
काठमाडौं । खासमा भन्ने हो भने नेवारी परिकारहरु माछा-मासु बिना अपूरै हुन्छन् । नेवारी परिकार र मासु एकअर्काका परिपूरकजस्तै हुन् । जाडोयाममा मासुबाट बनाइने एक परिकार हो सन्याखुन्या ।
राँगाको खुट्टाको मासुबाट बनाइने यो परिकारमा स्वादको लागि माछाको सिद्रा राखिने भएकाले सन्याखुन्या भनिएको हो । नेपाल भाषामा सिद्रालाई सङ्गा भनिन्छ ।
संस्कृतिविद् ओम धौभडेल यो परिकार बनाउन मासुको बाक्लो झोल आवश्यक पर्छ । यसो नहुने भएकाले राँगाको खुट्टाबाट यो मासुको परिकार बनाइन्छ । जाडोयाममा नेवार समुदायमा धेरैजसो प्रत्येक घरघरमा सन्याखुन्या बनाइन्छ ।
जाडो महिनामा हुने विवाह, ब्रतबन्ध, बेलविवाह लगायत भोजमा अनिवार्य हुन्छ सन्याखुन्या । जाडोयाममा लामो समय खान मिल्ने र जाडोका कारण जम्ने भएकाले यसबेला यो परिकार बनाइने हुन्छ ।
सन्याखुन्या बनाउन चाहिने साम्रग्री
राँगाको खुट्टा, माछाको सिद्रा, कराही, डेक्ची वा प्रेसर कुकर, तोरीको तेल, तेजपात, पिरो खुर्सानी, लसुन, अदुवा, जीरा, गरम मसला, ज्यामिर, हिंग, नुन । तयार भएपछि राख्नका लागि माटोको भाँडो वा प्लास्टिकको भाँडा चाहिन्छ ।
बनाउने तरिका
सुरुमा राँगाको खुट्टालाई चुलोमा राम्ररी पोलेर फाल्ने, त्यसपछि राम्ररी पखालेर मासुलाई टुक्राटुक्रा पार्ने, त्यसलाई डेक्ची वा पे्रसर कुकरमा पानी, मासु, तेजपत्ता र थोरै तेल हालेर उसिन्ने ।
प्रेसर कुकरमा १५ देखि २० सिट्ठी लगाउनुपर्छ । डेक्चीमा भए करिब एक घण्टा उसिन्नुपर्छ । त्यसपछि त्यसलाई एउटा भाँडामा निकालेर हड्डी र मासु छुट्याउने गर्नुपर्छ । डेक्चीमा उसिनेको भए त्यसमा छुट्याइसकेको मासुलाई राख्ने र त्यसपछि कराहीमा तेल राखेर तताउनुपर्छ ।
त्यसमा पिसेको अदुवा, लसुन, पिरो खुर्सानी, बेसार, जिरा, गरम मसला, नुन हालेर मज्जाले चलाउने, स्वाद र अमिलोको लागि ज्यामिर वा निबुवाको प्रयोग गर्न सकिन्छ ।
डेक्चीमा भए त्यसलाई उमाल्ने चलाउने गरिरहने, मासु निकालेर हडी र मासु छुट्याउने । आवश्यकता अनुसार तातो पानी हाल्ने र त्यसपछि पिसेको अदुवा, जिरा नुन हाल्ने अनि उमाल्ने । त्यसपछि आवश्यकता अनुसार पानी हाल्ने, छुट्याएको मासु राखेर राम्ररी उमाल्नुपर्छ ।
यसरी उमाल्दा पानी कम भएमा चिसो पानी थप्नु हुँदैन, तातो पानी थप्नुपर्छ । चिसो पानी थपेमा सन्याखुन्या नजम्न सक्छ । उमाल्दा बीचबीचमा चलाइराख्नुपर्छ ताकि मसला वा मासु नडढोस् । एक-डेढ घण्टा जति उमालेपछि मासुको झोल लेदो खालको नभएसम्म उमालेपछि सन्याखुन्या तयार हुन्छ ।
त्यसपछि मासु झोललाई छुट्याउने, छुट्याएको झोललाई माटो वा प्लास्टिकको भाँडामा राख्ने, तेलमा तारेर राखेको सिद्रालाई स-साना टुक्रा पारेर त्यसमाथि हाल्ने, रातो खुर्सानी राखेर कसैले नचलाउने ठाउँमा चार-पाँच घण्टा छाड्ने । जब जम्छ त्यसपछि खान तयार हुन्छ ।
आजभोलि भने चाँडै तयार गर्न डीप फ्रिजमा राखिन्छ । यसमा एक डेढ घण्टामा नै जम्छ । राम्ररी जमेको सन्याखुन्या घोप्टो पार्दा वा हल्लाउँदा पनि पोखिंदैन ।
पहिला जाडोयाममा शरीरलाई तातो बनाउन सन्याखुन्या खाने चलन गरेको बताइन्छ । मरमसला र खुर्सानी धेरै हालेर पिरो बनाइने भएकाले यो चिउरा र खानासँग खाँदा पसिना नै आउँछ । अहिले प्लास्टिकको भाँडामा राख्ने गरिए पनि पहिले माटोको भाँडामा नै राखेर जमाउने गरिन्थ्यो ।
प्रतिक्रिया 4