
११ मंसिर, काठमाडौं । डोल्पामा उडान गर्ने वायुसेवा कम्पनीले सरकारी कोटाका लागि अनिवार्य दुई सिट सुरक्षित राख्नुपर्ने भएको छ । ७ मंसिरमा बसेको जिल्लाको हवाई सेवा तथा सडक यातायात सम्बन्धी सहजीकरण बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल, जिल्ला समन्वय समितिका सभापति श्यामबहादुर रोकाया, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढाको उपस्थितिमा बसेको बैठकले प्रत्येक एयरलाइन्सले सरकारी कोटाका लागि दुई सिट अनिवार्य सुरक्षित राख्नु पर्ने निर्णय गरेको हो । यी दुई सिट उडान हुने अघिल्लो दिनको साँझ ४ बजेसम्म बुक नभएमा भने अन्य सर्वसाधारणलाई वितरण गर्न सकिने निर्णयमा उल्लेख छ ।
बैठकले डोल्पामा सञ्चालित सबै एयरलाइन्सले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म टिकट काउन्टर खुला राख्ने र तोकिएको अधिकतम सीमा भन्दा बढी टिकट बिक्री नगर्ने समेत निर्णय गरेको छ ।
सबै एयरलाइन्सले हरेक साताको डोल्पाको आफ्नो उडान तालिका अग्रिम सार्वजनिक गर्नुपर्ने समेत निर्णयमा उल्लेख छ ।
नेपाल एयरलाइन्सले नागरिक उड्डयनमा दर्ता गराएको डोल्पाका लागि आफ्नो नियमित उडान तालिका अनिवार्य पालना र थप उडानका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय समेत गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण डोल्पाले विमानस्थल सञ्चालनलाई सेवाग्राहीमैत्री बनाउन सरोकारवाला निकायसँग समन्वय गरी सुरक्षा तथा आवश्यक न्यूनतम पूर्वाधारको व्यवस्था मिलाउने र वायुसेवा सञ्चालकको नियमन गर्ने समेत निर्णयमा उल्लेख छ ।
सो बैठकले विमानस्थलको टर्मिनलसम्म सडक यातायात पहुँच पुर्याउन ठूलोभरी नगरपालिकाको संयोजनमा सरोकारवाला निकायसँग समन्वय गरी आवयक व्यवस्था मिलाउने निर्णय समेत गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4