
९ मंसिर,बुटवल । रुपन्देहीको गैडहवा तालको प्रचार प्रसार र पर्यटन प्रवर्द्धनका लागि खुला भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव गरिने भएको छ । गैडहवा गाउँपालिका-४ स्थित ५० विघा क्षेत्रफलमा फैलिएको गैडहवा तालको प्रवर्द्धनका लागि मंसिर २७ देखि ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक महोत्सव आयोजना गरिएको छ ।
स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ७५ हजार ,उपविजेताले ५० हजार, तेस्रो हुने समूहले ३० हजार तथा चौथो हुने टिमले २० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनीसँग जोडिएको गैडहवामा पर्यटन बिकासका लागि भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गरे ।
गैडहवा ताल दर्जनौं प्रजातिका चराहरु विचरण गर्ने थलो पनि भएको बताउँदै अध्यक्ष पौडेलले यसलाई पालिकाको गौरवको आयोजनाको रुपमा विकास गर्ने र होम स्टे सहित अन्य पर्यटकीय पुर्वाधार थप गर्ने गरी अघि बढिएको बताए ।
सयौं वर्षअघि मानव निर्मित गैडहवा ताल क्षेत्रको पूरा क्षेत्रफल ८४ विघा छ । विश्व सिमसार क्षेत्रमासमेत सूचीकृत तालमा पर्यटक लक्षित २ वटा अटोमेटिक मेसिन जडित तथा २ वटा खुट्टाले चलाउने डुङ्गा सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया 4