
११ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सार्क क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर गर्दा मनोमानी गरेका छन् ।
बाल रोग विशेषज्ञ डा. युवानिधि बसौलालाई शुक्रराज तथा ट्रपिकल तथा सरुवा रोग अस्पतालको जिम्मेवारी दिएका छन् ।
यस्तै, सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका छन् । सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा पठाएका छन् ।
जानकारहरुका अनुसार सार्क क्षयरोग केन्द्रमा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको मानिसलाई लैजाँदा राम्रो काम लिन सकिन्छ । तर, डा. रावल जनरल प्राक्टिसनर हुन् ।
हुनत मन्त्रालयहरुमा हुने कर्मचारी सरुवा नियमित प्रक्रिया हो । तर, मन्त्री बस्नेतले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवाप्रवाहको सामान्य सिद्धान्त विपरीत सरुवा गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।
‘टेकु अस्पतालमा संक्रामक रोग बुझेका चिकित्सकलाई लैजानुपर्थ्यो । बालरोगका चिकित्सकलाई जिम्मेवारी दिँदा केही उपलब्धी हुँदैन’, मन्त्रालयका उच्च अधिकारी भन्छन्, ‘ यस्ता व्यक्तिको काम आए जागिर खाए भन्दा अरु केही हुन् ।’
मन्त्री बस्नेतले पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै ऐन, नियम भन्दा बाहिर गएर सरुवा, बढुवा नगर्ने र वर्षको दुई पटक मात्रै सरुवा गर्ने बताएका थिए ।
तर, बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हालेको ६ महिनाभित्रमा पटक–पटक गरी २० भन्दा बढी उच्च अधिकारीको सरुवा गरिसकेका छन् । तर, यसमा वरिष्ठता, पद र समूहलाई ख्याल नगरी मनोमानी गर्दै आएका छन् ।
स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल कर्मचारी अभाव वा पद समूह नमिलेमा ६ महिनासम्म कामकाजमा पठाउने व्यवस्था रहे पनि यसको दुरुपयोग भएको बताउँछन् ।
‘पद समूह मिलेका मानिसहरु फाजिलमा बसिरहेका छन् । आफ्नो पार्टीका मानिसलाई घुसाउने वा आर्थिक लाभको नाममा ऐन, नियम विपरीत काम भइरहेको देखिन्छ’ डा. प्याकुरेल भन्छन्, ‘मन्त्रीले आफूखुसी निर्णय गर्दा सचिवहरु मुकदर्शक भएर बस्नु लाजमर्दो हो ।’
मन्त्री बस्नेतले उच्च अधिकारीको मनोमानी ढंगले सरुवा गर्दा स्वास्थ्य सेवामा सुधार हुन नसक्ने उनी बताउँछन् ।
‘पद र समूह नै नमिल्ने गरी मन्त्री बस्नेतले सरुवा गरिहेका छन् । तर, स्वास्थ्य सचिवले अडान लिन सक्नुपथ्यो’, डा. प्याकुरेल थप्छन्, ‘नेतृत्व गर्ने ठाउँमा सेवा समूह नमिल्दा उपलब्धि हासिल हुन सक्दैन ।’
प्रतिक्रिया 4