
८ मंसिर, पोखरा । मैया नेपालीले कल्पनासम्म गरेकी थिइनन् कि जनप्रतिनिधि भइसकेपछि पनि जातीय विभेदको भुंग्रोमा आफैं जल्नुपर्ला ! बरु उनले त कल्पना गरेकी थिइन्, विभेदमा परेकाहरुका आवाज बनूँला, अन्यायको विरुद्ध मुट्ठी कसूँला, पछाडि परेकाहरुको अगुवा बनूँला !
तर, जनप्रतिनिधि भएको केही महिनामै पोखरा महानगरपालिका वडा २४ कि वडासदस्य मैयाको कल्पना एकाएक गल्र्याम्म ढल्यो । विभेदविरुद्ध आवाज उठाउँछु र समानताको पक्षमा वकालत गर्छु भन्ने सोचेकी उनी आफैंले विभेदबाट अपमानित हुनुपर्यो, त्यो पनि आफूसँगै चुनाव जितेका वडाध्यक्षबाटै । एकपटक होइन, पटकपटक ।
जनप्रतिनिधि भएबाटै सुरुबाटै विभेदजन्य र अपमानजनक गालीगलौज सुन्दै आएकी मैयाले सुरुमा त वास्तै गरिनन् । बानीमा सुधार होला भनेर सहेरै बसिन् । तर, गत पुस १८ गते वडामै भएको एउटा सार्वजनिक कार्यक्रममै वडाध्यक्ष भरतबहादुर अधिकारी र उनको भनाभन नै पर्यो ।
वडासदस्य मैयाका अनुसार गत आर्थिक वर्षमा वडाले लक्षित वर्गका लागि छुट्याएको ५ लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये ४ लाख रुपैयाँ महिला र १ लाख रुपैयाँ दलितका लागि विनियोजन गरिएको थियो ।
महिलाका लागि छुट्याइएको बजेटमा वडाध्यक्ष अधिकारीले प्रशिक्षणका नाममा मनोमानी ढंगले वितरण गरेपछि वडासदस्यहरुले विरोध गरेका थिए । त्यही विरोध गर्ने क्रममा अधिकारीले आफूलाई सार्वजनिक कार्यक्रममै विभेदजन्य अपशब्द प्रयोग गर्दै तथानाम थाली गरेको उनको दाबी छ ।
पहिल्यैबाट पटकपटक जातीय विभेदजन्य गालीगलौज सहदै आएकी मैया त्यस दिन भने अचाक्ली भयो । उनले सहन सकिनन् । सुरुमा ‘नबोलेरै जित्छु’ भन्ने सोचेकी मैयाले त्यसपछि भने कानुनी उपचार खोज्ने निर्णयमा पुगिन् । जनप्रतिनिधि भएर जिम्मेवारीमा आएसँगै आफूलाई ‘ठेस’ लागेको उनी बताउँछिन् ।
‘त्यतिबेला यसैका लागि राजनीति गरेको हो भने किन खेपेर बस्ने भन्ने भयो । मै चुप लागेर बसें भने अरुले के गर्लान् भन्ने भयो’, मैयाँले केही समय अघि अनलाइनखबरसँग भनेकी थिएन्, ‘म त हिजोका जुन भोग्दै आएँ, आजसम्म पनि मेरो समाजले त भोग्दै आएको छ । बद्लिएको त छैन । अब चुप लागेर बस्नुहुँदैन भनेर आवाज उठाएँ ।’
मैयाले वडाध्यक्षले आफूलाई जातीय विभेद गरेको भन्दै उजुरी हालिन् । उनले ०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातिय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन् ।
‘सुरुमा त डर पनि लागेको हो । तर, अरु जनप्रतिनिधि आफ्नै पार्टी सबैले साथ, सहयोग र ढाडस दिएपछि भने मलाई आँट आयो,’ मैया भन्छिन्, ‘केहीले उल्टै मेरै विरोध नगरेका पनि होइनन् ।’ तर, उजुरी हाल्न पनि उनले पापड बेल्नुपर्यो । वडाध्यक्षविरुद्ध विद्रोह गरेकी उनको मुद्दा लिन कोही पनि तयार भएनन् ।
‘हामीहरुले वकिल खोज्दै गर्दा एकजना पनि गैरदलित वकिलले हाम्रो यो मुद्दालाई म गर्छु भनेर नआएको अवस्था थियो,’ शुक्रबारको पत्रकार सम्मेलनमा उनले भनिन् ।
मैयाले उजुरी दिएपछि वडाध्यक्ष अधिकारी पक्राउ परे । उजुरी दिइसकेपछि पनि आफू एक्लिने हो कि भन्ने भयले नछाडेको उनी सुनाउँछिन् ।
‘कताकता एक्लिएकी पो हुँ कि भन्ने पनि भएको थियो । कहिलेकाहीं यतिमै बिलाउने पो हुँ कि भन्ने पनि भयो,’ भन्छिन्, ‘हुँदै गर्दा पनि एउटा बाटो हिँडिसकेपछि म डग्मगाउनु हुँदैन भन्ने लाग्यो । यसैले गर्दा आज मैलेमात्रै होइन, सिंगो समुदायले नै न्याय पाएको महसुस भइराखेको छ ।’
उनलाई बिहीबार जिल्ला अदालत कास्कीले जातीय विभेदजन्य कसूरमा साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकेको छ । वडाध्यक्ष अधिकारी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
अधिकारीलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेद्भावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम सजाय तोकिएको हो । उक्त दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको व्यवस्था छ ।
सो दफा अनुसार ३ महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको हो । अदालतबाट आफूले न्याय पाएपछि वडासदस्य मैयाले आफूमाथि हुने हरेकप्रकारको विभेद, हिंसाबारे बोल्नुपर्ने उदाहरण बनेको बताउँछिन् ।
‘न्यायालय सधैं बिक्दैन, न्याय पनि हेर्छ भन्ने प्रमाणित गरेको छ,’ भन्छिन्, ‘हामी बोल्नमात्रै सक्यौं भने पनि धेरैले साथ दिने रहेछ भन्ने लागेको छ ।’
मैयाले अब कोही पनि कुनै पनि प्रकारका विभेद वा हिंसा चुपचाप सहेर बस्ने समय नभएको सुनाउँछिन् । आफूमाथिको विभेद र हिंसा जति सह्यो त्यति बढ्दै जाने उनले आफ्नो अनुभव सुनाइन् ।
‘यो एउटा फैसलामात्रै होइन, हामीजस्ता सीमान्तकृतका लागि उदाहरण पनि हो जस्तो लागेको छ । त्यो दिन बोलेर मैले न्याय पाएँ, बोल्नु पर्नेरहेछ,’ मैया भन्छिन्, ‘हिजो नभनेर, दबिएर बसेको पीडा आज उठाउँदा सबैले सहयोग गर्नुभयो । यस्तै साथ, सहयोग मभन्दा पछाडिका पिँढीहरुलाई पनि मिलोस् ।’
प्रतिक्रिया 4