
काठमाडौं । अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ उनले दुई घण्टासम्म आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिन् ।
केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरज थापाले उनलाई साथ दिए । अन्नपूर्ण चेम्बर अर्केस्ट्राले आयोजना गरेको एकल साँझ थापाले ‘डाँडामाथि बिहानै’ गीतबाट सुरु गरेकी थिइन् ।
त्यसपछि उनले ‘म त खाँदिनँ कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’, ‘झम्के फूली, नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’ लगायत डेढ दर्जन गीत प्रस्तुत गरिन् । ‘झम्के फूली’लाई अन्तिम प्रस्तुति बनाउने सोच बनाएकी उनले दर्शकको ‘वान्स मोर’मा ‘माछी मार न’लाई पुन: गाइन् ।
कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जीत गजमेर, गायिका मीरा राणा, गीतकारहरु डा. भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी, समाजसेवी अनुराधा कोइराला, गायकहरु सत्यराज, स्वरुपराज आचार्य लगायत संगीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।
२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरी गायन यात्रा सुरु गरेकी ७३ वर्षीया यी गायिकाले दुईवटा नेवारी गीत समेत गाइन् । थापाले एक हजारभन्दा बढी गीत गाइसकेकी छन् भने प्रबल गोरखा दक्षिणबाहु (२०५७), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८) लगायत पदक र पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।
प्रतिक्रिया 4