+
+
सन्दर्भः लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान :

लैङ्गिक हिंसा अन्त्य गर्न हिंसाको उद्गम विन्दुमा नै लगानी

लैङ्गिक हिंसा अन्त्यको लागि हिंसाको उद्गम विन्दुमा नै आर्थिक, बौद्धिक र समयको लगानी गर्नुपर्छ। यसरी गरिएको महिलामैत्री लगानीको उपलब्धिले लैङ्गिक समानताको लक्ष्यमा पुग्न सहयोग पुर्‍याउनेछ।

जीवन श्रेष्ठ जीवन श्रेष्ठ
२०८० मंसिर १३ गते १२:०५

लैङ्गिक हिंसा अन्त्य गर्न सञ्चालन हुने विभिन्न अभियानमध्ये अन्तर्राष्ट्रिय रूपमा मनाउने गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान यस वर्ष पनि सुरु भएको छ। आधा धर्ती ओगट्ने महिलाहरू बढी हिंसा पीडित भइरहेको सन्दर्भमा हिंसा विरुद्ध मनाइने दिवसमध्ये विश्वव्यापी र चरणबद्ध दिवस यही लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान नै हो।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘युनाइट ! इन्भेस्ट टु प्रिभेन्ट भोइलेन्स अगेन्स्ट वुमन एण्ड गर्ल्स’ भन्ने रहेको छ भने राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ। यस वर्ष यही मंसिर ९ गतेदेखि २४ गतेसम्म तदनुसार २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेको छ।

अभियानको ऐतिहासिक पक्ष

तीन जना डोमिनिकन नागरिक पेट्रिया, मिनर्भा र मारिया विवाहिता दिदी–बहिनीले सन् १९५० को दशकमा तानाशाही त्रुजिलो शासकका विरुद्ध लडेका थिए। ३० वर्ष लामो शासन गरेका त्रुजिलो तानाशाही शासनका विरुद्ध चलेको नागरिक आन्दोलनको कडा दमन विरुद्ध तीन दिदीबहिनीहरू लगायत उनीहरूका श्रीमानहरू पनि सशक्त रूपमा लागेका थिए। सन् १९६० नोभेम्बर २५ को साँझ जेल परेका आफ्ना श्रीमानहरूलाई भेटेर फर्किरहेको बेला त्रुजिलो शासकले गाडी चालक सहित तीन जना अधिकारकर्मी दिदीबहिनीहरूको निर्ममतापूर्वक हत्या गर्‍यो, जसको कारण सो आन्दोलनले त्रुजिलो शासन पतन भयो।

यसैगरी वुमन ग्लोबल लिडरसिप इन्स्टिट्युटले सन् १९९१ मा महिला हिंसा विरुद्धको अभियान सुरु गर्‍यो। सन् १९९५ मा संयुक्त राष्ट्रसंघले ती तीन जना अधिकारकर्मी मिरावल दिदीबहिनीहरूको सम्झना र सम्मानस्वरूप हरेक नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्‍यो। नेपालमा भने यस अभियानको थालनी सन् १९९७ देखि मनाउन थालिए पनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले १६ दिने अभियान मनाउने घोषणा गरेको थियो। यसपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रम सञ्चालन गरी दिवस मनाउँदै आएका छन्।

नोभेम्बर २५ का दिन लैङ्गिक हिंसा विरुद्धको दिवस र डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस गरी दुई वटा महत्वपूर्ण दिवसका साथै यी दुई दिवस बीचको १६ दिनभित्र महिला मानवअधिकार रक्षक दिवस, विश्व एचआईभी/एड्स दिवस, अन्तर्राष्ट्रिय अपांगता दिवस, आर्थिक सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय दिवस, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस लगायत धेरै दिवस पर्ने भएकोले यी सबै दिवसलाई समेटेर १६ दिने अभियानका रूपमा मान्न थालिएको हो।

अभियानको उद्देश्य

विश्वव्यापी रूपमा सुरु गरिएको यो अभियानको मुख्य उद्देश्य महिला तथा बालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु हो। पितृसत्तात्मक मान्यताका आधारमा भइरहेको लगानीलाई लैङ्गिक हिंसा अन्त्यका लागि हिंसाको उद्गम विन्दु लक्षित लैङ्गिकमैत्री आर्थिक, शैक्षिक र स्रोतसाधन लगानीका लागि प्रेरित गर्ने यस वर्षको अभियानको उद्देश्य रहेको छ।

लैङ्गिक हिंसाको अवस्था

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक ३ मा १ जना महिलाले आफ्नो जीवनमा कुनै न कुनै लैङ्गिक हिंसा भोगिरहेका छन्। विश्वको यो तथ्याङ्क भन्दा नेपाल टाढा छैन। नेपाल प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको लैङ्गिक हिंसाको गत आर्थिक वर्ष २०७९/८० को तथ्यपत्रका अनुसार गत एक आर्थिक वर्षमा प्रहरी कार्यालयमा कुल २० हजार ८८० वटा लैङ्गिक हिंसा सम्बन्धी उजुरीहरू दर्ता भएकोमा १६ हजार ५१९ वटा अर्थात् ७९ प्रतिशत घरेलु हिंसा भएको पाइएको छ। घरेलु हिंसाका जम्मा १६ हजार ५३८ जना पीडितमा ८९ प्रतिशत महिला रहेका छन्।

यसैगरी २० हजार ३५ जना जम्मा पीडक संख्यामा ७८ प्रतिशत पुरुष रहेका छन्। दर्ता भएका घरेलु हिंसामा ४७ प्रतिशत मानसिक हिंसा र ४२ प्रतिशत शारीरिक प्रकृतिका हिंसा रहेका छन्। नेपाल प्रहरीको यो तथ्याङ्क अनुसार समग्रमा लैङ्गिक हिंसा पीडितको शिकार महिला र ती घटनाका पीडक भने पुरुष रहेको पाइएको छ।

आ.व. २०७९/८० मा कुल दर्ता भएका मुद्दा तथा उजुरी संख्या २०,८८० वटा
घरेलु हिंसाको उजुरी संख्या १६,५१९ जना (७९%)
घरेलु हिंसाका पीडित – महिला १४,७३७ जना (८९%)
घरेलु हिंसाका पीडक – पुरुष १५,७२५ जना (७८%)
घरेलु हिंसाको प्रकार – मानसिक हिंसा ४७%

स्रोत: नेपाल प्रहरी प्रधान कार्यालय, लैङ्गिक हिंसाको तथ्यपत्र, आ.व. २०७९/८०

घरेलु हिंसा पीडितले सम्बन्धित ठाउँमा उजुरी गर्न र न्याय पाउन पनि तुलनात्मक रूपमा गाह्रो हुन्छ। किनकि आफ्नै घरको सदस्य विरुद्ध उजुरी दिनुपर्ने अनि पीडक बसेकै घरमा बस्नुपर्ने हुन्छ। कतिपय अवस्थामा त उजुरीकर्ता झन् असुरक्षित हुने, डरधम्की र बाध्यतामा परी दर्ता भएको उजुर समेत फिर्ता गरी हिंसा सहेरै बस्न बाध्य हुनुपरेको छ।

सुरक्षाको दृष्टिकोणले महिलाको लागि सबैभन्दा सुरक्षित स्थान घर हो भने संरक्षक पनि आफ्नै नजिकको र विश्वासपात्र व्यक्ति घरपरिवारका सदस्यहरू नै हुन्। तर विडम्बना, त्यही सुरक्षित हुनुपर्ने घरमा आफ्नै घरपरिवारका संरक्षकहरूबाट हिंसा झेल्नु परिरहेको छ। यति मात्र होइन महिलाहरू सबैभन्दा बढी समय घरभित्र नै बिताउँछन्। त्यही घरमा नै आफ्नै घरपरिवारका व्यक्ति र संरक्षकहरूबाट निरन्तर हिंसा झेल्नु अत्यन्त गम्भीर विषय हो।

अर्को महत्वपूर्ण तथ्याङ्क के छ भने नेपाल प्रहरीमा कुल दर्ता भएका ३ हजार ३५७ वटा अर्थात् १६ प्रतिशत मुद्दा यौन हिंसाका रहेका छन्। उमेर समूहगत रूपमा १९-२५ वर्ष उमेर समूहका पीडक पुरुषहरू ३४ प्रतिशत छन् भने पीडितहरूमा ११-१६ वर्षका बालिकाहरू ४१ प्रतिशत छन्।

यसले के देखाउँछ भने ११-१६ वर्षका बालिकाहरू यौन हिंसाबाट सबैभन्दा बढी पीडित भएको पाइएको छ भने १९-२५ वर्षका पुरुषहरू सबैभन्दा बढी यौन हिंसाका अपराधमा संलग्न भएको देखिन्छ। यी घटनाहरू ५१ प्रतिशत घर कोठामा र ४४ प्रतिशत सार्वजनिक स्थलमा भएको पाइएको छ। यसैगरी यौन हिंसाका पीडकहरूमा ८८ प्रतिशत चिनजानका व्यक्तिहरू रहेका छन्। नेपाल प्रहरीको यो तथ्यांकले के पुष्टि हुन्छ भने आफन्त पुरुषहरूबाटै घरायसी वातावरणमा नै महिलाहरू हिंसाबाट पीडित भइरहेका छन्।

यौन हिंसाका उजुरी संख्या ३३५७ वटा (१६%)
यौन हिंसाका पीडित – महिला

यौन हिसाका पीडित – ११-१६ वर्षका बालिका

३३६८ जना (९९%)

१३९३ जना (४१%)

यौन हिंसाका पीडक – पुरुष

यौन हिंसाका पीडक – १९-२५ वर्षका पुरुष

३६३६ जना (९९%)

१२४८ जना (३४%)

यौन हिंसाको घटनास्थल घर–कोठा १७२९ जना (५१%)
यौनजन्य हिंसाका पीडक- चिनजान नाता सम्बन्ध ८८%

स्रोत: नेपाल प्रहरी प्रधान कार्यालय, लैङ्गिक हिंसाको तथ्यपत्र, आ.व. २०७९/८०

 निष्कर्ष

हालको विभेदकारी अवस्थाको सृजना र कारक तत्व विगतदेखिका विभेदकारी शिक्षा, धर्म, संस्कार, संस्कृति तथा नीति नियम हुन्। जसमा परिवार र राज्यको हर प्रकारको आर्थिक, बौद्धिक र समय लगानी भएको छ। पितृसत्तात्मक सोच एवम् मान्यतामा आधारित ती लगानीको कारण समग्र महिला अन्याय, असमानता र विभेदमा परेका छन्। तसर्थ अब परिवार र राज्यको लगानी महिला तथा बालबालिका केन्द्रित हुनुपर्दछ।

लैङ्गिक हिंसाको उद्गम विन्दु घरपरिवार र समाज नै हो। समस्याको सुरुवात जहाँ छ, समाधान पनि त्यहींबाट थालनी गरिनुपर्दछ। महिलाप्रतिको लगानी पनि सोही ठाउँबाट नै गरिनुपर्दछ। यसरी गरिएको महिलामैत्री आर्थिक, बौद्धिक र समय लगानीको उपलब्धिले लैङ्गिक समानताको लक्ष्यमा पुग्न सहयोग पुर्‍याउनेछ। यस वर्षको १६ दिने अभियानको नाराको मूल अर्थ पनि लैङ्गिक हिंसाको अन्त्यको लागि हिंसाको उद्गम विन्दुमा नै आर्थिक, बौद्धिक र समयको लगानी गर्नुपर्छ भन्ने रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?