७ मंसिर, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट एनएसईएमको आयोजनामा भएको पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलको उपाधि विजेता हो काठमाडौं रेजर्स ।
काठमाडौंको घरेलु टोली जस्तै बनेको रेजर्सले २०७८ सालमा भएको पहिलो संस्करण जित्दै इतिहास बनाएको थियो ।
दोस्रो संस्करणमा पनि च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने काठमाडौंको एक मात्र लक्ष्य छ । त्यसका लागि टोली सबै हिसावले तयार छ ।
‘एनएसएल हुने नहुने टुंगो थिएन । ढिलै भए पनि फेरि एनएसएल हुन लागेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो,’ काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘विदेशी खेलाडीको संख्या पनि बढेको छ । उत्साहित छौं ।’
पहिलो संस्करणमा काठमाडौँलाई च्याम्पियन बनानएका बालगोपाल नै यस पटक निरन्तर छन् ।
कप्तान भने फेरिएको छ । यसपटक फरवार्ड हिसुब थपलिया मार्की प्लेअर थिए र कप्तान छन् । पहिलो पटक एनएसएल खेल्न लागेका उनी उत्साहित छन् । ‘पक्कै पनि म उत्साहित छु नै एनएसएल हुन लागेको छ । यो खेलाडीको लागि राम्रो प्लेटफर्म हो र नयाँ अनुभव पनि हुन्छ । विदेशी खेलाडीहरु पनि राम्रा छन्,’ हिसुबले भने ।
मार्की र पहिलो रोजाईँमा खेल्ने खेलाडी भएकोले हिसुब नै कप्तानको उपयुक्त विकल्प भएको काठमाडौं रेजर्सका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।
पहिलो संस्करण भएको दुई वर्ष भन्दा बढी समयपछि एनएसएल हुँदैछ । आयोजकले एनएसएलले फुटबलको विकासमा सहयोग गर्ने र माहोल फर्काउने दाबी गरेको छ ।
प्रशिक्षक बालगोपाल पनि एनएसएल जस्तो लिग बर्सेती हुनुपर्ने बताउँछन् । ‘एनएसएल प्रत्येक वर्ष हुनुपर्छ । त्यो पनि ३ महिनाको । अझ सके होम एण्ड अवेमा गर्नुपर्छ । एनएसएलसहित लिग ४ महिना र मोफसल २ महिना भयो भने खेलाडी बाहिर जानुपर्दैन ।’
तयारी
काठमाडौं रेजर्सले प्रतियोगिताअघि दुई मैत्रीपूर्ण खेल खेलेको थियो । राष्ट्रिय टिमसँग खेलेको मैत्रीपूर्ण खेल १-१ को बराबरी भएको थियो भने वीरगञ्ज युनाइटेडलाई ३-२ ले पराजित गरेको थियो ।
कप्तान हिसुब सहित केही खेलाडी राष्ट्रिय टिमसँग रहँदा पनि प्रि सिजनमा काठमाडौंले राम्रो गरेको छ ।
त्यसैले प्रशिक्षक बालगोपाल राम्रो तयारी भएको मान्छन् । ‘छोटो समयको तयारी भए पनि हामीले राम्रोसँग तयारी गरेका छौं । मैत्रीपूर्ण खेलहरु पनि राम्रो भयो ।’
काठमाडौंमा राष्ट्रिय खेलाडीसहित प्रशिक्षण गरेको दुई दिन भयो । विदेशी खेलाडीहरु पनि चाँडै घुलमिल भएकोले प्रशिक्षणमा राम्रो भएको बालगोपालले बताए ।
मार्की हिसुबले राष्ट्रिय ड्युटी सकाएर आएपछि टिमसँग दुई दिन प्रशिक्षण गरे । ‘म दुई दिन मात्र भयो टिमसँग जोडिएको । हाम्रो पूरा टिम प्रशिक्षण भयो । राष्ट्रिय टिममा थिएँ । दुई मैत्रीपूर्ण खेल भयो । एउटा जित र बराबरी । तयारी राम्रो छ,’ हिसुबले भने ।
काठमाडौंको टिममा मार्कीसहित राष्ट्रिय टिमका ३ जना खेलाडी छन् । यस्तै क्यामरुनका ३ र उज्वेकिस्तानका दुई गरी ५ विदेशी छन् । ट्यालेन्ट हन्टबाट पनि दुई खेलाडी काठमाडौंमा जोडिएका छन् ।
उपाधि रक्षा गर्ने लक्ष्य
साविक विजेता भएकोले टिमलाई उपाधि रक्षा गर्नका लागि स्वभाविक दबाब हुन्छ । मुख्य प्रशिक्षक बालगोपाल पनि यसलाई स्वीकार गर्छन् । त्यसैले यस सिजन पनि च्याम्पियन नै बन्ने उसको लक्ष्य छ । उनी भन्छन्, ‘पहिलो सिजन जितेर एउटा तारा राख्यौँ अब त्यसमा अर्को तारा थप्ने लक्ष्य छ ।’
काठमाडौलाई उपाधि रक्षा गर्ने सहज भने छैन र यसमा प्रशिक्षक पनि जानकारी छन् । पहिलो संस्करणमा ७ टिम रहेकोमा अहिले ९ टिम छन् ।
तीन नयाँ टिम थपिएकोले प्रतिस्पर्धा बढ्ने उनको अनुमान छ । तर त्यसका लागि आफूहरु तयार रहेको उनले बताए । ‘३ टिम थपिएको छ । साविक विजेता टिममा रहेको सबै खेलाडी पाएनौं । तर नयाँ टिम भए पनि टिम राम्रो बनेको छ र राम्रो प्रदर्शन गर्नेमा ढुक्क छौं ।’
मार्की हिसुबले पनि च्याम्पियनको शैली अनुसार खेल्ने बताए । ‘हाम्रो योङ टिम छ । चुनौती त छ । तर साविक विजेता भएकोले ट्रफी जित्ने नै मुख्य टार्गेट हो’, हिसुबले भने ।
उनले पहिले भन्दा यो टिम अझ बलियो भएको बताए । ‘मलाई पहिला भन्दा यो टिम अझै बलियो छ भन्ने लाग्छ,’ हिसुबले भने, ‘अहिले ५ विदेशी खेलाडीहरु छन् । उनीहरु आएपछि टिम अझ राम्रो भएको छ । विदेशी पनि चाँडै घुलमिल हुने खालका छन् । टिम वर्क पनि राम्रो छ ।’
प्रशिक्षक बालगोपालले केही प्राविधिक चुनौती पनि हुने बताए । ‘थोरै समयमा धेरै खेल छ । एनएसएलको स्तर पनि राम्रो छ । तर टाई सिट ड्र गर्दा हामीले एक दिनको अन्तरमै खेल्नुपर्ने खालको पनि छ । यस्तोमा खेलाडीको इन्जुरी भए रिकभर गर्ने समय हुँदैन ।’
चाहेका खेलाडी पाइएन
काठमाडौंले पहिलो सिजन जितेका खेलाडीहरु पनि लिन खोजेको थियो । तर अक्सनमा गोलाप्रथामा अभागी रह्यो ।
‘हामीले लिन खोजेका १३ खेलाडी गोलाप्रथामा पाएनौं । हामीले एउटा योजना बनाएका थियौं हरेक क्याटेगोरीबाट यो-यो खेलाडी लिने भनेर । पहिलो प्राथमिकता नपाए पनि त्यस भित्रै पर्यो,’ व्यवस्थापक मधुसुदनले भने ।
काठमाडौंलाई पहिलो सिजन च्याम्पियन बनाउदा विदेशी खेलाडीद्वय मेसुके ओलोमोउ र स्टेफन विनोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यहीबाट मेसुके नेपाली घरेलु फुटबलमा चम्किए ।
यस पटक मेसुके इराकी लिग खेल्न गएका छन् भने स्टेफन बुटवल लुम्बिनी एफसीमा अनुबन्ध भए । काठमाडौंले यो जोडीलाई राख्न खोजेको थियो । तर मेसुके इराक गएपछि जोडी टुट्यो । ‘यो जोडीलाई राख्न खोजेको हो तर मेसुके इराकमा राम्रो रकममा गयो । दुई जनाको कम्बिनेसनमा खेल्ने भएकोले एक जना भएन,’ प्रशिक्षक बालगोपालले भने ।
उनले अरु विदेशी पनि राम्रो रहेको बताए । ‘उनीहरु नभए पनि मेसुके जस्तै प्रभावकारी खेलाडीहरु छन् । ५ विदेशी खेलाडी हुँदा धेरै फाइदा हुन्छ । यस पटक विदेशी खेलाडीकै प्रदर्शन निर्णायक हुन सक्छ,’ उनले भने, ‘यस टिमबाट म खुशी छु । यस यसबाट कसरी राम्रो नतिजा ल्याउने भन्ने बाँकी छ ।’ बालगोपालले भने ।
चुस्त म्यानेजमनेट
काठमाडौंले मुख्य प्रशिक्षक बालगोपालसहित सहायक प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान राकेश श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र फिजियोमा राजु दाहाललाई निरन्तरता दिएको छ ।
स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचमा भारतका मिहिर मिलिन्द सावन्त छन् ।
टिम म्यानेजरमा राष्ट्रिय टिमको म्यानेजर रहिसकेका मधुसुदन उपाध्याय नै निरन्तर छन् । यस्तै टिम निर्देशकमा विज्ञानराज शर्मा छन् ।
टिम मालिकले यो कोचिङ स्टाफलाई विश्वास गरेर नै पूरा जिम्मा दिएका छन् ।
‘हामीलाई विश्वास गरेर नै टिम दिनुभएको हो । हामी हुन्छौं भनेर नै उहाँले टिम लिनुभएको हो र टिमको व्यवस्थापन राम्रो छ,’ मधुसुदनले भने । ‘हिमालयन होटलमा राखेको छ । सबै सेवा सुविधाहरु दिएका छौं । कुनै कुरामा कमजोरी हुन दिएका छैनौं ।’
काठमाडौंले एनएसएलमार्फत फुटबलको संस्कार र संस्कृति पनि सिकाउन खोजेको छ । ‘फुटबल के हो र यसको भाव कस्तो हुन्छ भनेर खेलाडीलाई पनि सन्देश दिन चाहन्छौं । यो टिममा परेका खेलाडीले काठमाडौं जस्तो टिम व्यवस्थापनमा भएको टिमबाट एनएसएल खेल्न पाइयो भन्ने भनेर भनोस भन्ने हाम्रो चाहना हो,’ मधुसुदनले भने ।
प्रशिक्षक बालगोपालले काठमाडौंको व्यस्थापन राम्रो रहेको र खेलाडीलाई राष्ट्रिय टिमको जस्तै सुविधा दिएको बताए । ‘अर्थतन्त्रको मन्दीमा पनि यति सुविधा दिनुभएको छ । हामीलाई पनि विश्वास गरेर जिम्मेवारी दिनु भएको छ । अब कसरी राम्रो प्रदर्शन गर्ने भन्ने चुनौती हुन्छ । खेलाडीले पनि त्यही अनुसार जिम्मेवारी लिएर जित्नुपर्छ भनेर खेल्नुपर्यो,’ उनले भने ।
उत्साहित मार्की हिसुब
यसअघि शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबबाट खेलेका थिए । त्यहाँ राम्रो प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको नजरमा पनि परे ।
राष्ट्रिय टिमको क्याम्पमा परेपछि उनले अर्को सरप्राइज पाए । काठमाडौं रेजर्सको मार्की बन्ने ।
‘म राष्ट्रिय टिमको क्याम्पमा थिएँ । एक्कासी मधुसुदन दाइको फोन आयो काठमाडौंको मार्की बन्ने हो भनेर । मलाई सुरुमा त विश्वास लागेन । पछि कुरा भयो । नाई भन्ने कुरै भएन । एकै दिनमा ओके भयो,’ उनले सुनाए ।
यसपटक फरवार्ड नै लिने भनेर टिम व्यवस्थापनले हिसुबलाई छानेको मधुसुदनले बताए । नयाँ युवालाई अवसर दिने लक्ष्यसहित हिसुबलाई राखेको उनले प्रष्ट पारे ।
दुई दिनअघि घरेलु मैदानमा यमन विरुद्ध घरेलु मैदानमा भएको विश्वकप छनोटमा उनले खेलेका थिए । नेपालका लागि उनले चार खेल खेलिसकेका छन् ।
एनएसएलबाट नेपाली पुटबलको लागि धेरै फाइदा हुने उनले बताए । ‘अहिले नेपाली फुटबल खराब समयबाट गुज्रिरहेको छ र समर्थकहरु पनि निराशा छाएको छ । यस्तोमा एनएसलले जस्तो लिग भइरह्यो भने खेलाडीहरुलाई सकरात्मक प्रभाव पार्छ जस्तो लाग्छ ।’
युवा खेलाडीलाई अवसर
आयोजकदेखि सहभागी टोलीले भन्दै आएका छन्- एनएसएल युवा खेलाडीका लागि सबैभन्दा ठूलो प्लेटफर्म हो ।
त्यमसा काठमाडौंले युवा खेलाडीलाई नै प्राथमिकता दिएको छ । ‘हाम्रो टिममा धेरै युवा खेलाडीहरु नै छन् । महेन्द्र र खमिर केही सिनियर छन्’, व्यवस्थापक मधुसुदनले भने, ‘हाम्रो उद्देश्य नै नयाँ युवा खेलाडीलाई एनएसएलमार्फत प्रमोट गर्ने हो ।’
मार्की हिसुब आफैं योङ छन् । यस्तै यू-१९ टिमका कप्तान तथा गोलकिपर जियारथ पनि टिममा छन् । अर्का युवा मिडफिल्डर दिपेश गुरुङ छन् ।
काठमाडौंले ट्यालेन्ट हन्टबाट पेमा दोर्जी र उज्ज्वल शाहीलाई अनुबन्ध गरेको छ । ‘एनएसएलमा युवा खेलाडीलाई नयाँ अनुभव बटुल्ने मौका पाउँछ । युवा खेलाडीलाई फाइदा हुन्छ । विदेशी खेलाडीहरु राम्रो छन् । उनीहरुसँग एकपटक सँगै खेल्न पायो भने पनि नयाँ अवसर हुन्छ’, हिसुबले भने ।
खेल अनुसार रणनीति बनाउने
बालगोपाल महर्जनसँग राष्ट्रिय टिमको समेत प्रशिक्षण सम्हालेको अनुभव छ ।
काठमाडौंलाई पहिलो संस्करणमै च्याम्पियन बनाएका अबका लागि आफ्नै खालको रणनीति बनाएका छन् ।
अहिले नै उनले रणनीति खोल्न चाहेनन् । तर आउने खेल हेरेर विपक्षीको प्रदर्शन हेरेर नै आफ्नो रणनीति लागु गर्ने उनले बताए । ‘हामीले प्लान ए, बी र सी बनाएका छौं । कुन योजना अनुसार खेल्दा ठिक हुन्छ भनेर खेल हेरेपछि नै थाहा हुन्छ ।’
उनले सुरुमै निश्चित रणनीति बनाएर खेल्ने भन्दा पनि विदेशी खेलाडी र विपक्षीको प्रदर्शन हेरेपछि रणानीति लागु गर्ने सुनाए ।
उनले सुरुमा कुनै एक फर्मेनसमा खेलाउने र त्यसपछि आउने खेलमा रणनीति तय गर्ने बताए । ‘४-४-२, ४-३-३ वा ४-१-४-१ का कुनै फर्मेसन हुन सक्छ ।’
पहिलो खेल महत्वपूर्ण
काठमाडौंले पहिलो खेलमै शुक्रबार नयाँ टिम स्पोर्टिङ इलाम एफसीसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्दैछ ।
संयोग कस्तो भने पहिलो सिजन काठमाडौंलाई च्याम्पियन बनाएका मार्की तथा कप्तान विकेश कुथु यस पटक इलामका मार्की प्लेअर छन् ।
काठमाडौं उपाधि रक्षा गर्ने अभियानमा हुँदा विकेश नयाँ टिमलाई पनि उपाधि जिताएर तारा राख्न चाहन्छन् ।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेल महत्वपूर्ण हुने बताए । ‘पहिलो खेलमा चुनौती हुन्छ नै । मैले बुझे अनुसार इलाममा पनि राम्रो टिम छ । सेनेगलका युथ खेलाडीहरु आएका छन्,’ उनले भने, ‘तर हामीले विपक्षीसँग कसरी खेल्ने र पाएको अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने हो । एउटा खेलमा ४-५ अवसर पाउँछ । त्यसलाई सही सदुपयोग गर्नुपर्यो ।’
प्रतियोगिताको पहिलो खेल खेल्दा टिम कुन अवस्थामा हुन्छ प्रदर्शन कस्तो हुन्छ भन्ने थाहा हुँदैन । तर प्रिसिजनको तयारी र मैत्रीपूर्ण खेल जस्तै गरी खेलेमा भने राम्रो नतिजा आउने उनले बताए । ‘हामीले मैत्रीपूर्ण खेलमा गरेको जस्तो प्रदर्शन गर्न सक्यौँ भने पनि नतिजा आउँछ ।’
मार्की हिसुबले पहिलो खेल महत्वपूर्ण हुने बताए ।
यस्तो छ काठमाडौंको टिम
हिसुब थपलिया स्ट्राइकर (मार्की प्लेअर/कप्तान)
दिपेश गुरुङ, मिडफिल्डर
अन्जन राई, डिफेण्डर
अभिषेक बराल, गोलकिपर
कुलदिप कार्की, डिफेण्डर
राजिव लोप्चन, विंगर
अमित तामाङ, डिफेण्डर
खमिर गिल्सन कान्दवाङ्वा, विगंर
प्रशान्त अवस्थी, विंगर
अन्जल श्रेष्ठ, गोलकिपर
मौसम सुब्बा, मिडफिल्डर
जियारथ शेख, गोलकिपर
महेन्द्र कार्की, डिफेण्डर
सुशीलकुमार यादव, डिफेण्डर
अमन रावल, विंगर
पेम्बा दोर्जी लामा, मिडफिल्डर (ट्यालेन्ट हन्ट)
उज्वल शाही, डिफेण्डर (ट्यालेन्ट हन्ट)
जनियर ओनगुएने एनकेनगुए, स्ट्राइकर (क्यामरुन)
आन्द्रेज निया टिचोउनकेउ, डिफेण्डर (क्यामरुन)
ओलिभर सिमो किनगुए, डिफेण्डर (क्यामरुन)
शोखरुख महामुदजोजिएभ, स्ट्राइकर (उज्वेकिस्तान)
कोमिलजोन तोजिदिनोभ, मिडफिल्डर (उज्वेकिस्तान)
प्रतिक्रिया 4