+
+
शान्ति सम्झौताको १७ वर्ष :

हेर्दा शान्त चुनवाङका अनेक छटपटी

मुलुकलाई शान्तिपूर्ण मार्गमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने रुकुमको चुनवाङ बैठक के थियो ? शान्ति फर्किएको १७ वर्षपछि चुनवाङ कस्तो छ ?

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० मंसिर ५ गते २०:२७
रुकुम पूर्वको चुनवाङ गाउँ

५ मंसिर, रुकुमपूर्व । रोल्पाको थवाङबाट रुकुमपूर्वको चुनवाङ पैदल आउन पाँच घण्टा जति लाग्छ । थवाङबाट सशस्त्र युद्धको बाटो रोजेको माओवादीलाई चुनवाङबाट शान्तिको बाटो लिन १० वर्ष लागेको थियो ।

माओवादीको इतिहास लेखिंदा थवाङको इतिहास जति महत्वका साथ लेखिन्छ, चुनवाङको इतिहास पनि त्यत्तिकै वा त्योभन्दा बढी महत्वका साथ लेखिनेछ । किनभने युद्धबाट शान्तिमा आउन माओवादीले असोज २०६२ मा चुनवाङमा १७ दिन लगातार बैठक गरेको थियो । त्यो घटना पनि अब त १७ वर्ष पुगेछ ।

यो संवाददाता चुनवाङका स्थानीयसँग भलाकुसारी गर्दै गरेको बेलामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थवाङ पुगेका थिए । उनले त्यहाँबाट नयाँ किसिमको क्रान्ति गर्ने बाचा पनि गरे । उनी आफूलाई शान्तिको बाटोमा ल्याएर तीन–तीनपल्ट प्रधानमन्त्री बनाउन योगदान दिने चुनवाङ आइनपुगेको भने सात वर्ष भयो ।

हाल तेस्रोपल्ट प्रधानमन्त्री रहेका प्रचण्डले आफू दोस्रोपल्ट प्रधानमन्त्री छँदा बेला २०७३ मा चुनवाङ पुगेर ती पुराना बैठक घर हेरेका थिए, जुन घर र गोठमा भएका सघन छलफलले उनलाई शान्तिमार्गमा हिंडाएका थिए । अझ लावाङमा बाबुराम भट्टराईमाथि भएको पार्टी कारबाही फुकाउन पनि उनले चुनवाङलाई नै मुकाम बनाउनु परेको थियो ।

अचेल प्रचण्डसँग भट्टराई साथमा छैनन् । युद्धकालका साथीहरू मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’ पनि दल छाडेर गइहाले । २०७३ पुस ९ गते चुनवाङ पुग्दा प्रचण्डले धेरैबेर नियालेर हेरेका थिए– आफू बसेको दुईतले घर, त्यहाँबाट कथं भाग्नुपरेमा निस्कन मिल्ने धेरै वटा ढोका भएका कोठाहरूलाई । पत्नी सीता, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी आदिलाई उनले ती कोठाहरू देखाउँदै व्याख्या गरेका थिए ।

चुनबाङमा प्रचण्ड बसेको घर

त्यसयता प्रचण्ड फेरि एकपल्ट प्रधानमन्त्री बनिसकेका छन् । रायमाझी नेपालीलाई नक्कली भुटानी बनाउने खेलका हिस्सेदार भएर जेलमा पुर्पक्षको सजाय भोगिरहेका छन् । बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीमा छन् । बादल एमालेमा छन् । पत्नी सीताको यसै वर्ष असारमा देहान्त भयो । चुनवाङ बैठकताका माओवादीभन्दा बाहिर रहेका नारायणकाजी श्रेष्ठचाहिं प्रचण्डको मन्त्रिपरिषद्मा अहिले गृहमन्त्री छन् ।

माथि नै भनियो, ५ असोज २०६२ देखि २३ असोजसम्म १७ दिनसम्म बसेको चुनवाङले माओवादीलाई मात्रै शान्तिमा ल्याएन, देशलाई नै युद्धको विभीषिकाबाट मुक्त गर्न सफल भयो । सोही वर्ष अर्थात् २०६२ मंसिरमा नयाँदिल्लीमा संसदीय दलहरूसँग भएको १२ बुँदे सहमति माओवादीको त्यही चुनवाङ निर्णयको अर्को कडी थियो ।

अनलाइनखबरको टोलीले गत कात्तिकको अन्तिम साता त्यही चुनवाङ पुगेर इतिहास र वर्तमानको ट्रेल पछ्याउन खोजेको थियो । यादरहोस्, प्रचण्डले सात वर्षअघि उद्घाटन गरेको युद्ध सम्झाउने गुरिल्ला ट्रेल अचेल कम आकर्षणको विषय भएको छ । यद्यपि युद्धकालका घटना सम्झाउने विभिन्न सामग्री भने त्यहाँ हेर्न पाइएकै छ ।

शान्ति सङ्ग्रहालयमा जाने बाटो

द्वन्द्वका बेला माओवादीको एउटा महत्वपूर्ण गढ मानिन्थ्यो चुनवाङ । जनमुक्ति सेनाका तालिमदेखि सबैखाले प्रशिक्षण चुनवाङ केन्द्रित भए । स्थानीय माओवादी नेताहरूका अनुसार त्यो बेला माओवादीका सबैजसो ठूला नेता चुनवाङमै बस्ने गर्थे । त्यहीं बसेर विभिन्न जिल्लामा आक्रमणदेखि अन्य रणनीतिक योजना बनाउँथे ।

चुनवाङको २०६२ कै केन्द्रीय समिति बैठकले ‘दुस्मनको ढाडमा टेकेर टाउकोमा हान्ने’ जस्ता फौजी आक्रमणका रणनीतिहरू बनाएको थियो ।

तत्कालीन विद्रोही पक्षका गतिविधि बढेपछि राज्य पक्षको नजर पनि चुनवाङमा पर्यो । त्यससँगै विभिन्न तनाव सुरु भए । घरबाट सर्वसाधारण मार्ने र बेपत्ता पारिने कार्यहरू भए । यहाँका बासिन्दाहरू राज्य र विद्रोही दुवै पक्षको चपेटामा परे । युद्धकै क्रममा चुनवाङमा ठूला घटनाक्रम भए । द्वन्द्वकालभरि चुनवाङबाट मात्रै विद्रोही पक्षका ३० र राज्य पक्षका ४ जना गरी ३४ जना मारिए भने १०० बढी अंगभंग र घाइते भए ।

२०६२ असोजमा तत्कालीन विद्रोही पार्टी माओवादीका प्रमुख नेता प्रचण्ड सहित बाबुराम भट्टराई, कृष्णबहादुर महरा, रामबहादुर थापा ‘बादल’ लगायत माओवादीका शीर्ष नेताहरूको केन्द्रीय कमिटीको बैठक चुनवाङमा बस्दै थियो ।

पार्टीका प्रमुख नेता आउने भएपछि २०६२ को असोजमा अगाडि नै बैठकको तयारी सुरु भइसकेको थियो । त्यसमा प्रमुख चुनौती थियो, सुरक्षा व्यवस्था । युद्धका कमाण्डर प्रचण्ड आउने भएपछि सुरक्षा व्यवस्थामा एकदमै कडाइ गरियो । त्यो बैठक व्यवस्थापनको जिम्मा पाए, स्थानीय माओवादी नेता दयाल सिंह पुन (चट्याङ) ले ।

उनका अनुसार नेताहरूको सुरक्षाका लागि बाहिरी र भित्री तीन वटा घेराले सुरक्षा व्यवस्था कडाइ गरिएको थियो । ‘रोल्पा, बाग्लुङ, रुकुमपश्चिमका क्षेत्रमा माओवादी सेनाको पहिलो घेरा बनाइयो’ उनी भन्छन्, ‘त्यसपछि चुनवाङका डाँडा र प्रचण्ड बस्ने घरमा माओवादी सेनाको अर्काे घेरा राखियो ।’

स्थानीय माओवादी नेता दयाल सिंह पुन (चट्याङ)

प्रचण्डलाई भेरीडाँडाको स्थानीय घरमा बाहिरबाट तारजाली र घेराहाली राखिएको थियो । ‘प्रचण्डलाई जो–कोहीलाई भेट्न अनुमति थिएन’ उनले भने, ‘बैठक व्यवस्थापनको जिम्मा पाएकाले रुकुमबाट म र रोल्पाबाट एक जना नेतालाई मात्र भित्र जाने अनुमति पाएका थियौं ।’ सुरक्षा संवेदनशीलताको ख्याल गर्दै त्यो बेला पार्टीको बैठक बस्ने कुरा केही नेता कार्यकर्ता बाहेक स्थानीयलाई समेत जानकारी दिइएको थिएन ।

कडा सुरक्षा व्यवस्थाका बीच असोजमा भेरीडाँडाको गाउँकै स्थानीयको गोठमा माओवादीको केन्द्रीय कमिटीको बैठक बस्यो । बैठक यस्तो समयमा बस्दै थियो, जतिबेला बाबुराम कारबाहीमा थिए । बैठकभन्दा ठिक अघिसम्म उनलाई छिमेकका बस्तीमा आफ्नै जनमुक्ति सेनाहरूले नै घेरा हालेर राखेको अवस्था थियो । ‘द्वन्द्व जति–जति उत्कर्षमा पुग्दैथियो, त्यति नै पार्टीभित्र पनि एकखालको अन्तरद्वन्द्व सुरु भइसकेको थियो’ उनले भने, ‘चुनवाङ बैठकसम्म आइपुग्दा कार्यकर्ता तहमै प्रचण्ड पक्ष र बाबुराम पक्षको भनेर टुटफुटको मानसिकता देखिन्थ्यो ।’

चुनवाङ बैठकमै पार्टीको सांस्कृतिक परिवारले नृत्य, गायन र अभिनय सहितको सांस्कृतिक कार्यक्रम राखेको थियो । माओवादी नेता प्रचण्ड, बाबुराम, कृष्णबहादुर महरा, रामबहादुर थापा, नन्दकिशोर पुन जस्ता शीर्ष नेताहरू सहभागी थिए । कर्ण परियार ‘विद्रोही’ सहितको सांस्कृतिक टोलीले ‘टुटफुट र खण्डित कुरा नगर’ गीत गाए । उनकै स्वरमा श्रीमान् गुमाएकी दिलमाया रोकाको गीति अभिनय देखाइयो । पिठ्युँमा बच्चा बोकेर दिएको उनको प्रस्तुति एकदमै मार्मिक थियो । त्यस दिन त्यहाँ देखाइएको सांस्कृतिक प्रस्तुतिहरू पार्टीमा देखिएको आन्तरिक मतभेद, वैचारिक द्वन्द्व र लडाकु कार्यकर्तामा देखिएको भाव झल्काउने खालको थियो ।

‘त्यसपछि माहोल एकाएक भावुक बन्यो । प्रचण्ड, बाबुराम, कृष्णबहादुर महराका आँखाबाट आँसु बगे’ उनले त्यो दिन सम्झँदै भने, ‘प्रचण्ड र बाबुराम भट्टराई धेरैपछिसम्म पनि आँखा बन्द गरेर रोइरहे । त्यो दिन नरुने नेता, कार्यकर्ता कोही थिएनन् ।’

चुनवाङमा माओवादी शीर्ष नेताहरूले करिब १७ दिन बिताए । पार्टी बैठक भेरीडाँडाकै एउटा गोठमा बसेको थियो । बैठकमा नेताहरूले आत्मसमीक्षा गर्दै आफैं रोए’ प्रत्यक्षदर्शी रहेका माओवादी नेता पुन भन्छन्, ‘त्यो बेला प्रचण्ड, रामबहादुर, बाबुराम लगायत शीर्ष नेताहरू सबै रोएका थिए ।’

लगातार १७ दिन चलेको केन्द्रीय कमिटीको बैठकले नै प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रमा जाने र कांग्रेस, एमाले लगायत दलसँग सहकार्य गर्ने निष्कर्ष निकाल्यो । त्यही निर्णयमा टेकेर २०६३ मंसिर ५ गते १२ बुँदे शान्ति सम्झौता भयो । माओवादीको चुनवाङ बैठक युद्ध अन्त्य गर्ने एउटा कोसेढुंगा बन्यो । त्यही बैठकपछि त हो, प्रचण्डले पहिलो पटक जनतासमक्ष सार्वजनिक सम्बोधन गरेको । त्यसअघि प्रचण्डलाई देख्ने कमै मान्छे थिए । उनका सीमित नेता र कार्यकर्ता बाहेक अरूले देखेका थिएनन् ।

युद्धकालमा चुनबाङमा आफू बसेको घरमा प्रधानमन्त्री प्रचण्ड । फाइल फोटो/प्रधानमन्त्रीको सचिवालय

तत्कालीन रुकुमको चुनवाङ गाविस हाल रुकुमपूर्वको भूमे गाउँपालिका–९ मा पर्छ । द्वन्द्वका क्रममा निकै मार खेपेको चुनवाङ शान्ति सम्झौता यता शान्त छ । कुनै समय बन्दुक र गोला बारुदको गन्ध आउने चुनवाङमा त्यसयता यहाँ कुनै हिंसात्मक घटना भएका छैनन् ।

मुलुकलाई नै शान्ति प्रक्रियाको मार्गमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको चुनवाङ अहिले उपेक्षामा राखेकोमा चुनवाङवासीका गुनासै गुनासा छन् । चुनवाङलाई माओवादीले पनि उपेक्षा गरेको उनीहरू बताउँछन् ।

‘यहाँ विकास पनि सुस्त छ’ स्थानीय कर्णबहादुर वली भन्छन्, ‘चुनवाङवासीको द्वन्द्वको घाउ मेटाउन कसैले केही काम गरेनन् ।’

उनका अनुसार द्वन्द्वका बेला यहाँ यातना नपाएको कोही छैन । हरेक जसो घरबाट कोही न कोहीले परिवार र आफन्त गुमाएका छन् । घाइते, अपांग भएका छन् । ‘चुनवाङमा द्वन्द्वपीडितको घाउ अझै पनि आलै छ’ उनले भने, ‘पीडितको घाउ बिर्साउन लायक कुनै नमूना काम भएको छैन ।’ कतिसम्म भने चुनवाङबाटै द्वन्द्वका बेला बेपत्ता पारिएका पाँच जना परिवारले अहिलेसम्म राहत समेत पाएका छैनन् ।

चुनवाङ भेरीडाँडाकै शशिकला डाँगी पनि द्वन्द्वमा धेरै चपेटामा परे पनि आफूहरूले विकास नपाएको बताउँछिन् । ‘द्वन्द्वमा हामीले त्यत्रो दुःख झेल्यौं’ उनले भनिन्, ‘अब त विकास होला भन्यो, केही भएन । नेताहरूले हामीलाई प्रयोग मात्र गरे ।’

चुनवाङ भेरीडाँडाकी शशिकला डाँगी

द्वन्द्वकालकै बेला चुनवाङकै मनकुमारी रोकाका १५ वर्षे छोरा पूर्णबहादुर रोका बेपत्ता पारिए । छोरो बेपत्ता पारिएदेखि उनको मन शान्त छैन । अरू त अरू राज्यले समेत उनको छोरालाई बेपत्ताको सूचीमा राखेन । ‘युद्धले छोरो त खायो, खायो’ उनले भनिन्, ‘छोरालाई राज्यले पनि बेपत्ताको सूचीमै राख्न मानेन ।’ छोरालाई बेपत्ताको सूचीमा नराखेकाले उनले राहत पनि पाइनन् । राज्यले गरेको अन्यायपूर्ण व्यवहार सम्झेर अहिले पनि उनका आँखामा आँसु रोकिंदैन ।

चुनवाङले द्वन्द्वकालका बेला चुकाउनु परेको मूल्य अनुसार विकास नपाएको भुमेगाउँपालिका–९ चुनवाङका वडाध्यक्ष विनोद बुढा बताउँछन् । ‘युद्धपछि यहाँ बाटोघाटो पुगेको छ । केही विकास पक्कै भएको छ’ उनले भने, ‘तर चुनवाङले जति पाउनुपर्ने हो, त्यति पाएको छैन ।’ उनका अनुसार चुनवाङसम्म कच्ची बाटो पुगे पनि बर्खामा पहिरोले सडक अवरुद्ध हुन्छ । केही वर्षअघि मात्र त्यहाँ मोबाइल चल्ने टावरसम्म पुगेको छ । पानीको स्रोत प्रशस्त हुँदाहुँदै पनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन ।

अमेरिका छिर्ने लहर

द्वन्द्वपछि रुकुममा सुरु भएको अमेरिका जाने लहर चुनवाङसम्म छिरेको छ । यहाँका अधिकांश युवा एजेन्टलाई मोटो रकम बुझाएर अवैध बाटोबाट अमेरिका हिंडेका छन् ।

चुनवाङकै वडा सदस्य हुन्, गणबहादुर पुन । केही वर्षअघि दलाललाई मोटो रकम बुझाएर उनका दुई छोरा अमेरिका छिरेका छन् । दाइहरू गएको देखेर उनका कान्छा छोरा पनि अहिले बाटोमै छन् ।

‘गाउँमा रोजगारी छैन, आयआर्जनको गतिलो बाटो छैन । गाउँमा अमेरिका जाने लहर चलेपछि सबै युवा त्यतै लागेका छन्’ वडा सदस्य पुन भन्छन्, ‘नगएकाहरू पनि ढिलोचाँडो अवैध बाटोबाट अमेरिका जाने तयारीमा छन् ।’ गाउँमा अमेरिका जाने क्रम यति चर्काे छ कि गाउँमा युवाहरू भेटिनै मुश्किल परेको सुनाउँछन् उनी । यो क्रम नरोकिए गाउँ नै खाली हुने उनी सुनाउँछन् । भन्छन्, ‘हिजो अमेरिका साम्राज्यवादी भनेर आफैं लड्न हिंडे, आज उनकै सन्तान अमेरिका जान मरिहत्ते गरिरहेका छन् ।’

गुमनाम युद्ध संग्रहालय

चुनवाङ बैठकका दौरान प्रचण्ड बसेको घरलाई तारजाली लगाएर युद्ध संग्रहालय बनाइएको छ । त्यही युद्ध लड्नका लागि उनका लडाकुले प्रयोग गरेका बन्दुकका केही डमीहरू छन् ।

युद्ध संग्रालयमा राखिएका राइफलका डमीहरु

युद्धलाई शान्ति मार्गमा ल्याउने महत्वपूर्ण निर्णय गरिएको ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन उक्त घरलाई संरक्षण गरिएको छ ।

गौरीबजारदेखि भेरीडाँडासम्म पुग्न सिंढीहरू निर्माण गरिएको छ । भेरीडाँडामा रहेको युद्ध संग्रहालयका नाममा करोडौं खर्चिएको छ । तर त्यसको उपलब्धि भने खासै देखिंदैन । युद्ध सम्बन्धी अध्ययन केन्द्र र पर्यटनसँग जोड्न भनेर संग्रहालय बनाइए पनि त्यहाँसम्म पर्यटकहरू पुग्न सकेका छैनन् ।

वडाध्यक्ष पुन ऐतिहासिक ठाउँ चुनवाङलाई विकास गर्ने इच्छाशक्ति माओवादी र सरकार दुवैसँग नभएको बताउँछन् । ‘चुनवाङलाई विकास गर्न प्रशस्त सम्भावना हुँदाहुँदै पनि भने अनुसारको विकास हुनसकेको छैन’ उनले भने, ‘यसमा माओवादी नेताहरूको चासोको विषय बनेन र सरकार पनि चुनवाङको विकास गर्नुपर्छ भन्नेमा गम्भीर देखिंदैन ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?