+
+

बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते ११:२४

१० मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् ।

आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक शनिबारको प्रदेश सभा बैठकमा पेश गरेका थिए । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार बढाउँदै उनले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए ।

आइतबार पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले बजेट भौतिक विकासमा मात्र केन्दि्रत नरहेको उल्लेख गरे । प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको बताउँदै उनले भने, ‘प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौं ।’ बजेट कनिकासरी नछरिने भन्दै उनले अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुने बताए ।

प्रतिस्थापन विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने लगायतका कार्यक्रम समावेश छन् ।

यसैगरी विराटनगरमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज मिनाहा गर्ने लगायतका कार्यक्रम पनि समेटिएका मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?