
१० मंसिर, काठमाडौं । बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाइन परिवर्तन गर्न बुटवल उपमहानगरपालिकाले सडक विभागलाई पत्राचार गर्ने भएको छ ।
चौराहादेखि गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता ठहर गरी उपमहानगरपालिकाले सडकको सर्भिस लेनको डिजाइन परिवर्तन गर्न सडक विभागलाई पत्राचार गर्न लागिएको उपमहानरगपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्तीको क्षेत्रको सडकको सर्भिस लेनलाई हरियाली मात्र नगरी साना सवारी पार्किङ, साना व्यवसाय, हरियाली, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निणर्य गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहुउपयोग गर्नका लागि सर्भिस लेनको डिजाइनलाई सडक विभागलाई पत्राचार गर्ने निणर्य गरिएको हो ।
उनले चौराहादेखि गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै डिजाइनमा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनका लागि आग्रह गर्ने निणर्य गरेको बताए ।
‘सडक बनाएपछि सवारी पार्किङ गर्ने क्षेत्र मासियो, अन्यत्र पार्किङ गर्ने स्थान छैन, पहिलेका आराम गर्ने चौतारी पनि मासिए, पानी पिउने ठाउँ, शौचालय पनि राख्ने ठाउँ छैन,’ उनले भने, ‘त्यसैले यो क्षेत्रको सर्भिस लेनमा यी सबै कुराहरुलाई समेत गाभेर यहाँको आवश्यकता अनुसारको बनाउनुपर्छ ।’
प्रतिक्रिया 4