
१२ मंसिर, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको छ । गाउँपालिकाले सोमबार पत्रकार सम्मलेन गर्दै सुनकोसी मावि खाङसाङबेसीमा १३ र १४ मंसिरमा लगानी सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो ।
बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मेलनको उद्घाटन गर्ने गाउँपालिकाले जनाएको छ । फिक्कल गाउँपालिकाको दीर्घकालिन विकासको जग बसाउने प्रस्थानविन्दुका रुपमा लगानी सम्मेलन गर्न लागिएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताइन् ।
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, रोजगारीको अवसर वृद्धि गर्ने र आम जनतालाई आय आर्जनमा उत्प्रेरित गर्ने उद्देश्य सम्मेलनको रहेको उनले बताइन् ।
सम्मेलनमार्फत ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने र फिक्कलबासीलाई स्वरोजगार बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।
लगानीका लागि कृषि, जलविद्युत्, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पर्यटन, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटी लगायतका १० परियोजनाका क्षेत्रको पहिचान गरिएको पनि अध्यक्ष सुनुवारले बताइन् ।
देशभरमा गाउँपालिकामध्ये फिक्कल यस्तो लगानी सम्मेलन गर्ने पहिलो स्थानीय तह रहेको उनको दाबी छ ।
लगानी सम्मेलनको पहिलो दिन बुधबार बिहान प्रभातफेरी, झाँकीहरुसहितको परिक्रमा तथा सरसफाइ गरिनेछ ।
त्यस्तै सम्मेलनको दोस्रो दिन बिहीबार कार्यपत्रको प्रस्तुति, छलफल र साँझमा दिपावली गरिने जानकारी गाउँपालिकाले दिएको छ ।
प्रतिक्रिया 4