+
+

दुग्धजन्य पदार्थ बिक्रीमा मन्दी, किसानको बक्यौता ५ अर्ब नाघ्यो

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० मंसिर ७ गते १८:४४

७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–५ का राजकुमार वाइवाले बुधबार छोरीको बिहेमा मासुको परिकार घटाएर पनिर राखे । यस्तै, चिसो पेयपदार्थ र बियरको सट्टामा दही र मोहीको व्यवस्था गरे ।

तामाङ संस्कार अनुसार बिहेको भोजमा मदिरा र मासु धेरै चाहिन्छ । तर राजकुमारका अनुसार उनको छोरीको बिवाहमा २ सय लिटर दही, ४० लिटर दूध र मोही र १० किलो हाराहारी पनिर खपत भयो ।

‘म आफैं पनि दुग्ध किसान हुँ, किसानको उत्पादन नबिकेर हामी आफैं हैरान भएका छौं । तर, बजारका आयातित वस्तुले हाम्रो संस्कारलाई छोप्यो’, वाइबा भन्छन्, ‘यस पटक मैले मेरो संस्कारमाथि बिद्रोह गरें । नेपाली उत्पादनको खपत बढाउने किसानहरुको अभियानमा पनि जोडिएँ ।’

उनी अगाडि भन्छन्, ‘तामाङ संस्कारमा जाँड रक्सी बिनाको संस्कार चल्दैन भन्थे तर यस्तो हुनुहुन्न भनेर मैले नयाँ सुरुवात गरेँ ।’

बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष र नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका कोषाध्यक्षसमेत रहेका वाइवाका अनुसार किसानहरु दूध नबिकेर हैरान छन् ।

नेपाली किसानको उत्पादन बिक्री नहुने अवस्था आउन नदिन एसोसिएसनले थालेको अभियानमा आफूले साथ दिएको वाइवाले बताए ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले गत महिना आफ्नी भाञ्जीको बिहेभोजमा दूध, दही, पनिर र मोहीको मात्रै प्रयोग गरे ।

बिहेभोजमा सहभागीहरू मोही पिउँदै ।

दूध र दुग्धजन्य उत्पादन नबिकेर फ्याँक्नुपर्ने अवस्था आएपछि खपत बढाउने अभियान थालेको दाहालको भनाइ छ ।

‘अब पनि हामीले दूध, दही, मोही र पनिरको प्रयोग हाम्रो संस्कारमा बढाएनौं भने किसानले यी वस्तु बाटोमा फ्याँक्ने अवस्था बन्दैछ’, दाहाल भन्छन्, ‘हामीले अभियान सुरु गरेका छौं । अब किसान बचाउन पनि आम सहयोगको खाँचो छ ।’

एसोसिएसनका अनुसार यही अभियान अन्र्तगत दरबारमार्गको ओरेन्टल क्याफेमा हरेक शनिबार सित्तैमा मोही खाने कार्यक्रम राखिएको छ । यस्तै, बुढानीलकण्ठ नगरपालिका कार्यालय परिसरमा पनि हरेक शनिबार मोही र दहीको प्रयोग गर्न सुरु गरिएको छ ।

हरेक सार्वजनिक कार्यालय र पारिवारिक तथा सांस्कृतिक कार्यक्रममा बजारको चिसो पेय पदार्थको सट्टामा दुग्धजन्य पदार्थ प्रयोग गर्न एसोसिएसनले अभियान चलाइरहेको छ ।

हिजोआज देशभरमा गरी दैनिक २४ लाख लिटर दूध उत्पादन भइरहेको अनौपचारिक तथ्यांक छ । तर दुग्ध पदार्थ नबिकेको भन्दै दुग्ध संकलक सहकारी र डेरीहरुले ३ महिनादेखि किसानलाई दूधको पैसा दिएका छैनन् । जबकि पहिले किसानले महिनामा दुई पटक भुक्तानी पाउँदै आएका थिए ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले किसानलाई तिनुपर्ने रकम नै एक अर्ब रुपैयाँ भन्दा बढी छ भने निजी डेरीले किसानलाई तिर्नुपर्ने रकम साढे ३ अर्ब रुपैयाँ हाराहारी रहेको किसानहरु बताउँछन् ।

किसानको ५ अर्ब भुक्तानी बाँकी

दुग्ध पदार्थ नबिकेको भन्दै डेरीहरुले अहिले किसानको भुक्तानी रोकेका छन् । यसरी रोकिएको भुक्तानी करिब ५ अर्ब रुपैयाँ बराबर भएको किसानहरुको दाबी छ । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुवँरकाअनुसार दूध किसानको भुक्तानी समस्या अहिले देशभर छ ।

सहकारीबाट उठेको दूधको खपत नभएको भन्दै सरकारी तथा निजी डेरीहरूले समयमै रकम भुक्तानी नगर्दा किसानको करिब ५ अर्ब रुपैयाँ उधारो बाँकी रहेको संघले जनाएको छ ।

नेपाल दुग्ध विकास बोर्डका प्रवक्ता बालक चौधरीका अनुसार वैशाखदेखि सुरु भएको दूधको समस्या जटिल बन्दै गएको छ । करिब ५ अर्ब रुपैयाँ किसानले भुक्तानी पाउन बाँकी रहेको अपुष्ट सूचना बोर्डमा आएको उनले बताए ।

नेपाल डेरी एसोसिएसनले भने दैनिक ७ लाख लिटरका दरले संकलन हुने दूधको एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ बराबरको वक्यौता बाँकी रहेको बताएको छ । ‘करिब डेढ अर्ब रुपैयाँ बक्यौता बाँकी छ’, उनले दाबी गरे, ‘त्यो भनेको एक महिनाको दूधको पैसा हो ।’

९ अर्बको दुग्ध पदार्थ बिकेनन्

दूधको उत्पादन बढिरहेको तर खपतमा गिरावट आएको बिक्रेताहरु बताउँछन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीहरुले समेत दुग्ध पदार्थ बिक्री नभएका कारण किसानको पैसा दिन नसकिएको बताएका छन् ।

किसानसँग संकलन गरिएको दूधबाट पाउडर दूध, बटर, पनिर र घिउ बनाएर राखिएको भए पनि ती वस्तु बिक्री गर्न नसकिएको दुग्ध विकास संस्थान (डीडीसी) ले जनाएको छ ।

दुग्ध विकास संस्थान र निजी डेरीसँग गरेर करिब ९ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात भएको दाबी गरिएको छ ।

काठमाडौं, विराटनगर, चितवन सबैतिरको भण्डारण दुग्ध पदार्थले भरिएको संस्थानका महाप्रबन्धक सञ्जीव झाले अनलाइनखबरलाई बताए । ६० करोड रुपैयाँ भन्दा बढीको सामान थन्क्याउनुपरेको र दैनिक ३५ देखि ४० हजार लिटर दूध कन्भर्जनका लागि पठाउनु परेको उनको भनाइ छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले पनि सकेसम्म दूधजन्य पदार्थ बिक्री गर्नबाट किसान बञ्चित नहोउन् भनेर काम गरिरहेको बताए ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पनि एक अपिल जारी गर्दै दुग्ध पदार्थको खपत बढाउन आग्रह गरेको छ । किसानको उत्पादन खरिद गर्न नरोकिने गरी संस्थानले काम गरिरहेको भन्दै खपत बढाउन मूल्य घटाइएको पनि डीडीसीको दाबी छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?