+
+
कथा :

मोहम्मद नवीन खान

नवीन प्राचीन नवीन प्राचीन
२०८० मंसिर ९ गते १०:१६

शीतलहरले ढाकेको एक हिउँदे बिहान, उनीहरु हामी भाडामा बस्ने घरको अघिल्लो घरमा बसाइँ सरेर आएका थिए। जुन घरमा केहीअघिसम्म पाउरोटी उद्योग हुने गर्थ्यो।

हामी एउटै घरमा १५ जना भुरा थियौं, जुँगाको रेखी बस्न थालेकादेखि कोक्रोमै भएकासम्म। सहरको एउटा ठूलो घरमा भाडामा बस्ने चार परिवार अनि घरबेटीका नाति–नातिना। बसाइँ सरेर छिमेकमा आएका ६ जना केटाकेटी र दुई बुढाबुढीको त्यो परिवार हामी एकै घरमा बस्नेहरु भन्दा अलि भिन्दै थियो।

हुन त उनीहरु जस्तै मान्छे हरेक शुक्रबार हामी बस्ने घरसँगै सिमाना जोडिएको मस्जिदमा देख्दै आएका थियौं। तर छिमेकी नै चाहिं कोही थिएन। नयाँ छिमेकी घरमूलीको अनुहारमा मस्जिदका मौलानाको जस्तै दाह्री थियो।

दुइटा अलि ठूला केटा र केटी, दुई मेरै उमेरका जस्ता केटा, एउटी अलि सानी केटी र एउटा दुधे केटो। उनीहरु पश्चिमी तराईको कुनै जिल्लाबाट बसाइँ सरेर आएका थिए भनेर बुबाले सुनाउनुभएको थियो।

त्यो दिन हामीले नयाँ परिवार र केटाकेटीलाई परैबाट हेर्यौं र घरबेटीले गाउँको खेतबाट ल्याएको पराल थन्क्याउँदा छरिएका त्यान्द्रा भेला पारेर आगो तापेर बितायौं।

त्यसको पर्सिपल्ट हामी खेल्दै गर्दा हाम्रै उमेरका दुइटा केटा अलिपर उभिएर हामीलाई हेर्न थाले। कमेज सुरुवाल र टाउकामा ढाकी जस्तै सेतो टोपी लगाएको अलि अग्लो र उसको छेउमा अर्को सानो केटो उभिएको थियो।

मनोज र म उनीहरुको छेउमा गएर नाम सोध्यौं। ठूलो केटोले भन्यो फिरोज, सानोले भन्यो नबी।

मनोज हामी जस्तै भाडामा बस्ने परिवारको भतिजो थियो। पहाडबाट शहरमा बोर्डिङ स्कुल पढ्न बसेको। मसँग अरुभन्दा अलि धेरै मिल्थ्यो।

अचानक कराउँदै अलिपर खेलिरहेका हाम्रा साथीका हुलमा गयो। “मीत-मीत भेला भए, मीत-मीत भेला भए, मीत-मीत भेला भए!” ऊ टोलै थर्काउला जसरी कराउन थाल्यो।

एकैछिनमा सबै केटाकेटीले हामीलाई घेरे अनि नबी र मेरो टाउको ठोक्काइदिए। फिरोज छक्क पर्यो, नबीको मुखबाट कुनै शब्द निस्किएन। मेरो टाउको ठोक्किएकोले दुखिरहेको थियो र मलाई मनोजसँग रिस उठिरहेको थियो। फिरोजले यो के भएको भनेर सोध्यो। मनोजले हामी दुईको नाम मिलेकोले मीत लगाइदिएको भन्यो।

उसले मेरो नाम सोध्यो मैले नवीन भनें। फिरोजले भन्यो- तर मेरो भाइको नाम त नबी हो।

२०७३ सालको स्थानीय निर्वाचनको बेला थियो। म आफ्नो मतदाता परिचय पत्र लिन लाइनमा उभिएको थिएँ। मेरो अघि मेरो उही मलाई स्वीकार नगरेको मीत थियो।  मैले “के छ यार?” भनेर सोधें। उसले एउटा उदास मुस्कान मतिर फ्याँक्यो।

नबी पनि कहीं नाम हुन्छ र ? फिरोजको कुरा कसैले सुनेन। मेरो नयाँ मीत आफ्नो टाउको सुम्सुम्याउँदै अकमक्क परेर उभिएको थियो।

हामी एउटै घरमा बस्ने भए पनि अरु केटाकेटी भन्दा भिन्दै स्कुलमा पढ्थ्यौं। त्यो घरमा बस्नेमध्ये स्कुल जाने उमेरका बहिनी र म  मात्र सरकारी स्कुल जान्थ्यौं। अरु निजी स्कुल जान्थे।

गाउँबाट भर्खरै बसाइँ आएको हाम्रो परिवारको आयले हामीलाई निजी स्कूल नजा भन्थ्यो। निजी स्कूल पढ्ने छिमेकी कोठाका छोराछोरी स्कुलबाट आएर पनि खेल्न पाउँदैनथे। होमवर्क गर्न बसिहाल्थे।

सरकारी स्कूल पढ्ने बहिनी र मलाई भने रमाइलो थियो। तर खेल्ने साथी भने हुँदैनथे। दाजु त्यतिबेला गाउँमै हुनुहुन्थ्यो हजुरबा हजुरआमासँग।

अलिपछि फिरोज, म र नवीन सँगै स्कुल जाने साथी भयौं तर हामी फरक कक्षामा पढ्थ्यौं। फिरोज र नवीनको नेपाली अनौठो थियो। उनीहरु फिल्म हेर्थे। मैले तँलाई बाटोमा हेरेको थिएँ भन्थे।

उनीहरु बिहान हाम्रो घरसँगै जोडिएको मस्जिदको मदरसामा पनि पढ्न जान्थे। फिरोज र नवीन हामीसँगै स्कुल गए पनि उनीहरूकी बहिनी गुड्डी भने मदरसा मात्रै जान्थी। त्यतिबेला म चार कक्षामा पढ्थें। मेरी बहिनी र नवीन २ मा अनि फिरोज ३ मा। म नवीनभन्दा अलि ठूलो थिएँ फिरोज मेरै उमेरको हुँदो हो।

एउटै घरमा बसे पनि अरु केटाकेटीलाई पढ्न, लेख्नबाट खासै फुर्सद हुन्थेन। सँगै स्कुल जाने–आउने गर्दागर्दै फिरोज र म निकै मिल्ने साथी भयौं। हाम्रो एउटा सानो किराना पसल थियो। स्कुल बिदा हुँदा मैले कहिलेकाहीं पसलमा सघाउनुपर्थ्यो।

फिरोजले एक दिन मलाई उसलाई चंगा बनाउन आउने तर उडाउनलाई धागो नभएको बतायो। मैले मलाई पनि चंगा बनाइदिने भए धागोको जिम्मा मेरो हुने बताएँ। उसले कहाँ–कहाँबाट पुराना चप्पल खोजेर ल्यायो। त्यसलाई काटेर चक्का बनायो अनि त्यसमा प्वाल पारेर छेस्का खाँदेर लट्टाई बनायो।

मैले पसलबाट डराई–डराई दुई नयाँ पोलिथिन र दुई टोटा धागो निकालें। फिरोजका अनुसार हामी अरुले जस्तो कागजको नभई प्लास्टिकको चंगा उडाउनेवाला थियौं।

उसले पोलिथिनलाई चारकुना मिलाएर काट्यो र चंगा बनायो। हाम्रो चंगा अरुको भन्दा भिन्दै थियो र निकै माथि उड्थ्यो। स्कुल छुट्टीका दिनहरुमा फिरोज र म हामीले कहिल्यै नदेखेका शहरको किनारतिर पुग्थ्यौं।

गाई चराइरहेका मानिस, खेतका ठूला–ठूला फाँट ठ्याक्कै मैले छोडिआएको र बर्खे बिदामा जाने गाउँ जस्तै। सायद फिरोजले पनि छोडिआए जस्तै।

मेरो मीत पनि दाजुको पछि लाग्दै हामीसँगै आउँथ्यो। म चंगा घरमा लैजान पाउँदिनथें। उडाउन पनि बुबाआमाको आँखा छलेर जानुपर्थ्यो। त्यसैले मेरो चंगा पनि फिरोजले नै राख्ने गर्थ्यो।

फिरोज खेल्ने कुरा आफैं बनाउनमा उस्ताद नै थियो। ऊसँग चप्पल काटेर बनाएका दुई ओटा गाडी थिए। उ पोलिथिन काटेर चारै कुनामा डोरी बाँध्दथ्यो र ती डोरी काठको सानो टुक्रामा बाँधेर प्यारासुट बनाउँथ्यो। मेरो मीत उसको दाजु र म रमाएको देखेर लजाउँदै हामीसँगै मिसिन्थ्यो।

म अब नबीलाई नवीन भन्थें। सबैले नवीन नै भन्थे। अरु हाम्रा साथीहरु हामीलाई मीत भन्न लगाउँथे। मभन्दा अलि सानो भएकोले होला कि किन हो मैले उसलाई मीत भनिनँ। उ त झन् लजाउँथ्यो। वार्षिक परिक्षा सकिएर भएको बिदा हामी तीन भाइले खुब गजबले मनायौं। त्यो बिदामा म अरु वर्ष झैं गाउँ गइनँ। बरु दाजु नै दमक आउनुभयो अब त हामी चार थियौं।  बहिनी खासै हामीसँग खेल्न जान्न थिई।

त्यस वर्षको हाम्रो रिजल्ट आयो। फिरोजले ३ कक्षा पास गर्न सकेन। नवीन पनि २ कक्षामै अड्कियो। त्यसपछि फिरोज स्कुल गएन। उसले दिनभरि चंगा उडाउन पाइरह्यो। त्यसको अर्को हिउँदमा ऊ दिल्ली गयो चुरा फ्याक्ट्रीमा काम गर्न। जहाँ उसको जेठो दाजु पहिल्यैदेखि काम गर्थ्यो।

फिरोज गएपछि म फेरि पुरानै पढन्तेहरुको समूहमा फर्किनुपर्यो। अब धेरै जस्तो मेरो समय पसलमा बुबाआमालाई सघाउनमा बित्थ्यो। नवीन भने अझै पनि हामीसँगै स्कुल त जान्थ्यो तर ऊ फिरोज जस्तो खुला मिजासको थिएन। ऊ उस्तो हामीसँग खेल्न पनि आउँदैनथ्यो। बहिनी र म कहिलेकाहीं उसलाई बोलाउन जान्थ्यौं।

हामीले उसलाई नवीन भनेर बोलाए पनि उसकी आमाले कहिल्यै उसलाई नवीन भनेको हामीले सुनेनौं। फिरोज पनि सधैँ नबी नै भन्थ्यो। त्यसको अर्को वर्ष फिरोज दिल्लीबाट फर्कियो र जाँदा नवीनलाई पनि सँगै लिएर गयो।

फिरोज र मेरो मीत इदका बेला घर आउँथे। अब त उनीहरु नेपाली पनि उस्तो राम्ररी बोल्न जान्दैनथे। हामी बस्ने घरमा पनि १५ जना केटाकेटीको जत्था पातलो भइसकेको थियो। पछि हामीले पनि त्यो घरबाट डेरा सार्यौं।

हामीले नबीलाई कहिल्यै देखेनछौं। सायद त्यसैले हामीले हाम्रो खुदालाई पनि कहिल्यै देख्ने छैनौं

मैले एसएलसी दिइसकेपछि फेरि त्यही घरमा घरबेटीका साना नयाँ नातिनातिना र नयाँ भाडावालका छोराछोरीलाई ट्युसन पढाउन जान थालें। त्यतिबेला नवीन दिल्लीबाट फर्केर बुबाआमासँगै बस्न थालेको रहेछ। उनीहरु अझै त्यही घरमै बस्थे। फिरोज अझै दिल्लीमै रहेछ।

एक दिन मैले नवीनलाई “के छ मीतज्यू ?” भन्दै बोलाएँ। उसले मेरो अनुहारमा एकोहोरो हेर्यो अनि केही नभनी गयो।

मलाई लाग्यो उसले मैले मीत भनेको मन पराएन। अब त ऊ पनि ठुलो भइसकेको थियो। सायद जिस्क्याए जस्तो लाग्यो होला। मैले त ऊसँग आत्मीयता व्यक्त गर्न खोजेको थिएँ।

त्यसको केही दिनपछि नवीन उसको घरबाट निस्केर कतै जाँदैथियो, म ट्युसन पढाउँदै थिएँ। मैले उसलाई यो पालि के छ नवीन भनेँ। उसले मलाई एकोहोरो हेर्यो र भन्यो, मेरो नाम नवीन हैन। र अबदेखि मलाई मीत पनि नभन।

मेरो चित्त दुख्यो, रिस पनि उठ्यो। केटाकेटीकै छेउमा उसले त्यसो नभनेको भए नि हुन्थ्यो।

मैले स्नातक पढुन्जेल त्यही घरमा ट्युसन पढाइरहें। नवीनसँग कहिलेकाहीं देखादेख हुन्थ्यो, तर उ सकेसम्म तर्किन्थ्यो। म कहिलेकाहीं मुस्काई दिन्थें।

स्नातक सकेर थप पढाइका लागि म काठमाडौं गएँ। पछि फेरि घर नै गएर बसें।

२०७३ सालको स्थानीय निर्वाचनको बेला थियो। म आफ्नो मतदाता परिचय पत्र लिन लाइनमा उभिएको थिएँ। मेरो अघि मेरो उही मलाई स्वीकार नगरेको मीत थियो।  मैले “के छ यार?” भनेर सोधें। उसले एउटा उदास मुस्कान मतिर फ्याँक्यो।

उसको र मेरो अचेल कहिलेकाहीं बजारमा देखादेख हुन्थ्यो। ऊ कुनै टेलरमा काम गर्थ्यो। सानैदेखिको उसको बानी उस्तै थियो। कम बोल्ने र सकेसम्म मान्छेहरुसँग तर्किने।

समयसँगै सबै कुरा फेरिएको थियो। मैले उसलाई अरु खासै केही सोधिनँ। सधैं झैं उसले पनि। उसको नाम भित्रबाट परिचय पत्र लिन बोलाइयो– “मोहम्मद नवीन खान !” उ आफ्नो त्यही उदास अनुहार लिएर भित्र पस्यो, परिचय पत्र लियो र मलाई गएँ पनि नभनी गयो।

*******

धेरै दिनपछि आज इयर फोनमा नुशरत फतेह अलि खान बज्यो। नुशरतले एउटा लाइनमा भन्यो-

कसम खुदा की अली, नबी से, नबी अली से जुदा नहिं है

अलीको देखा नबीको देखा, नबीको देखा खुदाको देखा

मैले दोहोर्याएर सुनें, तेहेर्याएर सुनें। धेरै चोटि सुनें अनि गुगलमा हतारहतार नबी को अर्थ खोजेर हेरें। मेरो कानमा मतदान परिचय पत्र वितरण केन्द्रको आवाज गुन्जिरह्यो। नबीको अनुहार याद आइरह्यो। उसकी आमाको अनुहार याद आयो अनि नुशरतको गीतको।

हामीले नबीलाई कहिल्यै देखेनछौं। सायद त्यसैले हामीले हाम्रो खुदालाई पनि कहिल्यै देख्ने छैनौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?