४ मंसिर, काठमाडौं । प्रो क्लब च्याम्पियनसिपको दोस्रो संस्करण आगामी डिसेम्बरमा पर्साको वीरगञ्जमा आयोजना हुने भएको छ ।
आयोजक जोरा इन्टरनेशनलले सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप डिसेम्बर २१ देखि ३० सम्म नारायणी क्रिकेट मैदानमा हुने जानकारी गराएको हो ।
दश दिन सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । छिटै सहभागी टोलीको नाम सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ र पर्सा क्रिकेट संघले स्वीकृति दिएको आयोजकले जनाएको छ ।
प्रो क्लब च्याम्पियनसिप क्रिकेटको विकासलाई विकेन्द्रीकरण गर्ने अवसरको रुपमा रहेको आयोजककी स्नेभी चापागाईँले बताएकी छन् ।
प्रतियोगिताका निर्देशक दाउद अन्सारीले प्रो क्लब च्याम्पियनसिप अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने र यसले वीरगञ्जको स्थानीय पर्यटन र व्यावसायिक विकासमा सहयोग गर्ने बताए । साथै उनले क्लब क्रिकेटको कल्चरले राष्ट्रको क्रिकेट विकासमा पनि सघाउ पुग्ने बताए ।
पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिस सिंहले क्रिकेट विकासका लागि प्रो क्लब च्याम्पियनसिप राम्रो मोडल रहेको भन्दै दोस्रो संस्करणलाई सफल बनाउनका लागि पर्सा जिल्ला संघ तयार रहेको बताए ।
च्याम्पियनसिपमार्फत युवाहरुलाई खेलकुदमा आकर्षित गर्न स्थानिय स्तरमा रहेको प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्ने सिंहले बताए ।
अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको स्मृतिमा यसअघि २०२२ मार्चमा प्रो क्लब च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।
प्रतिक्रिया 4