
६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको महाशाखाले डिएसपी पन्थीलाई गत कात्तिक महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।
पन्थीले महाशाखामा पिलर ८ को जिम्मेवारी सम्हाल्दै आएका छन् । उक्त पिलरले वैदेशिक रोजगारीमा हुने ठगी सम्बन्धी अपराधहरुको अनुसन्धान गर्ने गरेको छ ।
पछिल्लो पटक पन्थी नेतृत्वको टोलीले भिजिट भिसामा विदेश जाने क्रममा शंकास्पद कागजपत्रको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका व्यक्तिहरुका लागि नक्कली कागजात बनाइदिने गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
उक्त गिरोहबाट ठूलो मात्रामा नक्कली सर्टिफिकेट, प्रहरी रिपोर्ट तथा विभिन्न सरकारी छाप लगायतका कागजात समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया 4