
५ मंसिर, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन् । उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पुर्याउनुपर्ने पनि स्पष्ट पारे ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुंगोमा पुर्याउन चाहेको बताए ।
उनले भने, ‘संक्रमणकालीन न्याय भनेको तपाईंहरुलाई चाहिएको हो । ती बेपत्ताका परिवारलाई चाहिएको हो, जसले हरेक साँझ बाहिर आफन्त आयो कि भनेर चियाएर हेर्नुपर्नै अवस्था छ । र, निराश भएर फर्कनुपर्छ । उहाँहरुलाई चाहिएको हो ।यसमा हामी एकदमै लागि रहेका छौं । हाम्रो पार्टीको पूर्ण प्रतिबद्धता छ । यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ पनि छैन । यसमा कुनै शर्त पनि छैन ।’
उपमहासचिव ज्ञवालीले मानवअधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडितको सहमति र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाइ गर्न नहुने पनि दोहोर्याए ।
उनले भने, ‘दण्डहीनता हुन्न । र, यो द्वन्द्व फेरि दोहोरिन्न भन्ने प्रत्याभूति सहित यो विषयलाई टुंग्याउनुपर्छ । र, सबभन्दा ठूलो कुरा त पीडितले न्याय पायौं भन्ने अनुभूति हुनुपर्छ । संक्रमणकालीन न्याय टुंगियोस्, तपाईंहरुको आँखामा रहेको आँशु पुछियोस् । तपाईंहरुमा थोरै भए पनि सन्तुष्टिको मुस्कान आउनसकोस्, हामीलाई त्यही चाहिएको हो । हामीलाई प्रधानमन्त्री चाहिएन । तर न्याय चाहियो पीडितलाई । ‘
उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउँदा दण्डहीनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभूति हुनुपर्ने बताए ।
प्रतिक्रिया 4