलबाट आउट भएका छन् । अनन्तको बारेमा मेडिकल टिमसँग छलफल गरेर निर्णय गर्नेछौं । किनकी खेल्नका लागि शतप्रतिशत फिट हुनुपर्छ ।’

एनेसले आफ्नो टिममा फिट खेलाडी हुनुपर्ने भन्दै यसअघि पनि टिम छनोट गर्दा धेरै खेलाडीहरु परिवर्तन भएका थिए ।

प्रशिक्षकले यमनसँग खेल्ने नेपाली टोली घोषणा गरिसकेका छैनन् । अघिल्लो खेलमा युएई विरुद्ध खेल्ने टोलीमा तीन नयाँ अनुहार समावेश थिए । त्यसमध्ये दुईसहित युएई विरुद्ध तीन खेलाडीले डेब्यू गरे । राष्ट्रिय टिममा भएका अझै ५ खेलाडीले डेब्यू गर्न बाँकी नै छ ।

अहिले नेपाली टोलीमा कप्तान किरणसँगै रोहित चन्द र अन्जन विष्ट सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । किरण र रोहितले दशक भन्दा बढी समय नेपालका लागि खेलिसके भने अन्जनले पनि २०१४ देखि नेपालका लागि खेलिरहेका छन् ।

पछिल्लो समय खेलाडीहरु विदेश पलायन हुने समस्या बढ्दा राष्ट्रिय टिममा अनुभवी खेलाडीहरु कम छन् । अनुभवी खेलाडीहरु हुँदा टिमलाई फाइदा पुग्ने किरणको भनाइ छ ।

‘अरु पनि अनुभवी खेलाडी भए राम्रो हुन्थ्यो । तर वास्तविकता सबैलाई थाहा छ । अब यहाँ भएका मध्येबाट कोचले राम्रो खेलाडी छानेर कसरी राम्रो टिम बनाउन सकिन्छ भनेर लाग्नुभएको छ’, किरणले भने, ‘विकल्प नै धेरै छैन । नयाँ आउने खेलाडीहरुले पनि राम्रो गरिरहेका छन् र उनीहरुलाई पनि समय लाग्छ । तर अलिकति डर पनि छ कि भविष्यमा अनभवी भएका खेलाडीहरु पनि कतै जान्छन् कि भनेर ।’

घरेलु दर्शकको फाइदा

घरेलु समर्थकको अगाडि खेल्नु जहिले पनि फाइदा हुनेछ । त्यसैले दर्शकलाई १२औं खेलाडी पनि भनिन्छ । कप्तान किरणले पनि यमनसँग घरेलु मैदानमा समर्थकको अगाडि खेल्न खेलाडीहरु उत्सहित रहेको बताए ।

‘खेलाडीहरु घरेलु समर्थकको अघि खेल्न एकदमै उत्सहित छन् र मोटिभेट छन्’, किरणले भने, ‘मैले यसअघि पनि भन्दै आएको छ । कि घरेलु मैदानमा खेल्नु मेरो लागि सबैभन्दा उत्कृष्ट क्षण हो ।’

उनले यसअघि लाओस विरुद्धको खेलमा जस्तै यमन विरुद्धको खेलमा पनि धेरै दर्शक आउने अपेक्षा राखेको बताएका छन् । ‘लास्ट टाइम जस्तै घरेलु दर्शकहरुको बाक्लो उपस्थितिको अपेक्षा छ ।’

प्रशिक्षक एनेसले पनि घरेलु मैदानमा समर्थकको माझ खेलको मजा लिने बताए ।

नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ७ बजे सुरु हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्चो अल्बर्टो एनेसको सल्लाह अनुसार अखिल नेपाल फुटबल संघले बेलुका खेलतालिका राखेको हो ।

यसअघि पनि एक पटक गर्मी मौसममा ७ बजे खेल भएको र दोस्रो पटक यो समयमा खेल हुन लागेको प्रतियोगिताको निरद्शक सन्जिव मिश्रले जानकारी दिए ।

एन्फाले राती खेल भएकोले दर्शकहरुका लागि बसको व्यवस्था गरेको छ र त्यसका लागि दर्शकको टिकटको अर्धकट्टी देखाउनुपर्नेछ ।

एन्फा महासचिव किरण राईले सोमबार विज्ञप्ति जारी गर्दै खेलको सबै तयारी पूरा भएको जानकारी गराएका छन् ।

यमनसँगको खेलको लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ ।

खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने पनि एन्फाले जनाएको छ ।

दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ ।

नेपाल र यमनको विगत

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।

एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको थियो ।

त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० ले पराजित भएको थियो । यस्तै सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

अल्बर्टो एनेस किरणकुमार लिम्बु नेपाल भर्सेस यमन विश्वकप छनाेट
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय