+
+

खालिस्तानी नेताको हत्या प्रयास विफल बनाउँदै अमेरिकाले दियो भारतलाई चेतावनी

एजेन्सी एजेन्सी
२०८० मंसिर ८ गते १६:२३

एजेन्सी । अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयास सुरक्षा अधिकारीले विफल बनाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा खालिस्तानी नेता गुरुपतावन्त पनुनको हत्या प्रयास भएको थियो ।

फाइनान्सियल टाइम्ससँगको कुराकानीमा आफ्नो हत्याबारे अमेरिकी सुरक्षा अधिकारीले पूर्व सूचना दिएको सम्बन्धमा उनले बोल्न भने चाहेनन् । तर, पनुनले भनेका छन्- ‘भारतले परिचालन गरेको संयन्त्रबाट अमेरिकी भूमिमा मेरो जीवनमाथि खतरा आइपरेको छ । म चाहन्छु यस विषयमा अमेरिकी सरकार नै थप बोलोस् र उचित कदम चालोस्।’

पनुनको हत्या प्रयासपछि अमेरिकाले भारत सरकारलाई कूटनीतिक नोट पठाउनुका साथै संदिग्ध एक व्यक्तिमाथि न्युयोर्कस्थित अदालतमा मुद्दा समेत चलाएको छ ।

अमेरिकाको राजकीय भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध खालिस्तान समर्थकहरुले प्रदर्शन गरेका थिए । हत्या भएमा भारत विरुद्धको प्रदर्शन झन् बढ्ने आकलनले पछि हटेको वा अमेरिकी सुरक्षा संयन्त्र एफबीआईको सतर्कताका कारण घटना टरेको भन्ने कुरा अझै खुल्न बाँकी रहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

दुई महिनाअघि क्यानाडामा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या भएको थियो । क्यानाडा सरकारले यसमा भारतको हात रहेको आरोप लगाउँदा दुई मुलुकबीच कूटनीतिक तिक्तता अझै पनि जारी छ ।

के हो खालिस्तानी अभियान ?

खालिस्तानको मूल जरो शिख धर्मसँग गाँसिएको छ । १५औं शताव्दीमा मुगल शासनको क्रममा शिख धर्म उदाएको हो । सन् १६९९ मा गुरु गोविन्दले अरबिकबाट खाल्सा शब्दको प्रयोग गरेका थिए । यसको अर्थ ‘शुद्ध’ हो । शिख धर्म र यसको शासन स्थापनाका लागि खाल्साको प्रयोग भएको थियो ।

सन् १९४७ मा विभाजनपछि पञ्जाबी शुभ आन्दोलनको उदय भयो । जसले पञ्जाब भाषीहरुको स्वायत्त शिख राज्यको माग गर्‍यो । सन् १९५२ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले पञ्जाब बोल्नेहरुको छुट्टै राज्यको आन्दोलनलाई दमन गर्ने नीति लिएसँगै शिख र हिन्दु छुट्टिए ।

सन् १९६६ मा चण्ढीगढलाई राजधानी बनाएर पञ्जाब प्रान्त बन्यो । सन् १९७० र ८० को दशकमा भारतीय शिख डायस्पोरामा खालिस्तान आन्दोलनको कुरा उठ्न थाल्यो । शिखका विद्रोही नेता जर्नेइल सिंहको नेतृत्वमा आन्दोलन पुन: चर्किन थाल्यो ।

यो आन्दोलन एक दशकसम्म चल्यो र त्यस क्रममा सरकार र शिख नेता तथा सशस्त्र समूहबीच दर्जनौं पटक झडप भयो त्यसमा हजारौं मानिस मारिए ।

सन् १९८४ मा भारतीय सेनाले शिखहरुको पवित्रस्थल गोल्डेन टेम्पलमा पसेर विशेष अपरेशन चलाउँदा ४०० मानिस मारिए ।

शिखहरुले भने हजारौं मारिएको दाबी गर्छन् । गोल्डेन टेम्पलमा सैन्य अपरेशनको आदेश तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले दिएकी थिइन् ।
गान्धीको पछि उनकै शिख बडीगार्डले हत्या गरे । उनको हत्यापछि शिखविरोधी गतिविधि बढ्यो ।

हिन्दुहरुले शिखको घरघरमा पुगेर कुटपिट, हत्या तथा आगजनी गरे । त्यही क्रममा २३ जून १९८५ मा एयर इन्डियाको फ्लाइट नम्बर १८२ मा एटलान्टिक महासगरमा बम पड्काइयो । जसमा ३२९ मानिस मारिएका थिए ।
अनुसन्धानका क्रममा के पत्ता लाग्यो भने क्यानेडियन शिखले गोल्डेन टेम्पल अपरेशनको बदला लिन आत्मघाती विस्फोट गराए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिख समुदायका पृथकतावादी नेताप्रति शून्य सहनशीलताको नीति लिन प्रशासनलाई आदेश दिएका छन् । प्रधानमन्त्रीको आदेशपछि दर्जनौं पृथकतावादी नेता पक्राउ परे ।

क्याराभान म्यागेजिनका कार्यकारी सम्पादक हर्तोष बाल भन्छन्- ‘सन् १९८० को हिंसात्मक शैन्य अभियानपछि खालिस्तान आन्दोलनले भारतमा कुनै पनि राजनीतिक समर्थन प्राप्त गरेको थिएन ।

भर्चुअल रुपमा मात्रै खालिस्तानका गतिविधि केन्द्रित थिए । तर मोदीले बारम्बार खालिस्तानीहरु भारतका लागि खतरा रहेको बताउँदै उनीहरुलाई अघि ल्याउने काम गरे । ग्राउन्डमा खालिस्तानको प्रभाव खासै छैन’, उनले भने ।

तर क्यानाडा, बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका शिख समुदायहरुले खालिस्तानको समर्थन गर्ने क्रम भने बढिरहेको देखिन्छ ।

कहाँ कहाँ छन् खालिस्तान समर्थक शिख ?

डायस्पोरामा शिख समुदायको जनसंख्या २६ करोड छ । लण्डन स्कुल अफ इकोनोमिक्सका अनुसार क्यानाडामा सबैभन्दा धेरै ७ लाख ७० हजार शिख छन् ।
यता बेलायतको वेल्समा ५ लाख २४ हजार छ भने अष्ट्रेलियामा २ लाख १० हजार शिख छन् ।

अमेरिकामा पनि ५ लाखको संख्यामा शिख रहेको अनुमान गरिन्छ। न्यायका लागि शिख संस्थाले अनौपचारिक जनमतसंग्रह आयोजना गरेको थियो । अष्ट्रेलियामा भएको मतदानमा हिन्दु र खालिस्तानबीच झडप भएको थियो ।

भारतले क्यानाडा, अष्ट्रेलिया र बेलायतलाई खालिस्तान समर्थक पृथकतावादी शिख अधिकारकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ ।

खालिस्तानको मागमा समर्थन जनाउने ३० वर्षे नेता अमृतपाल सिंहको गिरफ्तारीमा लण्डनमा पनि प्रदर्शन भएको थियो । त्यहाँ रहेको भारतीय उच्च नियोगको झण्डा निकाल्नेदेखि त्यहाँको भौतिक संरचनामा तोडफोड समेत भएको थियो । ओटावामा समेत भारतीय उच्च नियोगमा खालिस्तान समर्थकले आक्रमण गरेको आरोप नयाँदिल्लीले लगाएको छ ।

अहिलेसम्म खालिस्तानका को को प्रमुख नेता मारिए ?

जून १८ मा हरदिप सिंह निज्जरलाई भ्यानकुबरस्थित सुर्रेको शिख गुरुद्वारा बाहिर हत्या गरियो । नयाँदिल्लीले ३ वर्षअघि निज्जरलाई आतंकवादीको सूचीमा राखेको थियो ।

दिल्लीले आतंकवादीको सूचीमा राखेको ३ वर्षमा हत्या भएपछि ओटावाले भारतको भूमिका रहेको आरोप लगाएको हो ।

उनले खालिस्तानको माग सहित अनौपचारिक जनमतसंग्रहको तयारीमा भारतमा गरिरहेको सूचना भारतीय पक्षलाई प्राप्त भएको थियो सन् १९७७ मा पञ्जाबको जालन्धरमा जन्मिएका निज्जर सन् १९९७ मा क्यानाडा गएका थिए । उनी पृथकतावादी शिखहरुको संस्था बाबर खाल्सा इन्टरनेशनलमा आवद्ध थिए ।

बेकेआइलाई पाकिस्तानले चलाइरहेको आरोप भारतले लगाएको थियो । तर, जूनमा अभतर सिंह खाण्ड पनि क्यान्सरका कारण बेलायतमा मरे । उनी अमृतपाल सिंहका समर्थकका रुपमा चिनिन्थे । तर बेलायतमा उनको निधन विषका कारण भएको बताइन्छ ।

उनको मृत्यु निकै रहस्यमय थियो । खाण्डको अन्तिम संस्कारमा अत्यधिक मानिस भेला भएका थिए । तर उनकै परिवारलाई अन्तिम संस्कारका लागि लण्डन जान बेलायतले भिसा दिन अस्वीकार गर्‍यो ।

यता परमजित सिंहले पन्जावरलाई भारतमा खालिस्तान कमाण्डो फोर्स चलाइरहेको आरोप लागेको थियो । पाकिस्तानको लाहोरमा अपरिचित हतियारधारीले ६३ वर्षीय पन्जावरको हत्या गरिदिए ।

भारतमा १९८० देखि १९९० सम्म चलेको शिख विद्रोहमा उनको भूमिका खास थियो । उनले विभिन्न पटक राजनीतिक हिंसा मच्चाएका कारण भारत सरकारले उनलाई पक्राउका लागि दर्जनौं प्रयास गरेको थियो ।

सन् २०२० जनवरीमा खालिस्तान मुक्ति फौजसँग जोडिएका हर्मित सिंह पनि पाकिस्तानको लाहोरमा मारिए । उनको स्थानमा हाल अवतार सिंह खाण्डाले लिएको बताइन्छ ।

खालिस्तानसँग जोडिएका निज्जरको क्यानाडामा हत्या भएपछि भारतले क्यानाडालाई भिसा दिन रोक लगाएको छ । क्यानाडा पनि उस्तै कदम चलेको छ । दुई मुलुकले एकअर्काका कूटनीतिज्ञ पनि निकाला गरेका छन् । उनीहरुको सम्बन्धमा दरार उत्पन्न हुँदा दुई मुलुकको व्यापारमा पनि असर पुगेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?