+
+

आर्थिक र शैक्षिक स्तरको आधारमा आरक्षण मापदण्ड तोक्न समावेशी आयोगलाई उपेन्द्रको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:४४

६ मांसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरको आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नु पर्ने सुझाव दिएका छन् ।

देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै उनले हालको मापदण्डलाई परिमार्जन गर्नु पर्ने बताएका हुन् ।

काठमाडौंको पुल्चोकस्थित बुधबार राष्ट्रिय समावेशी आयोगको छलफलमा जसपा अध्यक्ष यादवले भने, ‘हामीले संघर्ष गरेर समाजको जुन वर्ग, समुदाय र व्यक्तिका लागि समावेशी, समानुपातिक र आरक्षण जस्ता प्रावधान ल्यायौं, पिँधमा पारिएका तिनै ब्यक्ति यी सुविधाबाट बञ्चित छन् ।’

समावेशी आयोगले पिछडावर्गको नयाँ परिभाषा र मापदण्ड तय गर्न सुझाव संकलनका लागि जसपा अध्यक्ष यादवसँग छलफल गरेको हो ।

पछाडि पारिएका सीमान्तकृत वर्ग भित्रकै हुनेखाने चतुर व्यक्तिले आरक्षणको दुरुपयोग गर्दै आएको अध्यक्ष यादवले टिप्पणी गरे । काठमाडौंमा घर भएका, व्यापार व्यवसायमा जमेका, आर्थिक एवं शैक्षिक रुपले बलियो भएका व्यक्ति नै सबैभन्दा बढी आरक्षणको दुरुपयोग गरेको उनले बताए ।

‘पिछडा वर्गभित्रका आर्थिक, शैक्षिक र राजनैतिक रुपले सक्षम भएका जुनसुकै जाति वा व्यक्तिलाई आरक्षणको सुविधा दिनुहुन्न’, पिछडावर्गको नयाँ मापदण्ड तोक्ने सवालमा आयोगलाई सुझाव दिँदै अध्यक्ष यादवले भने, ‘जाति वा वर्ग होइन, गरिबी र शैक्षिक स्तरको आधारमा आरक्षणको सुविधा दिनुपर्छ ।’

भाषा, धर्म र जातिलाई आधार मानेर अल्पसंख्यकको परिभाषा र मापदण्ड तोक्नु पर्ने उनको भनाइ छ ।

गरिबीको रेखामुनि रहेका बहुसंख्यक जनता राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परेको भन्दै अध्यक्ष यादवले भने, ‘जनसंख्यालाई आधार मानेर अल्पसंख्यकको सुविधा दिनु गलत हो । ऊ संख्याको हिसाबले अल्पसंख्यक हुनसक्छ, तर आर्थिक र शैक्षिक रुपले त्यो वर्ग बलियो छ भने उसलाई पिछडावर्गले पाउने सुविधा दिनहुन्न । बरु उसलाई जातिय अल्पसंख्यक कोटामा राख्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?