जाडोयाममा चिसोका कारण हुने समस्यामध्ये एक हो हाइपोथर्मिया । शरीरको तापक्रम घट्दै जाने समस्यालाई हाइपोथर्मिया भनिन्छ । जस्तै, मानिसको सामान्य तापक्रम ९८ दशमलj ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएमा हाइपोथर्मिया भएको भनिन्छ ।
विशेषगरी यसले वृद्धवृद्धा, बालबालिका र कमजोर मान्छेलाई सताउँछ । यस्तै हिमाली क्षेत्रमा र शीतलहर चल्ने ठाउँमा बस्ने मानिस हाइपोथर्मियाको सिकार हुन सक्छन् । धेरै रक्सी पिउने, बाइक चलाउने, राति काम गर्ने र चिसोमा पातलो लुगा लगाएर काम गर्ने व्यक्तिलाई हाइपोथर्मिया हुने सम्भावना बढी हुन्छ ।
कसरी पहिचान गर्ने ?
हाइपोथर्मियालाई तीन प्रकारमा विभाजन गर्न सकिन्छ- सामान्य, मध्यम र गम्भीर ।
सामान्य हाइपोथर्मियामा ९० देखि ९५ डिग्री फरेनहाइट अर्थात् (३२ देखि ३५ डिग्री सेल्सियस) तापक्रम हुन्छ । मध्यममा ८२ देखि ९० डिग्री फरेनहाइट अर्थात् (२८ देखि ३२ डिग्री सेल्सियस) हुन्छ भने ६८ देखि ८२ डिग्री फरेनहाइट अर्थात् (२० देखि २८ डिग्री सेल्सियस) भएमा गम्भीर समस्या मानिन्छ ।
जति धेरै शरीरको तापक्रम कम हुन्छ त्यति नै जोखिम बढी हुन्छ ।
लक्षण
हाइपोथर्मियाका लक्षण तापक्रमअनुसार फरक–फरक हुन सक्छन् । सामान्य खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त हुन्छ । मध्यम खालको हाइपोथर्मियामा शरीरको कम्पन बढ्ने र दिमागको सुस्तता बढेर जान्छ । गम्भीर खालको हाइपोथर्मिया भएमा बिरामीले बेहोसीमै आफूले लगाएको लुगा खोल्ने, लुक्न जाने जस्ता क्रियाकलाप गर्न पुग्छन् ।
शिशुलाई हाइपोथर्मिया लाग्यो भने शरीर छुँदा चिसो महसुस हुने, छाला हल्का रातो देखिने र कमजोर हुने जस्ता लक्षण देखा पर्छ । यसबाहेक सामान्यतया शरीर काँप्ने, हातखुट्टा निलो हुँदै जाने, टाउको दुख्ने, हातखुट्टा कठ्यांग्रिने, रिंगटा लाग्ने, बेहोस हुने, बढी भोक लागेको महसुस हुने, सास फेर्न गाह्रो हुने हुन्छ ।
जोखिम
शरीरमा चाहिनेभन्दा पनि कम तापक्रम भएर, शरीरमा रक्तसञ्चार कमी भएर, मुटुको काम गर्ने क्षमता भएर, कठ्यांग्रिएर मानिसको मृत्यु हुन सक्छ । धेरै रक्सी खाने, बाटोमा सुत्ने मानिसलाई हाइपोथर्मियाको जोखिम उच्च हुन्छ ।
उपचार तथा बच्ने उपाय
कसैलाई हाइपोथर्मियाको लक्षण देखिएमा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । हाइपोथर्मिया भएमा थाइराइड जाँच गराउँदा लाभदायक हुन्छ । त्यस्तै चिसोमा आवश्यकताअनुसारको न्यानो कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ । न्यानो उलनको कपडा, टोपी, मोजा, पञ्जा लगाउनुपर्छ । त्यस्तै शरीरलाई तातो बनाइराख्न झोलिलो कुरा खाने र आगो वा हिटरको छेउमा बस्नुपर्छ ।
जाडो महिनामा प्रोटिन, फ्याट भएका खानेकुरा बढी खान सकिन्छ । यसले शरीरमा तातो उत्पादन गराउँछ । साथै शरीर न्यानो बनाउन शारीरिक व्यायाम गर्नुपर्छ ।
प्रतिक्रिया 4